कथा : कालो चश्मा

~मातृका पोखरेल~Matrika Pokhrel

बाहिरको वातावरणबाट भित्र पस्नेबित्तिकै एउटा सानो डम्पिङ साइडमा गएजस्तो याद आउँछ । चिसोले भित्ताहरूमा लेउले बनेका धर्साहरू देखिन्छन् । वर्षौँअघि बिछ्याइएका कोरियन कार्पेटहरूमा पत्रैपत्र धूलो जमेको छ । धूलो र फोहोरमा भुइँबाट आएको चिस्यानले एक प्रकारको दुर्गन्धको सृष्टि हुनु स्वाभाविकै थियो ।

म भरखरै मात्र कार्यालयको कोठामा प्रवेश गरेको थिएँ । पहिले पहिले भन्दा दुर्गन्ध अझ बढेको जस्तो महसुस भयो मलाई आज ।

“तँ त साँच्चै जागिरे भइछस् यार ! यस्ता कामहरू छाड्दे बुझिस् !” मेरो कोठामा पस्नेबित्तिकै कुबेरले भनेको कुराले मलाई झनक्क रिस उठेको थियो ।

“के अफिसको काम गरेको भन्ने ठान्या छस् ! “

मैले पनि तात्तातै जवाफ फर्काएँ ।

हाकिमको घरको टेलिफोनको बिल तिर्ने लाइनमा उभिँदाउभिँदा म थकित भएर भर्खर कार्यालय आइपुगेको थिएँ । कार्यालय भन्नु मात्रै हो, हाकिमको व्यक्तिगत काम हेर्ने र गर्ने ठाउँ भएको छ मेरो टेबल । अहिलेसम्म मबाट कार्यालयको काम भएकै छैन भन्दा पनि केही फरक पर्दैन । कुबेर मेरै छेउमा बसिरहेको थियो र मैले बिलहरू फाइलिङ गरेको हेरिरहेको थियो ।

कुबेर र म एकैपटक ओभरसियरको पदमा स्थायी नियुक्ति लिएर यो कार्यालयमा प्रवेश गरेका थियौँ । त्यसबेला अर्थात् करिब ५ महिना अघि यहाँ आउँदा हामीसँग थुप्रै सपनाहरू थिए । प्राविधिक दक्षतालाई अझ वृद्धि गर्ने योजनाहरू थिए । दक्षतालाई विकास गर्दै इन्जिनियर बन्ने धोको बाँकी नै थियो । जागिर खाएको केही समयमै हामीले थाहा पाइसकेका थियौँ, हाम्रा योजनाहरूले असफलताका बाटाहरू हिँड्न थालिसकेका थिए । कुबेर र म दुवैले यसैगरी बुझेका थियौँ ।

मेरो कामलाई एकछिन हेरेपछि कुबेर हाँस्दै बाहिरियो । भित्रबाट हाकिमले घण्टी लगायो । पियन हरिप्रसाद पनि घण्टीको आवाजसँगै भित्र पस्यो । यो कार्यालयका कर्मचारीहरूमा हाकिमबाहेक हामी दुई जना मात्र बाँकी छौँ । हरिप्रसाद र म । यो कार्यालयमा सत्र जनाको दरबन्दी भएको कुरा मैले यहाँ आउनेबित्तिकै सुनेको थिएँ । दरबन्दी अनुसार सबै कर्मचारीहरू छन् । चार, पाँच जनालाई त चिनेको पनि छु । हाजिर गर्दा कहिलेकाहीँ भेट हुन्छ । न उनीहरू यहाँ आएर काम गर्छन्, न उनीहरूलाई कामका लागि कसैले खोज्छ । भित्रबाट घण्टी बज्नेबित्तिकै मैले अनुमान गरिसकेको थिएँ उसले मलाई बोलाउन खोज्दै छ । यो अफिसमा उसले बोलाउने मान्छे मबाहेक अर्को कोही पनि थिएन ।

