~शीतल गिरी~
यादव गोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो यमुना वा महिष्मती नदीको किनार नै हो ।
बज्जि गणको क्षेत्रफल कति थियो यस कुराले खासै अन्तर पार्दैन, मात्र किम्वदन्ती हो । यसको न गतिलो इतिहास छ, न अन्वेषणको आधार भेट्न सकिएको छ । यो इतिहास नहुँदा समय र घटना नलिए पनि फरक पर्दैन । यो केवल तर्क मात्र हो । पुरानो कुरो लेख्न बस्दा ‘हो’- ‘होइन’ मा अल्झिन हुँदैन । ‘हो-होइन’ मा अल्भिmँदा लेख्नुपर्ने कुरो छुट्न सक्छ । नलेख्नुपर्ने कुरा धेरै लेख्न पुगिन्छ ।
यी दुवैमा द्वन्द्व हुन्छ । आˆनै मनको छट्पटी, निर्णयमा पुग्नु अघिको अवस्था । दुवै एक अर्काका पुरक, सार्थक तर पनि द्वन्द्व हुन्छ । यो कुरो अरूले बुझ्न सक्दैन । वास्तवमा धेरैजस्तो मतभेद शब्दलाई लिएर हुने गर्दछ । व्यवहारको क्षेत्रमा सुविधा के छ भनेर शब्दले त्यहाँ एउटा अर्थ दिन्छ ।
व्यवहारदेखि पन्छाएर विचारको क्षेत्रमा तन्काउँदै जाने हो भने शब्द यथास्थितिमा आइपुग्छ । त्यहाँ त्यो धारणात्मक अभिव्यजनाका साथ कालिक सापेक्षमा तरङ्गति हुन थाल्छन् । यसकारण मनका दुई विचारको मिलाप कहिल्यै हुन सक्दैन, मिलाप नभए पनि सकारात्मक र नकारात्मक विचार मथेर सार्थक निर्णय निकाल्न सकिन्छ । शुक्ल यजुर्वेदमा यसो पनि भनिएको छ-
“सम्भूतिं च विनाशं च यस्त द्वेदोमय सह ।
विनाशेन मृत्युं तीत्र्वा….. सम्भूत्या मृतभश्नु ते ।”
अर्थात् सम्भूति -सकारात्मक विचार) भनेको समयअनुसारको नयाँ सिर्जना हो र विनाश भनेको -नकारात्मक विचार) अवाञ्छनीय कुराको विनाश गर्ने हो । यी दुई कला हुन् र यिनीहरू एकै साथमा रहेका हुन्छन् भन्ने कुरा जान्नुपर्दछ । विनाशको कलाबाट मृत्युलाई पार गरेर सम्भूतिका कलाले अमरता प्राप्त गर्न सकिन्छ ।
भौतिक उन्नतिमा डुबुल्की लगाउन थालेपछि हिजोको अतीत हाम्रो लागि असभ्यझैँ लाग्दछ । सभ्यता प्रकटतः संस्कारमा निर्भर हुने गर्दछ । संस्कार संयमको द्योतक हो र संयम र मर्यादा नभएको सभ्यताको बारेमा कलम चलाउँदा मर्यादाको विचार गर्नैपर्छ । मर्यादाले असल बाटो देखाउँदछ । सुललित वाणी विवेकपूर्ण भएमा पि्रय लाग्दछ, यसर्थ साहित्य पि्रय हुन्छ । यसैगरी आफू बसेको ठाउँको बारेमा धैर्यसाथ खोजी गर्नुपर्छ । यदुकुल मान्ने यादवहरू -जो कृष्णौट भन्न रचाउँछन्) यमुनाका किनारमा बाक्लो बस्ती बसालेर रहेका थिए भन्ने कुरा पौराणिक आख्यानहरूले पनि प्रस्ट पारेको छन् । पशु पालन नै यिनीहरूको प्रमुख पेसा थियो । पशुबाट उनीहरूका धेरै आवश्यकता पूरा हुन्थे ।
