पुस्तक समीक्षा : साहित्यमा मधेशको संवेदना

~धीरेन्द्र प्रेमर्षि~book-cover-sangor-ramesh-ranjan

“नेपाली साहित्यमा हाम्रो अनुहार छैन” भन्ने मधेशीहरू लू र सङोर पढेर आफ्नो संवेदना चित्रण गर्न आफैं अग्रसर हुन सक्छन्।

तराई–मधेशको सम्पदा र संवेगबाट देशले पर्याप्त लाभ लिइरहे पनि कृतज्ञता प्रकट गर्न कञ्जुस्याईं गरेको अनुभव हुन्छ, राजनीतिमा मात्र हैन सिर्जनामा पनि। यसले गर्दा नेपाली साहित्यमा मधेशीको हार्दिकता पाउन कठिन भएको छ। यही असंगत परिस्थितिबीच २०६९ मा आएका एकाध कृतिमा मधेश–मधेशीको स्पन्दन अनुभव गर्न सकिन्छ। नयनराज पाण्डेको लू र रमेश रञ्जनको सङोर ले मधेशको मर्म छाम्ने, भावना केलाउने र घाउ सुम्सुम्याउँदै खिल निकाल्ने यत्न गरेका छन्।

मैथिली उपन्यास सङोर ले मधेश आन्दोलनपछि आम मधेशीमा बढेको आत्मविश्वास, उपलब्धि र त्योसँगै झ्ाङ्गिएका विकृतिलाई मिहिन रूपमा केलाएको छ। रञ्जनले ‘सर्च फर कमन ग्राउण्ड’ र ‘नयाँ संसार’ नामक संस्थाले गरेका अध्ययनको निष्कर्षका आधारमा यो कृति तयार पारेका हुन्। नेपाली भाषाको लू भने विशुद्ध साहित्यिक अभ्यासको क्रममा आएको कृति हो, जसमा लेखकले आफ्नो जन्मथलो नेपालगञ्ज क्षेत्रका सीमान्तDhirendra Premarshi मधेशीहरूका भावना पस्केका छन्। केन्द्रीय विषय राजनीति हुनु दुवै उपन्यासको समानता हो।

सबै समस्याको समाधान हतियारमा देख्ने मनोवृत्तिबाट जन्मेको परिस्थितिको रोचक चित्रण गरिएको सङोर ले मधेशका युवामा देखिएको हतियारमोह, पैसा र पावरप्रतिको आकर्षण मात्र नभई सत्ताले देखाउँदै आएको हैकमवाद विरुद्धको शंखघोष पनि भएको संकेत गरेको छ। काँधमा बूढीआमा र तरुनी बहिनीको जिम्मेवारी बोकेको एउटा लगनशील ठिटोले लहडकै भरमा जीवनको बाटो नमोड्नुपर्ने हो, तर उपन्यासका नायक अमित ‘गरीब, सीमान्तकृत र तल्लो जातको भनेर मेरा नैसर्गिक चाहनाको घाँटी निमोठ्ने तिमी को हौ?’ भन्ने प्रश्न सोध्न बन्दूकको सहारा लिन्छ र सशस्त्र समूहमा लाग्छ। परिवार, समाज र देशप्रतिको जिम्मेवारीबोधले अन्ततः अमितको मन हतियारमा रम्न सक्दैन। समाजले परिबन्द वा भूलवश बाटो बिराएकाहरूको सम्मानपूर्वक पुनर्स्थापनाको मार्ग प्रशस्त गरिदिएपछि सङोर को सुखान्त हुन्छ।

मिथिलाञ्चलको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतको सुन्दर अभिव्यक्ति सङोर ले सहज प्रवाह–मार्ग book cover - Nayanraj Pandey - Luनपाएका मधेशी युवाको चाहना, ऊर्जा र सम्भावना केलाएको छ। मैथिली शब्द ‘सङोर’ को नेपाली अर्थ संग्रह, एकता वा एकत्रीकरण हो। यस अर्थमा कृतिले सामाजिक द्वन्द्व, राजनीतिक चेतना, सह–अस्तित्व, स्वीकार्यता, सामुदायिक सद्भाव आदिको सुन्दर संग्रह गरेको छ। रञ्जनले अधिकारबाट वञ्चित समाजको संघर्ष र अन्तर्द्वन्द्वको चित्रण गर्ने क्रममा सङोर लाई समकालीन मिथिलाञ्चलको दर्पण बनाएका छन्। तर, मधेशको समस्या राजनीतिक भएको देखाउन भने लू का नयन भन्दा पछाडि छन्, उनी।

लेखकले आफूले देखेको समाजको सहज बयान गरिदिंदा मात्र पनि नेपाली साहित्यमा मधेशबारे आएको सार्थक कृतिको कोटिमा परेको छ― लू। बाँकेको भारतीय सिमानासँग जोडिएको पत्थरपुरवा भन्ने काल्पनिक गाउँमा अवध–मधेशको समाज, संस्कृति, मनोवृत्ति र राजनीतिको प्रतिबिम्ब उतारिएको छ, लू मा।

पत्थरपुरवामा बसेका विविध जाति, धर्म र समुदायका मानिस आवरणमा फरक देखिए पनि अन्तरहृदयबाट एक रहेको मन छुने चित्रण यसमा छ। भारतीय हिन्दू अतिवादीको आक्रमणको सुईंको पाएपछि अत्यन्त कट्टर देखिने टुटे पण्डितले गाउँभरिका मुसलमानलाई आफ्नो घरमा लुकाउँछन्, उनीहरूले खाएका जुठाभाँडा समेत माझछन्। यो प्रसंग सामान्य समयमा झ्िनामसिना कुरामा पनि बाझ्िरहने मधेशीहरू विशेष परिस्थितिमा सहजै एकढिक्का हुन्छन् भन्ने कुराको शक्तिशाली प्रस्तुति हो।

उपन्यासमार्फत लेखकले ढ्याङ्ग्रो ठटाएर उद्घोष गरेका छन्― नेपालको दक्षिणी सीमारक्षक मधेशी हुन्। उपन्यासमा राज्यको थिचाइ र सीमापारिको मिचाइबाट आक्रान्त सीमान्त बस्तीका नागरिकको जीवनमा कहिल्यै शीतलता छाउँदैन र सतत चलिरहन्छ, अनिश्चयको लू।

एकाक्षरी नाम बोकेको लू मधेशको कथा–व्यथालाई सार्थक औपन्यासिकतामा प्रस्तुत गर्न सफल छभने सङोर द्वन्द्वकालीन मिथिला समाजका भित्री केस्राहरू केलाउन। शैलीको हिसाबले सङोर पारम्परिक प्रकृतिको उपन्यास हो भने लू पात्रहरूको बयानसँगै अघि बढ्छ। साहित्यमा समेत विभेदको अनुभवका कारण पठन संस्कृतिप्रति विरक्ति देखाउँदै आएका देशको आधा जनसंख्या मधेशीहरूले यी कृति पढेपछि लाठी–भालाद्वारा व्यक्त गरिने विमति कलम–कागजमार्फत बाहिर ल्याउने आशा गर्न सकिन्छ। त्यसरी विकास, शान्ति, सुसंस्कृति र समृद्धिको ढोका खोल्न पठन संस्कृतिसँगै लू र सङोर जस्ता कृतिहरू थपिंदै जानुपर्छ।

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.