“सरलाई भित्र हाकिम साबले बोलाउनु भा’छ ।” हरिप्रसादले मलाई खबर दियो ।

“कल्याणजी ! ग्लोबल बैङ्कको सेयर भर्ने समय अब पाँच दिन मात्र बाँकी छ । यी नागरिकताहरू लिनुस् र सबैको नाममा सय सय कित्ता सेयर भरिदिनुहोला । यो काम गर्न चाहिँ ढिलो नगर्नुहोला । फेरि तुरुन्तै अर्को बैङ्कको खुल्न लाग्दैछ भन्ने सुनेको छु ।” हाकिमले मेरा अघिल्तिर एक झोला नागरिकताका प्रमाणपत्रहरू दिँदै भन्यो ।

कस्तो अफिसमा जागिर खान आइएछ नागरिकताको पोको बोकेर बाहिर निस्केपछि निकै दिक्क लाग्यो । उसको, उसका परिवारहरू र नातेदारहरूका नाममा योभन्दा पहिले पनि मैले थुप्रै पटक विभिन्न बैङ्क र संस्थाहरूको सेयर र्फम भरिदिएको छु । म बिहान आउनेबित्तिकै अझ घरको पानी तान्ने मेसिन बिगि्रयो भन्दै थियो यसले । मैले नसुनेभै”m गरेँ । कुबेर चाहिँ यस्तो झन्झटबाट मुक्त छ जस्तो लाग्छ । त्यसैले मलाई भेट्नेबित्तिकै व्यङ्ग्य प्रहार गर्छ ऊ ।

त्यस दिन हाकिमको छोराको फिस बुझाइदिन जाने तयारी गर्दै थिएँ । फेरि कुबेर आइपुग्यो ।

“होइन ! तँलाई आज पनि फुर्सद छैन कि के हो ?

उसले फेरि व्यङ्ग्य प्रहार गर्‍यो ।

कुबेर आज गालाको आधा भागसम्म छोप्ने बल्ड्याङ्ग्रे कालो चश्मा लगाएर आएको रहेछ । मैले कहिल्यै पनि देखेको थिइन यसले कालो चश्मा लगाएको । उसको नयाँ अनुहार देखेर मलाई पनि निकै हाँस उठ्यो ।

“तँलाई कतै आँखा पाक्ने रोग त लागेन ?”

उसले लगाएको कालो चश्मा मेरो लागि समेत अनौठो भइरहेको थियो ।

“यसको अर्थ ठूलो छ, बिस्तारै बुझ्छस् “

रहस्यमा राखेर जवाफ दिने उसको बानी पहिलेदेखिकै थियो ।

“होइन ! यो अफिसमा कालो चश्मा लगाउनेको सङ्ख्या त ठूलै छ जस्तो छ । यो कस्तो खालको फेसन हो ।”

मैले म भित्र खुल्दुली लागिरहेको कुरा सोधेँ ।

“तँ मूर्ख बालकले यी सब कुरा बुझ्ने बेलै भएको छैन ।” चश्मा झिकेर हातमा घुमाउँदै उसले भन्यो ।

“तँलाई त म हिजोआज घुमिरहेको मात्र देख्छु । तेरो केही काम छैन कि के हो ?” मलाई लागिरहेको अर्को प्रश्न सोध्छु ।

“यहाँको काम तँजस्तो बेवकुफले मात्र गर्ने हो ।”

फेरि उसले त्यस्तै बटारिएको उत्तर दियो ।

“के तँलाई कुनै काम गर्नु पर्दैन ?” म भित्रको जिज्ञासा अझै बढ्दै गयो ।

“हाकिमसँग आतङ्कित भइस् कि के हो ? उसले ठट्टा गर्ने शैलीमै भन्यो ।

मलाई त मेरो हाकिमले खुबै पेल्छ । आफ्ना घर परिवारको समेत सबै काम लगाउँछ । कार्यालयको काम कस्तो हुन्छ ? अहिलेसम्म अत्तोपत्तो छैन । कस्तो खाडलमा आएर फसियोजस्तो छ । मैले कुनै ठट्टा नगरिकन ऊसँग छलफल गर्न खोजेँ ।

“ओ हो ! मेरो हाकिम पनि कहाँको कम हुन्थ्यो । झन् त्यो त भुइँफुट्टा कवि परेछ । मलाई त झन् त्यसले खुबै हैरान बनाएको थियो ।” उसले चश्मालाई रुमालले पुछ्दै भन्यो ।

