~अकेला यात्री~
मखमल जस्तो मन
किन यतिविघ्न चट्टान हुन्छ
सम्झन्छु– के यो मेरै छाती हो त ?
भित्तामा उभ्याएर आफूलाई हेर्छु
अनुहारका आला घाउहरु
र देख्दै बीभत्स लाग्ने गहिरा चोटहरु
के यो मैले खपेको हुँ त ?
अपमानको रोगबाट बलैले बाँचेको
अहा ! अहा ! जिन्दगी
समयको लात्ताले पछाडिबाट हानेपछि
हुर्रिएर भिरबाट कति पटक खस्छ ?
खप्परमा चोट बोकेर मान्छे
कति पटक मर्छ एउटा जिन्दगीमा !
छातीमा दर्दनाक आघात सहनलाई
कति पटक अचेत हुन्छ उसको जिन्दगीमा !
पर्दामा टाँगेर आफूलाई हेर्छु
निस्ताएका आँखाहरु र सुकेका ओठहरु
के यो मेरै जिन्दगी हो त !
अवशेष बिसाएर झ्यालमा
उत्तरपट्टि खुट्टा झुन्ड्याएर हेर्छु
प्रत्येक बिहान सगरमाथाको चुचुरो
हो…, त्यहीँ त पुग्न चाहन्छ मान्छे
माथि माथि उडिरहने चराहरु
त्यस्तै स्वतन्त्र उड्न चाहन्छ
बग्दै खोलीहरुमा कलकल
निश्चित हो– सागर चुम्न चाहन्छ मान्छे
तर भत्काएपछि कुखुराको खोर बैरीले
जाबो ! सुलसुले आङ कन्याउँदै ठिक्क हुनु छ
बाँधेर बाटोमा कोदोको डोरी
र ख्यालख्यालमै लड्दै उठ्दै ठिक्क हुनु छ
हेर्छु फर्किएर आफ्नो जीउतिर
यो फुस्रो आङ र हिलैहिलो टाँसिएको भोटो
के यो मेरै यात्रा हो त !
मान्छे मखमल जन्मिएर
अक्सर ! कन्याउँदा कन्याउँदै आङ
काउसो मर्दो रहेछ
आफ्नै छायाँ अपरिचित भएपछि
कि बहुलाएर मर्दो रहेछ ।
सुकिला रहरहरु सम्झेर
मीठा सपनाहरुबाट ब्युँझेर
खिस्स हाँस्छ आफ्नै विचरा ! जिन्दगी हेरेर
र हजार पटक तर्सिन्छ
आफ्नै बीभत्स अनुहार देखेर
कि यसरी कति पटक झस्किन्छ मान्छे
उसको आफ्नो जिन्दगीमा !
अकेला यात्री
मंगलटार–२, खोटाङ
(स्रोत : विश्वन्युज डट कम )