~नेत्रबहादुर कुँवर ‘अशोक’~
घनश्याम !
गाउँ रित्तिएको छ
मालीले बोट बिरुवा अन्तै सारेपछि
बगैँचा रित्तए सरि
खाली खाली छ
शून्य शून्य छ
तिमी जन्मिएको गाउँ
तिमीले भन्ने गरेको
तिम्रो प्यारो जन्मभूमि ।
नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि
तिमी आउने आशामा बसेकी
पल्ला घरे डाइबर्नी बजै
गत महिना बितिन्
बित्नुअघिसम्म सोध्थिन्,
“धनश्यामहरू कहिले फर्कन्छन् गाउँ
र फेर्छन् गाउँको नक्सा ?”
गाउँ, बासी भात भएको छ
मुर्दाघाट भएको छ
तिमी सहर छिरेदेखि
झिँगा मात्रै भन्कि रहन्छ
तिमीले जस्तै
झिँगा धपाउने, औषधी छिट्ने
कोही छैन
माइला, गोरे र आइतेहरू पनि छैनन्
बाँकी म छु
मै जस्ता बुढाहरू छन् ।
म सम्झन्छु
तिम्रा कापीमा उतारिएका चित्रहरू
तिमीले सम्झन्छौ या सम्झदैनौ
उतारिएको हुन्थ्यो
सिङ्गो गाउँको चित्र
बनाइएका हुन्थे नहर, पुल, पुलेसा
लहलह झुलेको हुन्थ्यो धान– खेतैभरि
कालो पत्रे हुन्थ्यो सडक,
ठडिएका हुन्थे ठुला ठुला भवन ।
घनश्याम !
चित्र कोर्ने नै
लाखापाखा लागेपछि
गाउँ तिमीले चित्र कोरे जस्तै
खै कहाँ बन्न सक्यो र ?
तिमीले वास्तै राख्न छाडेपछि
बासी भात र मुर्दाघाट सम्झेर
झिँगाहरूले रजाइँ गर्नुमा
के अनौठो भयो र ?
तिमीले देखेका सपनाहरू
हत्या गरिनुमा
के आश्चर्य रह्यो र ?
घनश्याम !
गाउँले तिम्रो क्षमता चिनेन
गाउँमा तिम्रो कदर भएन
तिमी त पढेका मान्छे
तिमी आफैँले बुझ्नू
आफैँले कदर गर्नू यो गाउँलाई
तिमीलाई गाउँको खाँचो नभए पनि
म जस्ता मृत्यु पर्खि रहेका बुढाको
मलामी जाने युवा पनि नभेट्टाउँदा
गाउँलाई तिम्रो निक्कै खाँचो परेको छ ।
तिमी गाउँ फर्कनु पर्छ घनश्याम
फर्काउनु पर्छ माइला, गोरे र आइतेहरू पनि
धपाएर भन्कि रहने झिँगा
तिम्रै चित्र जस्तो बनाउनु छ गाउँ
निर्माण गर्नु छ नहर, पुल, पुलेसा
लगाउनु छ खेतैभरि बाली
कालो पत्रे गर्नु छ सडक
बनाउनु छ ठुला ठुला भवनहरू ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )