कविता : यथार्थ

~सौरभ कार्की~Saurav Karki

परबाट आयो
हावाको एक झोंका
त्यहीँबाट उदायो
एक टुक्रा घाम

अनि म रङ्गिए सातै रङमा
सायद सदियौंदेखि
म यहाँ उभिनुको अर्थ यही थियो ।

छि !
हेर त त्यहाँ
लाजपचेको मनुष्य
मेरै छेउ, मैले देख्नेगरी
एकाबिहानै मुतेर गयो

अनि त्यो पल्लो चियापसलमा
सभ्यताको गफ छाँटिरहेछ ।
तिनको नाम
सबैले भरिया भन्छन् क्यारे

उठ्यो
सुम्सुम्यायो, छेवैमा बालकझैं सुतेको कुकुर
अनि हल्लाउँदै हिँड्यो हातमा
त्यो डोरीको त्यान्द्रो जस्तै लहरो
त्यो फाटेको नाम्लो !

यस्तो दुर्गन्ध
कहाँ बाटी ल्याउँछ ?
के बोकी ल्याउँछ यो गाडी
र सधैं पछार्छ मेरै छेउमा

एकाबिहानै ?
कच्याक कच्याक
त्यो फोहोरको आहालमा
पौडी खैल्दैछ ऊ
र खोज्दैछ प्लाष्टिकहरु

अघिदेखि निदाको कुकुर
भुक्न लाग्यो र बटुल्न लाग्यो
उसका शत्रुहरु
जबसम्म उसले ढुङ्गो उचालेन ।
के भेट्टायो उसले
यो काठमाडौंले फालेको काठमाडौंभित्र !
र हुँदैछ हर्षित ?
अनि मेट्दैछ भोक जीवनभरको
वा जीवनभरिको लागि
अघाउनेछ ऊ यत्तिले ?

ए ऊ
जबदेखि यहाँ थियो
तबदेखि देखेको छु

फैलाएर हात
गुजारा गर्छ, पापी पेटको भोक
टिप्दै बटुल्दै, बटुल्दै टिप्दै
फालेका सिक्काहरु !
एकाबिहानै
सुल्फा समात्छन् विद्यार्थी
र भर्छन् चुरोटभित्र अनेक थरी !
छुट्टी भएर कलेज
एकजोडी आए
र लट्ठिदै गए
अंगालो कसेर !
के पढ्छन् कुन्नि ?
के हुन्छ आजकालका
आधुनिक भनिने
परिवर्तनका संवाहक
युवा–युवतीलाई ?
र पिइदिन्छन् विष
फगत प्रेमका खातिर ?
त्यो बूढो बाजे टोलाइरहेछ
र झोक्र्याइरहेछ उसैको छोरा
बोकेर झिनो आस अनि
आफ्नो बाबु काँधमा
हस्पिटल अगाडि !

डाक्टर र नर्सहरुको
हड्ताल पो छ रे !
मृगौला फेर्ने
सहयोगको अपिलसँगै कटौरा
लिएर बसेको छ ऊ
महिनौंदेखि
माग्न कि बाँच्न ?
त्यो सानो केटो
बिहानदेखि साँझ
भाँडा माझ्छ कि सपना ?

ती बूढी आमै
फैलाएर बस्छिन्
नाङ्लो भरि भरि
र दिनैभरि बेच्छिन्
आफ्नो उमेरभन्दा बढी
चुरोटका खिल्ली !
र एउटा चोर
यिनै बूढी आमैको
पसिना लुटिदिन्छ
र बाँडीचुडी खान्छ ।

त्यो डन्डा बोक्ने
बुट टल्काएको
पेस्तोल भिरेको
भद्रभलाद्मीसँग !
सधैं–सधैं त्यहाँ
लक्का जवान ठिटो
सर्टिफिकेट ओछ्याएर
पालिस गर्छ जुत्ता
भन्दैथ्यो एकदिन
हुनैपर्दो रैछ
बाध्यताभन्दा पनि रहर बढी !
आजकाल यस्ता हुल
मृतझैं लाग्ने, जीवित मानिसका
जमात सधैंजसो आउँछन्
गाडीका गाडी, ट्रक भरिभरि
र उत्रिन्छन् यहीँ
ऊ त्यहाँ माथिबाट
एउटा सुकिलो मान्छे
रोजगार भन्छ, न्याय भन्छ,
अधिकार भन्छ
अनि संविधान त झन् धेरै भन्छ
समग्रमा भन्दा सपनाहरु बाँड्छ
दिउँसै सपना देख्न
तम्तयार जमात
खाली पेटमै बजाउँछ ताली
र अघाउँछ सपनाहरु पिएर
मूर्ख मानवका जमातहरु !
दिनै भरि भरि
कपडा र तरकारी
मोलमोलाई गर्छन्
र जवानी बेच्छन् रात–रातैभरी
यी चेलीहरु
आखिर कति दिनसम्म ?
त्यो पापी चरो
कहाँबाट आउँछ ?
सधैं–सधैं
र विष्ट्याएर जान्छ
मेरै टाउकोमाथि ?
सायद वर्षौंदेखि
म यहाँ उभिनुको अर्थ यही थियो
यथार्थ
यही थियो सायद
म शहीद हुनुको !!!

सौरभ कार्की
झापा

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.