~सङ्गीता दाहाल~
जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । ०६५ साल भाद्र ७ गते अध्यात्मवादले भनेजस्तो पञ्चतìवको शरीर पञ्चतवमै विलीन हुन पुग्यो वा भौतिकवादअनुसार शून्यबाट शून्यमै विलीन हुन पुग्नु भयो थाहा भएन । यति भने सत्य हो रुद्र सरको भौतिक उपस्थिति अब छैन । कहीँ कतै भेटिनु हुन्न ।
नेपाल ल क्याम्पसमा रुद्रसरले पढाएका विद्यार्थीहरूमध्ये म पनि पर्दछु । पहिलो कक्षामा सबैसँग परिचय लिने क्रमदेखि नै मलाई र मेरो साथी वीना राईप्रति विशेष चासो देखाउनुभएको थियो । किनकि हामी दुवै जना उहाँको विशेष जानकारीमा रहेको पूर्वी पहाडी जिल्लाका थियौँ । त्यसमा पनि त्यसैबेला थाहा पाएका उहाँका अनन्य मित्र निनु चापागाईं मेरो दाजु र केदार राई वीनाको दाजु पर्नुले पनि विशेष स्नेहका पात्र हामी भएका थियौँ । राजनीतिक आन्दोलनका कारण जेलमा थुप्रै समय केदार राईसँग बस्नु भएको कुरा पनि उहाँले बताउनुभएको थियो ।
उहाँको निनु र केदारसँगको मित्रता पछिसम्म के कस्तो रहृयो ? सम्बन्धमा तिक्तता आयो वा आएन ? त्यो त मलाई थाहा भएन । त्यस मित्रताको लाभ भने हामी दुवैले पाएका थियौँ । हाम्रो पढाइप्रति चासो मात्र राख्ने होइन । प्रोत्साहन पनि उत्तिकै मात्रामा सधैँ दिने गर्नु हुन्थ्यो । केदार राईले पठाएको चिठ्ठी लिएर म र वीना रुद्र सरको डेरामा पुगेका थियौँ । त्यसबेला रुद्र सर कमलपोखरीमा बस्नु हुन्थ्यो । हामी पुग्दा सर काखमा सानी छोरी खेलाएर बसिराख्नुभएको थियो । उहाँ नानी खेलाउँदै प्रफुल्लित हुनु भएको अहिलेजस्तो लाग्छ । समवेदना पढ्दा थाहा पाएँ । काखमा खेल्दै गरेकी सरकी छोरीको घर गृहस्थी र सन्तानसमेत भइसकेका रहेछन् ।
त्यसबेला सरका विद्यार्थी हामीलाई निरा भाउजूले अत्यन्त वात्सल्यताको भाव देखाउनुभएको थियो । हुनत त्यसपछि फेरि दोस्रोपल्ट भाउजूसँग भेट भएको छैन । त्यसबेला भाउजूमा व्यवहार कुशलता, दृढता र आत्मविश्वास पनि उत्तिकै मात्रामा देखिन्थ्यो । सरको मृत्युको खबर सुनेपछि पहिले मैले निरा भाउजूलाई नै सम्भिmएकी थिएँ । स्तब्ध भएँ । उहाँमा दुःखको सामना गर्ने क्षमता छ भनेर चित्त बुझाएकी थिएँ ।
२०४८ सालदेखि २०५२ सालसम्म मैले पनि नेपाल ल क्याम्पसमा पढाएकी थिएँ । क्याम्पस आएको वा नआएको मेरो ख्याल र खोजी रुद्र सरले गरिरहनु हुन्थ्यो । स्टाफ कोठामा फुर्सदको समयमा हामी निक्कै कुराकानी गर्दथ्यौँ । कतिपय विषयमा म जिज्ञासा राख्थँे । भि”mझो नमानिकन सरले जवाफ दिनु हुन्थ्यो । समसामयिक विषयमा सटिक विश्लेषण गर्नु हुन्थ्यो । हास्यव्यङ्ग्यको विधामा कलम चलाउने भएकाले हस्यौली पाराले सामाजिक विकृति र विसङ्गतिप्रति प्रहार पनि गर्नु हुन्थ्यो ।