प्रकृत प्रदत्त प्राणीहरूका शरीरमा ऋतुहरू अनुकूल रहन, बस्न सक्ने क्षमता हुन्छ ।
पशुसँग शरीर मात्र छ, न तिनीहरूमा घमण्ड हुन्छ न लाज । क्षमता र उपयोगिता तिनीहरूमा जति छ, त्यो देख्दा लाग्दछ मानिसहरू भन्दा पशु आनन्दमा छ । मानिसमा भने भिन्न छ ।
प्रकृतिको तर्फबाट मानिसको शरीरको क्षमता आवश्यकता भन्दा थोरै छ । मानौ प्रकृतिले सोचेको होस्, मानिसले आˆनो आवश्यकता आफै पूरा गर्न सक्छ । चेतनाले मानिसमा बुद्धिको विकास भयो । अनुभूत सत्य र बुद्धिको बलले गर्दा मानिसले ऋतुअनुसार लगाउन, बस्न, खान पर्ने भयो । सामाजिक मर्यादाको कारणे नै मानिसले आˆनो शरीरमा गर्व गर्न सिक्यो । लाज छोपेर शरीर सजाउन सक्ने भयो । यो सबै मानिसले यस कारण गर्न सक्यो कि उसले दुई खुट्टामा उभिएर स्वतन्त्रसाथ हातबाट काम लिन सक्यो । मानिस स्वविवेकले काम गर्न सक्छ । पशु दुइटा खुट्टाको भरमा उभिन र स्वतन्त्र भई काम गर्न सक्दैन । सम्भव छ, सभ्यता र संस्कार मानव सम्भावनाको पुरानो निधि होस् । निधि संरक्षण गर्न सङ्गठन चाहिन्छ, तब सहयोग पाइन्छ ।
विवेकको बलले मानव श्रमबाट समाज र सभ्यताको विकास भएको हुनुपर्छ । निश्चय नै यो प्रगतिको द्योतक हो । द्रष्टा र दृश्य, ज्ञाता र गेयको यो पृथकता प्रगतिको सोपान नै हो । पशु जुन हो, हो । मानिसलाई थाहा हुन्छ म यो हुँ, यो होइन, ऊ हुन चाहन्छ ।
आफू भएको उसलाई थाहा हुन्छ । यो ऊ हुनु नहुनुको मानवीय विशेषताको लक्षण हो । एउटा प्रसङ्ग याद आयो रौतहट र राउतको सम्झना भयो । भनिन्छ बज्जिहरू स्वतन्त्र थिए । पछि पराजित भएपछि पनि करद राज्य -कर तिर्ने शर्तमा गणतन्त्रको रूप)मा रहे । साम्राज्यमा रहेर पनि आˆनो चलन छाडेनन् तर गणराज्य भत्किंदै थियो, , साम्राज्यमा विलय हुँदै थियो । करद बनेर पनि रौतहटका राउतहरूले पछिसम्म गणराज्य टिकाए ।
पुरानो कुरा, अनुमानको भरमा राख्न त्यति सजिलो छैन । भार्गव ऋषिलाई सहयोग गरेको बहाना बनाएर हिंसाका प्रतिमूर्ति हैहयराज कार्तवीर्य सहस्रार्जन यादव गोत्रीय राउतहरूको समूल नाश गर्न तुण्डीकेरा, सर्यात हैहयवीरहरू लिएर आर्यावर्त हुँदै हिमवत खण्डतर्फ अघि बढे । भार्गव ऋषिका नाति परशुरामले यादव गोत्रीय राउतहरूको उद्धार गरे । परशुराम भार्गवद्वारा प्रशिक्षित यादव गोत्रीय सैन्यहरूको भरमा ठाउँठाउँमा लड्दै मर्दै मार्दै पशु धन बचाउँदै स्याहार्दै यमुना नदी तरेर आर्यावर्तमा गएका यादवहरू त्यहाँ पनि शान्तसँग बस्न पाएनन भन्ने कुरा मार्कण्डेय पुराणमा पनि उल्लेख छ ।
