~जीवन क्षेत्री~
सपनाका हत्याराहरू
हरपल छुरी उज्याइरहेछन्
अँध्यारोको एकछेउ
बुनिरहेछन् कपटको धागो
अर्को छेउ घुमाइरहेछन्
षड्यन्त्रको भीमकाय चर्खा
अँध्यारोको एक छत्र साम्राज्य बनाउन
कोही बनाउँदैछन् बस्तीसम्म
अँध्यारो गल्ली
कालोलाई सेतो र सेतोलाई कालो
बनाउन व्यस्त छन् तिनका संयन्त्रहरू
देशको गर्भमा छटपटिइरहेको
सपनारुपी भ्रुणलाई हत्या गर्न
तयार छन् तिनका बन्दुकहरू
अँध्यारा गौँडा र मोडहरूमा
देशतिर सोझिएका छन् तिनका सङ्गीन
बढ्दो भ्रूणसँगै प्रसव पीडामा
छट्पटिरहेको देशमा
आप्mनो भविष्य नदेखेर हत्याराहरू
सपनाका पछि लागि पर्दैछन्
उज्यालोमा तिनका पोल सुन्ने डरले
अँध्यारोको रक्षा गरिरहेछन्
लुटको धनको खोलो बगाएर
चेतनाको पहाड ढाल्ने प्रयास गरिरहेछन्
उज्यालोको आगमन रोक्न
बास्न खोज्ने भालेको घाँटी निमोठिरहेछन्
तर जब बढ्दै जान्छ पूर्वमा लाली
छातीले संगीनको प्रतिकार गर्छन् युवाहरू
न्यानो ओछ्यान छाडेर मशाल बोक्छन् हजुरआमाहरू
छुरीवालाहरूको निद्रा चौपट हुन्छ
इदी अमिनको दुखद् अन्त सम्झेर
मुसामा झर्छन् सिंहहरू
सपनाका हत्याराहरू
(स्रोत : रचनाकारको ब्लगबाट सभार)