कविता : आगोको शहर

~सुधिर ख्वबी~Sudhir 'Khwabi'

समय किन आगो हुन्छ ?
अनि मात्र झुपडी सधैं
झुपडीहरु मात्रै जलाउन खोज्छ,
र जलाउँछ पनि, सधैं नै
क्रुरताको पराकाष्ठा नाघेर

आगो किन झन् आगो हुन्छ
भोका पेटहरुमा सल्केर
र जलाइन्छ श्वास–प्रश्वासहरु
डढेलोमा पारेर, बनाइन्छ खरानी
अनि सजाउँछन् सहानुभूतिका चिहानहरु ।

सजल मनका भाषाहरु
किन बुझ्न चाहँदैन, यो निष्ठुर समय
र लाद्न खोज्छन् फेरि अराजकताहरु
भग्नावशेषमाथि पनि गर्न खोज्छन्
अनि गर्छन् पनि बलात्कार, बारम्बार ।

नियतको आगो
आगो बनाइएका समयको तारो
एक तमासले, एकैतालले
किन बज्रिरहन्छ, सधैंभरि नै
केवल छाप्राहरुमा मात्रै !

एक टुक्रा सपनाको आकाशमा
इन्द्रेणीको हकदार किन मानिंदैन
यथार्थताको उर्बर जमिनमा
खुशीका फूलहरु रोप्न किन दिइँदैन
उमंगहरु आलिशान महलहरुको
एकाधिकारमा त छैनन् ?

समय किन यतिबिघ्न
एकतर्फी बनेको होला
आगो किन यसरी निर्लज्ज
झुपडीहरुमा नाच्न सकेको होला
समय र आगोको
कस्तो यो गठबन्धन ?

संयमताको अन्त्यतिर
मनहरु आगो बन्न आतुर हुनेबेला
चिस्याइएका भनिएका खरानीबाट पनि
सल्किन थाल्छ जब आगो, तब
शहरका दमकलहरु स्तब्ध
उभिएको उभियै हुनेछन् ।

त्यसबेला खुट्याउन गाह्रो हुनेछ
महलको शहर कि आगोको शहर !

सुधिर ख्वबी
ललितपुर

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.