“के गथ्र्यो त्यसले ?” म झन् जिज्ञासु भएँ उसको कुराले ।

“कविताका नाममा जे पायो त्यही लेखेर ल्याउँथ्यो । कथा र निबन्धका नाममा उट्पट्याङ गन्थन लेखेर ल्याउँथ्यो । मैले टाइप पनि गर्न जानेको थाहा पाएपछि त त्यसले खुबै हैरान बनायो नि ! एकपटक टाइप गर्‍यो फेरि मिलेन भनेर काट्थ्यो । फेरि थप्थ्यो । फेरि पछि थपेको काट्थ्यो । बीसपल्ट सच्याउँथ्यो । जतिपल्ट सच्याउँथ्यो उतिपल्ट सुनिदिनुपर्ने । त्यसले त अफिसमा साहित्य आतङ्क मच्चाएको थियो नि !” भन्दाभन्दै कुबेरले फेरि चश्मा लायो ।

“नाम चलेकै कवि हो कि के हो तेरो हाकिम ?” मलाई उसको कुरा रोचक लागिरहेको थियो । म ऊबाट थप कुरा सुन्न चाहन्थेँ ।

“के को नाम चलेको हुनु

नि ! त्यस्तैले गर्दा त हो नि ! कविताको बिजोग भा’को !” कुबेर खित्का छाडेर हास्यो ।

“के हिजोआज पनि त्यही काम गर्छस्् तँ ?

उसको कुराले मलाई झन् चाख बढ्यो ।

कुबेर मेरो अन्तरङ्ग साँचो हो । स्कुलदेखि कलेजसम्म हामीले सँगै पढ्यौँ । जागिरका लागि पनि सल्लाह गरेर सँगसँगै र्फम भर्‍यौँ । हाम्रो जागिर एउटै अफिसमा भए पनि हाम्रा विभागहरू फरकफरक थिए ।

उसको र मेरो अफिस एउटै कम्पाउन्डभित्र भए पनि भवनहरू अलगअलग थिए । दैनिक भेट भएन भने पनि टेलिफोनमार्फत हामी कुराकानी गथ्यौँ ।

“अहिले त त्यसले मेरो मुखतिर पनि फर्केर हेर्दैन । हिजो अस्ति उसको साहित्यसँग म आतङ्कित थिएँ, आजभोलि हाम्रो टि्रकसँग ऊ आतङ्कित छ ।” कुबेर फेरि चश्मा खोलेर हाँस्यो ।

“त्यो टि्रक मलाई पनि बता न यार ! मेरो त यहाँ बिजोगै भइसक्यो ।” मलाई पनि त्यो गुरुमन्त्र जान्ने कौतुहलता जाग्यो ।

“पख् ! तँलाई भोलि म यो खाडलबाट मुक्त गराउँला ।” कुबेर मेरो ढाड थप्थपाउँदै हाँस्यो ।

काठमाडौँमा जाडो धेरै बढेको थियो । गएको पच्चीस वर्षसम्म यो वर्षको जस्तो जाडो कहिल्यै पनि नभएको समाचार विभिन्न सञ्चारमाध्यमहरूले प्रसारण गरिरहेका थिए । यी समाचारहरूका कारणले पनि मानिसहरूले झन् बढी जाडो महसुस गरिरहेका थिए । मधुरो घाममा जाडोको चर्चा भइरहेको थियो ।

अन्य दिन पनि हाजिर गरेपछि कर्मचारीहरू यसैगरी बाहिर निस्कन्थे । अन्य दिनभन्दा आज कार्यालयको प्राङ्गणमा बढी नै कर्मचारीहरू भेला भएका देखिन्थे । मेरो पूरै शरीरलाई नियालेर हाकिम आफ्नो कार्यकक्षतिर हान्निएर गयो । म यसरी घाममा बसेको कुरा उसलाई मन परिरहेको थिएन भन्ने कुरा उसको हेराइले प्रस्ट बुझिन्थ्यो । अफिसभित्रको कामले अजिङ्गरले भै”m मुख बाएर बसेको छ । अफिसको काम भन्नु मात्रै हो, सबै त्यसका व्यक्तिगत कामहरूको चाङ छ ।

“अब म जान्छु ।” मैले कुबेरसँग बिदा हुन खोजेको थिएँ ।

“तँ गधाको काम बितिसक्यो होला ।” मेरो कुरालाई उसले फेरि हावामा उडाइदियो ।

“अफिसमा तँलाई के कामले पर्खिएर बसेको छ ।” उसले मलाई सबै साथीहरूका अघिल्तिर मजाकमा उडाउन खोज्यो ।

भीड बिस्तारै बिस्तारै पातलिँदै गयो । मैदानको एक छेउमा उभिएर हामी त्यहाँका दृश्यहरू हेर्दै कुराकानी गरिरहेका थियौँ । अगाडिपट्टि बङ्गलाजस्ता सानासाना घरहरू थिए । त्यसका अघिल्तिर युनियनका बोर्डहरू झुण्डिएका थिए । बङ्गलाहरूभित्र विभिन्न खालका चहलपहलहरू बढिरहेको देखिन्थ्यो ।

“तँलाई हाकिमले लगाएका व्यक्तिगत कामहरूबाट मुक्त हुने विचार छ होइन ?” कुबेरले अनुहारमा अलिकति मुस्कान छर्दै भन्यो ।

“कार्यालयको काम गर्न पाए पो हुन्थ्यो । उसको व्यक्तिगत काम गर्न जागिर खाएजस्तो । मलाई त कार्यालयभित्र पस्नै मन लाग्दैन । आज यी यतिबेलासम्म नगएको फुलेर बसेको होला । अघि नै घुरेर हेर्दै थियो । जहाँजहाँ सेयरका लागि आवेदन माग हुन्छ, उसका सबै सन्तानको नागरिकता बोकेर लाइनमा लाग्नुपर्छ ।” मैले पनि उसका अगाडि एउटा तिक्तलाई उकेलेँ ।

” ल ! बाहिर हिँड् म तँलाई उपयुक्त उपाय सिकाउँछु ।” कुबेरले मेरो हात समातेर तान्दै लग्यो र एउटा चश्मा पसलमा पुर्‍यायो । पसलेसँग एउटा कालो चश्मा माग्यो । म छक्क परिरहेको थिएँ । पसलेले एउटा चश्मा निकाल्यो तर कुबेरले त्योभन्दा निक्खर कालो चश्मा खोज्यो । केही दिनदेखि कुबेरले पनि त्यस्तै चश्मा लगाइहेको थियो । मलाई अचम्म लागिरहेको थियो र मैले कुबेरलाई हेरेँ । ऊ मुसुक्क हाँस्दै मलाई त्यो चश्मा लगाउन दियो । त्यसपछि उसले मलाई एउटा युनियनको अफिसमा लिएर गयो । उसले त्यहाँ मलाई युनियनको सदस्य बन्नका लागि रसिद काट्न लगायो । कुबेरले मसँग सदस्यताबापत भनेर एकसय रुपियाँ माग्यो । मैले पनि खुरुक्क दिएँ । सबैतिर हेरेँ । सबै कालो चश्मामा सजिएका थिए र मतिर हेरेर अलिअलि मुस्कुराइरहेका थिए । त्यसपछि उसले मलाई युनियनको बाहिर लिएर आयो । युनियनको बाहिर गेट अगाडि एउटा बेञ्च राखिएको थियो । उसले मलाई केही समय त्यहीँ बसिरहन भन्यो । म पनि थचक्क त्यहीँ बसेँ । मलाई त्यहीँ छाडेर ऊ अर्कैतिर गयो ।

कुबेरले सिकाएभै”m म पनि त्यही बेञ्चमा बसिरहेको थिएँ । केही समयपछि मेरो हाकिम त्यही बाटो हँुदै कतै जाँदै थियो । ऊ म नजिकै आइपुगेपछि मैले उसलाई उठेर नमस्कार गरेँ । उसले छक्क परेर मतिर हेर्‍यो । मलाई देख्नेबित्तिकै उसको अनुहारमा आतङ्कका रेखाहरू सल्बलाइरहेको पाएको थिएँ मैले । ऊ मेरो नजिक आयो र मसँग अँध्यारो मुख लगाउँदै हात मिलाउन खोज्यो । मैले पहिलोपटक ऊसँग हात मिलाएको थिएँ ।