त्यही आर्यावर्तमा एउटा ठूलो लडाइँ मच्चिएको थियो ।
त्यो लडाइँ दासराज्ञ युद्धको नामले प्रख्यात छ । त्यस युद्धमा संरक्षक परशुराम भार्गवका मामाबाजे ऋषि विश्वामित्रले शहादत प्राप्त गरेपछि यादव गोत्रीय राउतहरू त्यहाँबाट भागे । तिनीहरू आर्य भूमिबाट पूर्वतर्फ हानिँदै बङ्गालको खाडीसम्म पुगे तर प्राप्त सामग्रीहरूकै भरमा पनि बज्जि गणराज्य थियो र धरमराएर भए पनि पछिसम्म बचेको थियो ।
एकाएक विद्वान् पाठकबीच यो लेख स्वीकार्य हुनमा गाह्रो पर्ला । बागमती नदीको पश्चिमी तर लहलहाउँदो घाँसले सजिएको घना जङ्गल अहिले त उर्वर र हराभरा छँदैछ भने त्यस बखत झन् लोभलाग्दो हुनुपर्दछ । समथल क्षेत्रको वन जङ्गल घना र मोहक थियो । निर्जन शान्त र सुरक्षित भूमि पाउँदा केही यादव गोत्रीय राउत रौतहटको भूमिमा बसे ।
धेरैजसो चाहिँ नेपाल उपत्यकातर्फ गए । बज्जि गणको पहिलो संस्थापक जाति नै राउत हुन् भन्ने जनश्रुति अहिले पनि बलियो देखिन्छ ।
महिष्मती किनारका राउतहरूको बसाइँ सराईलाई नितान्त वृथा मान्नु हुँदैन । प्रत्येक प्राणीले झै दुःखबाट सुख पाइन्छ- यो बज्जि गणको इतिहास पढ्दा थाहा हुन्छ ।
आˆनोपन, जातीय गौरव बचाउन नै भोक सहँदै अनेकौं कष्ट झेल्दै रौतहटको भूमिसम्म आउन सके । भोकको लागि भोजन भन्दा मीठो केही परिकार हुँदैन । भोकबाट जो अघाउँछ व्रतको महिमा उसैले चिन्दछ । गणराज्यको इतिहासमा बज्जिलाई ठूलो महìवको मानिन्छ यस भू-खण्डमा । आजको विश्व राजाविहीन छ, भन्नैपर्छ । राजा ईश्वरको अवतार हो भन्नु, मानव इतिहास अधुरो बुझ्नु हो ।
सत्य पहिल्याउन खोज्दा दृष्टि लडखडाउनु हुँदैन, यो सत्य बिर्सनु हुँदैन कुनै पनि मानिस अमर हुँदैन । यो सत्य पवित्र बज्जि गणकाले बुझेका थिए । गणराज्यमा गणनियम आफैँले बनाई आफैँले पालन गर्ने हुँदा अनावश्यक झैँ झगडा हुँदैन । कोही राजा बन्ने हो कि ?, बन्न प्रयास गर्ने हो कि ? यो डर रहँदैन । गणको हितलाई ध्यान दिइने हुँदा चाटुकारी प्रवृत्तिले टाउको उठाउन पाउँदैन । समान भाव, समान व्यवहार हुने गर्दछ ।
यो क्षमता या गुण बज्जि गणराज्य थियो । यो राउतहरूको सम्पत्ति हो ।
नेपाल उपत्यकामा पुगेका यादव गोत्रीय राउतहरू गोपाल जातिको नामले प्रख्यात भए । नेपाल उपत्यकामा गोपालवंशका भुक्तमान, जयगुप्त, परमगुप्त, भीमगुप्त प्रथम, भीमगुप्त द्वितीय, मणिगुप्त, विष्णुगुप्त र यज्ञगुप्तले ३२० वर्षसम्म राज्य गरेको इतिहासमा उल्लेख छ ।
