भरिएको हावाको चिसो रेलले
मेरो यौवनलाई काउकुत लगाउदै भन्यो-
अर्को खालि रेल आउदै छ टिकेट काटेर बस्नु ।
पातको भित्तोमा आड लगाउदै बसेका
जोडी युवा-फूलहरूले शीतको चुम्बन पिएर
खुशीको जून देखाउदै भने –
आँखाको कठघरामा कहिल्यै
काँडाको डाडा नबन्नु ।
टेलिफोनको एन्सरिंङ मेसिनजस्तै
बटुवाको गन्तव्य बताउन बसेको
बृद्ध-रोड मानचित्र हेर्दै मनको गुम्बा भित्र
मैले सम्झनाको माने घुमाउन थाले-
यो मेरो घरदेश होइन/
कुनै कलाकारले अन्तिम रुप दिन बिर्सिएको
क्यानभासको अमूर्त मुहारचित्र
सडकको पेटीमा चिसोको च्यादर ओढेर
कसैको हस्तरेखा हेरेर भविष्य
बताउदै छ/
आफुलाई आफ्नो भाग्य विधाता ठान्ने
दोश्रो विश्वयुद्धको बूढो सिपाही
काटिएको एउटा खुट्टा बोकेर
सूदुरमा बिश्राम लिन पुग्छ –
छातीभरिएको पुरुषार्थको तक्माले
किन जोड्न सकेन मेरो खुट्टा?
पहेलिएका एक बथान चेरिका पातहरू
आफन्त गुमाएर शोकधूनको पछि लाग्दै
कुनै गिर्जाघरतिर उन्मूख शवयात्रामा सरिक छन्/
आफ्नै समर्थनका कारण
विजयी भएका खेलाडीको
विजयोत्सवमा सरिक खेल प्रेमीसंगै
यो साँझ केवल तिम्रो नाममा समर्पित गरे मैले /
देश छोड्नु अघिल्लो साँझ
शुभचिन्तकले दिएको मायाको रुमालमा
पोको पारेर राखेको तारा
सपनाहरूसंग साट्दै देशको माया /
कहाँ गन्न सकिदो रहेछ र एक जुनीमा नौ लाख ताराहरू?
हाल:- बोस्टन, अमेरिका