कविता : मलाई मेरो नेपाल चाहिन्छ

~गौतम दाहाल~gautam-dahal

अनेकतामा एकताको फूलबारी
गोडमेल गर्दै हुर्काउने ती मालीहरु
विषे नगर्चीहरु र भक्ति थापाहरु
बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरु
सबैलाई सम्झेर
यो पराई भूमिबाट माग्दैछु भीख म
मलाई मेरो शान्त र विशाल देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।

विविधताभित्रको त्यो मीठास र आफ्नोपन
खोजेर कहाँ पाउनु यो पातालमा
जहाँ स्वार्थीहरुको मात्र वास छ
म रम्न सकेको छैन यहाँ
छैन हाँस्न सकेको
खण्डहर बाँचिरहेछु पलपल मरेर
केवल रुखो र निरस जिन्दगी
हाँस्न मलाई मेरै परिवेश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।१।

यान्त्रिक होइन मलाई प्राकृतिक जीवन चाहिन्छ
मेशीन होइन शरीर मेरो निरन्तर जोतिने
मलाई रम्ने साथ चाहिन्छ
खुशीमा रमाउन हाँसोमा रम्न
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
चराहरुको चिरबिर कोकिल ध्वनी
र भालेको डाकसँगै बिउँझने मेरो हरेक बिहानी
उषाको मिर्मिरेमा रक्त लालिमा छर्ने पूर्व क्षितिज
सबै गुमाएर खै के पाएँ मैले
म प्राप्तीको लेखा गर्छु
र योग निस्कन्छ शुन्य
केवल गुमाएको छु सधैं
त्यसैले प्राप्ती
मलाई सीताको आदर्श नगरी चाहिन्छ
मलाई भृकुटीको भूमि चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
चौरास्तामा भेटिने साथीहरु
मेलापातमा जुट्ने चेली माइतीहरु
मादलुको तालमा छमछम नाँच्ने संगीहरु
देउराली भज्याङ र मानेमा रमाइरहनेहरु
मलाई सबै आफ्नो लाग्छ
मलाई मेरै गाउँको सुसेली चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।२।

म हेर्न सक्तिन आँफ्नै आँखाले
आमा बलात्कृत भएको कहालीलाग्दो विभत्स क्षण
खबरदार मेरी आमालाई बलात्कार नगर
नखेल रगतको होली मेरी आमाको छातीमा
चीर हरण नगर मेरी बहिनीको
नपड्काउ गोलीहरु
निर्दोष मेरो गाउँबस्तीमा
रम्न देउ आफ्नै खुशीमा ।
मलाई मेरै पहाड मनपर्छ
छोडिदेउ आफ्नैपनमा रम्न
मलाई मेरो पवित्र मधेश चाहिन्छ
चुरे भावर पहाड कन्दरा र उपत्यका चाहिन्छ सबै
एउटै मालामा उनिएको
सिंगो नेपाल चाहिन्छ
मलाई मेरो बुद्धको देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।३।

-बाल्टिमोर, अमेरिका
रचना मितिः जुलाई १, २००८

(स्रोत : २६ औं एएनए सम्मेलन २००८ मा आयोजित कविता प्रतियोगितामा प्रथम पुरस्कृत कविता।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.