तिथि र मितिको ठ्याक्कै सम्झना छैन । सानो बुबा -रोचक घिमिरे)को घरमा उहाँसँग भेट भएको थियो । सानो बुबाको घरमा त्यस दिन रमेश विकल साहित्य प्रतिष्ठानको मिटिङ रहेछ । संयोगवश म पनि पुगेकी थिएँ । रुद्र सर र विजय दाजु -विजय चालिसे)बाहेक कार्यसमितिमा अरू जे जति पदाधिकारी हुनुहुन्थ्यो, उहाँहरू कसैलाई पनि मैले चिनेका थिइँन । को को हुनुहुन्थ्यो ? अहिले सम्झना पनि छैन ।
मिटिङमा आउनु भएका रुद्र सरले मलाई देख्नासाथ भनिहाल्नु भयो । “हामी त एउटै सङ्गठनका हौ नि” । अहिले जे जसरी सङ्गठन भनेर बुझिन्छ । त्यो होइन । नेपाल ल क्याम्पससँगको कुनै कालखण्डको संस्थागत सम्बन्धलाई त्यसबेला उहाँले सङ्गठन भन्नुभएको थियो । निश्चय पनि ल क्याम्पसले नै हामीलाई एकै ठाउँमा भेट्टाएको थियो । चिनाएको थियो । त्यो एउटा दरो संस्थागत सम्बन्ध नै थियो ।
पहिलो भेटदेखि जहाँ जहिले भेटे पनि उहाँले मलाई अम्बिका नै भनेर सम्बोधन गर्नु भयो । कहिलै सङ्गीता भनेर बोलाउनु भएन । कार्य समितिका अन्य सदस्य -रमेश विकल प्रतिष्ठान)सँग परिचय गर्ने क्रममा सरको त अम्बिका हो नि भनेकी पनि थिएँ । त्यसबेला सरलगायत सबै जना हाँस्नु भएको थियो । ”खै किन हो किन अम्बिका नै भन्न पुगिहाल्छु” भनेर सरले हाँस्दै भन्नुभएको थियो ।
त्यसबेला भेट्दा सरको स्वास्थ्य स्थिति ठिकै थियो । बिग्रेको वा खस्केको जस्तो देखिँदैन थियो । न त सरले आफूमा कुनै स्वास्थ्य समस्या रहेको छ भन्नुभएको थियो । एक्कासि मृत्युको खबर सुन्दा पत्यार गर्न गाह्रो भयो । सत्यलाई स्वीकार्नुबाहेक अर्को विकल्प पनि थिएन ।
रुद्रसर वामपन्थी हुनुहुन्थ्यो ।
त्यतिसम्म थाहा छ । चिरा-चिरामा विभाजित वामपन्थीको कुन घटकसँग उहाँ आबद्ध हुनुहुन्थ्यो । थाहा भएन । अविचलित वामपन्थी भने जीवनपर्यन्त रहनुभयो । उहाँको आस्था कतै डग डगाएन । गन्तव्यको टुङ्गोमा पुग्नु भयो वा भएन ? राजनीतिक यात्राका लागि उचालिएको पाइला भने अविरल रहृयो । राजनीतिले दियो वा लियो ? गुमाउनु वा प्राप्ति के भयो ? सोध्नका लागि अब रुद्र सर हुनुहुन्न । प्राप्ति र अप्राप्ति दुवैमा चित्त बुझाउन सक्ने क्षमता भने उहाँमा थियो । यति भने जान्दछु । मजस्ता थुप्रै विद्यार्थी उहाँका आˆना छन् । जसरी म सम्झन्छु । त्यसैगरी उनीहरूले पनि रुद्र सरलाई सम्झने छन् ।
(स्रोत : मधुपर्क २०६५ माघ)