~पुष्कर बराल~
मनभरि गाउँका कुरा सम्झिएर
मन उदास छ उराठ छ
यो परदेशी जीवनलाई
चाडपर्वले बर्सेनि मन धमिल्याएर जान्छ
सावनझैं आँखाहरु, मुटुभरी डँढेलो,
घाउमाथि घाउ,
आगोले खाएको वनझैं
विधवाको मनझैं
यो कस्तो जीवन
औंशीको जुन जस्तै
जेरीमा नुन जस्तै ।
यसपालि नि दशैं गीत गाइएन
साथीभाइसित प्रीत लाइएन
मंगल धुन सुन्न पाइएन
आयो भन्दाभन्दै गयो दशैं
आयो भन्दाभन्दै गयो तिहार
मनभरि डँढेलो लगाएर
पीडैपीडाहरु बढाएर
आयो अनि गयो
उड्दै ग¥या कपास जस्तै
चैतमासको बतास जस्तै ।
सप्तरंगी टीका लाउन पाइएन
लक्ष्मीपूजामा घुमीघुमी गाई पुज्न पाइएन
कस्तो यो परिबन्धन, कस्तो जीवन
लक्ष्मीपूजाकै दिन
सयौं प्लेट गाईका परिकार बेचियो
तिनै परिकार सँगै मेरो धर्म बेचियो
मेरा खुसी बेचियो
बेचियो अनि आफ्नै लक्ष्मी पनि ।
लिङ्गे पिङमा तँछाड मछाड गर्दै धाइएन
फिजाएर तास हारजीत गर्न पाइएन
निधार फुस्रैफुस्रै भो
न लाइयो टीका न लाइयो माला
जमरा र टीका आमाको थालीमै रह्यो
मखमली र सयपत्री लगाइदिने
सप्तरंगीमा सजाइदिने
बहिनीको रहर अपूरै भयो
देउसी गीत नि गाइएन
चौरासी ब्यञ्जन त कुरै छाडौं
सेलरोटीसम्म खान पाइएन ।
आफ्ना आफ्नै रहरले
झिलीमली यो शहरले
झुलाएकै हो भुलाएकै हो
जिन्दगीका यस्ता कयौं खुसीहरु
गन्तव्यविहीन बटुवाजस्तै
जीन्दगीका घुम्तीहरुले
घुमाइरहने छ डुलाइरहने छ
हामी घुमिरहेका छौं
तिनै नसकिनै घुम्तीहरु ।।
पुष्कर बराल, ताप्लेजुङ, हालः न्यूयोर्क
puskarfan@gmail.com
(स्रोत : विश्वन्युज डट कम )