“कल्याणजी तपाइँ एकछिन पछि अफिसमा आउनुस् है! ” उसले मसँग यति भन्दै नक्कली हाँसो फाल्यो ।

कुबेर आएपछि मैले उसलाई यी कुराहरू सुनाएँ । ऊ सबैले सुन्ने गरी जोडजोडले हाँस्यो ।

“बुझिस् ! अब औषधि ठीक ठाउँमा लाग्यो । अब तैँले यो अफिसमा हाजिर मात्र गरे पुग्छ ।” कुबेर फेरि जोडले चिच्याउँदै हाँस्यो ।

“यो काम पनि तेरो र मेरो आदर्श अनुकूल छैन नि ! तेरो र मेरो सिद्धान्तले यस्तो कार्य गर्न दिन्छ र? फेरि युनियनजस्तो श्रमजीवी वर्गको हितका लागि चल्नुपर्ने संस्थालाई यसरी उपयोग गर्नु राम्रो होइन । योतर्फ तैँले सोचेको छैनस् कि के हो ?” मभित्र उठिरहेको प्रश्न उसका अघिल्तिर राखेँ ।

“राम्रो बनाउन अर्कै तरिकाले लाग्नुपर्छ ।” ऊ कुनै काममा हतारिएजस्तै गर्न थाल्यो । म पनि ऊबाट बिदा हुन खोजेँ ।

“यो सबै कालो चश्माको कमाल हो बुझिस्! अब जता जानुपर्छ जा ” कुबेर यस्तो भन्दै आफ्नो बाटो लाग्यो ।

कालो चश्मा लगाउनुको अप्ठ्यारो महसुस गर्दै म आफ्नो कार्यकक्षतिर आएँ । हाकिम म बस्ने कोठामै बसेर मेरो प्रतीक्षा गरिरहेको रहेछ ।

“कल्याणजी आइ एम भेरी सरी मलाई नागरिकताका प्रमाणपत्रहरू दिनुहोला । मेरो टेलिफोन खानेपानीका कार्डहरू पनि तपाइँसँगै छन् । तिनीहरू पनि मलाई फिर्ता दिनुस् ।” हाकिम मेरो अनुहारतिर नहेरिकनै भट्भटाइरहेको थियो ।

मैले हतारहतार गर्दै उसका भएका सामानहरू फिर्ता दिएँ । उसले आफ्ना सामानहरू खामभित्र हाल्यो । मसँग धेरै कुरा गर्ने उसको रुचि नभएको कुरा मैले राम्ररी बुझिसकेको थिएँ ।

“ल है त! कल्याणजी! कहिलेकाहीँ काज, ओ.टी. केही चाहियो भने सम्झनुहोला । म तपाईंलाई सहयोग गर्छु ।”

ऊ यसो भन्दै आफ्नो कार्यकक्षतिर लम्कियो ।

भित्र पुगेर हाकिमले तुरुन्त घण्टी बजायो । हरिप्रसाद फेरि दौडिँदै भित्र गयो । अब उसले मलाई बोलाउन घण्टी बजाएको होइन भन्ने कुरामा म द्विविधायुक्त थिएँ ।

“सरलाई कालो चश्मा सुहाउँदो रहेनछ ।” हरिप्रसाद बाहिर निस्कँदै मलाई हेरेर हाँस्यो ।

“सुहाउन लगाएको होइन, बाध्यताले लगाएको हुँ ।”

मैले पनि सिधै जवाफ दिएँ ।

“सर सबैले लगाको देख्दा मलाई पनि लाउँलाउँ लागेको छ ।” उसले आँखा चिम्म पार्दै भन्यो ।

“मैले कुनै सपना त देखिरहेको छैन ?” कालो चश्मा फुकालेर आँखा पुछेँ ।

म वास्तवमा विपनामै थिएँ ।

ठानागाउँ – ४, थामखर्क, उदयपुर

(स्रोत : मधुपर्क २०६५ माघ)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.