~स्मृति ढकाल~
बलिदान माग्दै नियतिले छल्दैछकि जस्तो लाग्छ
नेपालको शिर सगरमाथा ढल्दैछकि जस्तो लाग्छ
रणभूमिमा देखेँथे गोली खाएको बुद्धको लास
बचाउ-बचाउ भन्दै आर्यघाटमा बल्दैछकि जस्तो लाग्छ
मुक्ति पाउने दिन गन्दै लुकेकी छिन् जेलमा शान्ति
वेदनाले तिनको छाती जल्दैछकि जस्तो लाग्छ
हावाको झोक्कामा सास फेर्दा अझै पनि
आलो रगतको गन्ध चल्दैछ कि जस्तो लाग्छ
निर्दोष युवाको तातो रगतले मुछिएर
पत्थरको धर्ति पनि गल्दैछ कि जस्तो लाग्छ
सधैँ सधैँ अमृत फल्ने सञ्जीवनी बिरुवामा
लटरम्मै गोला-बारुद फल्दैछ कि जस्तो लाग्छ ।
(स्रोत : मधुपर्क २०६५ माघ)