नेपाल उपत्यकामा भेडापाल, महिषपाल र माछामारको संसर्गले अनार्यहरूले शिस्न देव भनी पुज्दै आएको लिङ्ग, देवलाई पशुपति नामकरण गरी पूजा गर्न थालेका थिए । रौतहटका राउतहरू समय-कुसमयमा नेपाल उपत्यका गइरहन्थे । त्यहाँ पशुपतिको पूजाआजा गरेको आˆनै आँखाले देखेका थिए । रौतहटमा बसोबास गर्ने राउतहरूले पनि आफूहरूलाई बज्जि गणराज्यको रूपमा स्थापित गराए । बज्जि गणराज्य पशुपालक गणराज्य थियो । यिनीहरूले पशु रक्षाको लागि नेपाल उपत्यकाको देखासिकी औरैया भन्ने ठाउँमा शिस्न देव स्थापना गरी पशुपति नामकरण गरे । बज्जिहरूका गाथा ‘लोरिकायन’ मा स्वाभिमान बोलेको छ ।
बज्जि गणराज्यका राउतहरू पशुपालनमै निर्भर थिए । यिनीहरू गङ्गादेखि उत्तर, कौशिकीदेखि पश्चिम, शिवालिगदेखि दक्षिण र सदानिरादेखि पूर्वको भू-भागमा बसाइँ सरिरहन्थे तर वर्षको एकपटक आश्विन पूणिर्माको दिन आराध्यदेव पशुपतिको पूजा आराधना गर्न अमलाको वन । स्थानीय भाषामा औरा वन) आइपुग्थे । शान्त स्वभावका राउतहरू बज्जि गणराज्यमा रमाएका थिए ।
बज्जि सङ्घका राउतहरू घुमन्ते पशुपालक थिए । यसो हुँदा राजधानी र सम्पन्न नगर बनाएनन् । जङ्गलमा रम्ने हुँदा अन्य छिमेकी राज्यसँग झगडा गरी क्षेत्र विस्तार गर्न चाहेनन् । छिमेका कोल, लिच्छवि, मल्ल, शाक्यहरूका गणराज्य पनि आसपासमै थिए ।
ती गणराज्यहरू पनि जङ्गली अवस्थामै थिए । गङ्गानदीदेखि वारि कुनै शक्तिशाली राज्यको निर्माण भइसकेको थिएन, प्राचीन मिथिला राज्य छिन्नभिन्न भइसकेको थियो भने, वैशालीको पतन पनि भएको थियो ।
बज्जि सङ्घीय गणराज्यको सङ्गठन अद्वितीय थियो । बज्जि गणराज्यमा विविध जातिको राम्रो मेल थियो ।
राउत लडाकु र पशु पालक बने भने थारू खेती गर्ने भए ।
तर पनि थारूहरूले राउतहरूलाई ‘बाजी’ भन्ने गर्थे र आफूभन्दा अलि भिन्न ठान्दथे । बज्जि सङ्घ -विदेह, लिच्छवि, क्षात्रिक, बज्जि, उग्र, भोज, इक्ष्वाकु र कौरव) को राजधानी वैशाली अजातशत्रुले ध्वस्त पारेपछि कोल्लागमा बस्ने वैन्य मूलका हरूवा बज्जिलाई हेलाको रूपमा ‘बाजी’ भन्ने गरे र अहिलेसम्म पनि भनिरहेकै छन् । ‘ग्वार के लाठी कपार मे’ लोकोक्तिले पनि रौतहटका राउत लडाकाहरूले पछिसम्म आˆनो गणराज्य टिकाइराखेको आभाष दिलाउँछ ।
हाल: भीमसेनगोला, काठमाडौं
(स्रोत : मधुपर्क २०६५ माघ)