~सङ्गीत श्रोता~
एउटा समाचार छ नयाँ
समाचारः गोर्की नेपाल आएको छ
समाचारको पछिपछि अर्को आश्चर्य आएको छ
आश्चर्यः किन गोर्कीले कसैसँग बास मागेको छैन ?
कोही भन्छन्–
घुम्न आएको हो गोर्की नयाँ नेपाल
घुम्न देऊ, उसको पनि त छ एउटा निजी जीवन
स्टालिनसँग हैरान परेर ऊ यता आएको हुन सक्छ
कोही भन्छन्–
इच्छुकका कविता सम्पादन गर्ने परियोजना लिएर आएको हो गोर्की
तर इच्छुकका अनिच्छुक भक्तहरूको मन्दिर परिसरमा
गोर्की पस्न नपाउँदै क्रान्तिकारीहरूबीच भागदौड मच्चिएको छ
कोही भन्छन्–
गोविन्द वर्तमानको स्मृतिमा ‘स्पिच’ दिन आएको हो गोर्की
वर्तमानले चहारेका साँघुरा गल्लीहरूमा ‘अग्रयात्रा’ गर्नेछ अब ऊ केही दिन
र ‘सोह्र साँझहरू’लाई सङ्ग्रहालयमा राखेर
निस्कनेछ ‘चेतनाको चौडा सडकमा’
कोही भन्छन्–
गोर्की नेपाल आइपुगेर निधार मात्रै खुम्च्याइरहेको छ हरेक दिन
हाँसेको छैन एक पटक पनि मन खोलेर
रोएको छैन कसैसँग पनि बेथा पोखेर
किनभने
यहाँ हाँस्दाहाँस्दै कुन बेला रुनुपर्ने हो, उसलाई थाहा छैन
रुँदारुँदै कुन बेला हाँस्नुपर्ने हो, त्यो पनि उसलाई थाहा छैन
कोही भन्छन्–
गाईको सुकुटीसँग भोड्का पिउँदै हिंडिरहेको गोर्की देखेर
आमा कसम खाइरहेछन् भान्साघरे कविहरू
र भनिरहेछन्– ‘धत्! रक्सी खाने पापी कसरी लेखक हुन सक्छ?’
गोर्की–आगमनलाई व्यवस्थित गर्न
नेपाल काव्य नियन्त्रण कार्यालयले
आजै तीन वटा प्रश्न पठाइसकेको छ गोर्कीकै इमेलमा
प्रश्न नम्बर एकः
तिमी, कुन गोत्रका हौ गोर्की थरे मेक्सिम?
प्रश्न नम्बर दुईः
लेनिनलाई उतै छाडेर तिमी कसलाई भेट्न यहाँ आइपुग्यौ?
प्रश्न नम्बर तीनः
तिमी किन कसैसँग बास मागिरहेका छैनौ ए गोर्की ?
एउटा समाचार छ नयाँ
समाचारः गोर्की नेपाल आएको छ
समाचारको पछिपछि अर्को आश्चर्य आएको छ
आश्चर्यः किन गोर्कीले कसैसँग बास मागेको छैन?
यो देशमा कहिलेकाहीं
साँचो खबर पनि समाचार बन्दोरहेछ!
बाजुङ, पर्वत
२०७३ असोज १५ (2016-10-01) शनिबार
(नयाँ पत्रिका दैनिक)