~धन लेप्चा~
शरीरले संसार छोडेको हुन्छ, पर्खेर बस्छु जुनको देशमा
तिमीलाई भेट्ने लिएर आशा, फर्केर बस्छु जुनको देशमा
अँध्यारो लाग्छ जिन्दगी तिम्लाई, बनेर छायाँ आउँनेछु सधंै
नछुनु मलाई नरुनु कहिल्यै, तर्केर बस्छु जूनको देशमा
मर्दैन प्रेम बाँच्दछ भनी, आत्मालाई साक्षी राखेर हिंड्नु
फक्रेको प्रेम फुलेको सुवास, छर्केर बस्छु जूनको देशमा
सम्झनु सबै गरेका बाचा, ओइलेर होइन फैलेर बाँच्नु
फलेको वृक्ष झुकेको हुन्छ, लर्केर बस्छु जूनको देशमा
जलेको हुन्छु बलेको हुन्छु, हावाले छुन्छु पानीले धुन्छु
धर्तीमा तिम्लाई शीतल दिन्छु, चर्केर बस्छु जूनको देशमा
धन लेप्चा, भुटान,
हालः बोस्टन, अमेरिका
(स्रोत : विश्वन्युज डट कम )