कविता : समता

~रेखा लोहोरुङ राई~

तिमी मात्र एक्लो हैन, निरा
आकाशमा हेर त
रातभरि जून एक्लै
दिनभरि घाम एक्लै
सदियौं देखि
पृथ्वी पनि त
एक्लै नै हो नि ।

तिमी मात्रै हो र
म नि एक्लै छु, आजकाल
अस्तिसम्म त
हरसाँझ जूनसँगै आउँथे
प्रभातमा उसरी नै
भन्थे, डेरा सर्दैछु
टाढै पुगेछन् कि, खै !

उता लुङ्वा पनि त
एक्लै हो नि
आक्कल झुक्कल
मोबाइलको रिङ्गले झस्काउँदो हो
बरु,
खर काट्दा
अलैंची गोड्दा
अम्रिसो छाँस्दा
एक दशक जेठो
सम्झनाले पिराल्दो हो ।

तिमी, लुङवारममा
यही समानता छ
सबैमा समता ।

रेखा लोहोरुङ राई
संखुवासभा, हालः काठमाडौ

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.