~ए.पी. सुमन~
म बेचिएँ तिम्रो प्रेमको नगरमा,
जुवाको दाउमा, कवाडीको भाउमा,
मेरा रहरहरू बेचिए, चाहनाहरू बेचिए,
तिमीलाई माया गर्ने, वाहानाहरू बेचिए,
बेचिए मैले तोडेका आदर्शहरू,
जो वर्षौ पहिले शहिद भएका थिए,
बेचिए तिम्ले छोडेका स्पर्शहरू,
जो वर्षौ पहिले कैद भएका थिए,
यी धमिनीहरूभित्र, शिराहरूभित्र,
मुटुका प्रत्येक चिराहरूभित्र…।
तर अफसोस,
तिमीलाई कसैले किन्न सकेन,
हिजोकी मालती आजकी म्यारी भएपछि,
राजा महाराजाकी तिमी प्यारी भएपछि,
केही नहुनेहरू थुक निलेर चित्त बुझाए,
अलिकति हुनेहरू तस्विर किनेर चित्त बुझाए,
तर अहँ,
तिमीलाई कसैले किन्न सकेन,
तिमीलाई कसैले चिन्न सकेन,
यी भोका प्यासीहरूको बस्तीमा,
नाङ्गा सन्यासीहरूको बस्तीमा,
तिमीलाई कसैले किन्न सकेन,
एक सय एक तिम्रा दासीहरूको बस्तीमा
एक सय एक तिम्रा दासीहरूको बस्तीमा…।
(स्रोत : मझेरी डट कम)