~रुपकेशरी उलक~
असारे झरीसँगै चियाको चुस्कीहरूको साथमा उपन्यासकार सरुभक्तको लघु उपन्यास ‘चुली’ पल्टाउँदै गर्दा मैले धेरैपल्ट हिमचुलीहरूको कल्पना गरें, सँगसँगै सरुभक्तभित्रको लेखन चुलीको आनन्द लिएँ।
हिमाल चढाइमै मात्र सीमित राखेर ‘चुली’ लाई हेर्ने हो भने एकथअजययिनष्अब भााभअत का रुपमा यसले हिमालको चिस्याइका कारण शरीरमा उब्जिने काँडे तरङ्गमात्र उब्ज्याउला तर समग्र जीवनको चुलीलाई गम्न सके प्रत्येक पाठक मन तरङ्गित नपारी यसले छोड्दैन।
‘हिमालमा जोखिमहरू हुन्छन्। जीवनमा हिमालहरू हुन्छन्। जीवन भनेको जोखिमहरूको एक सुन्दर कविता हो। यसरी जोखिमहरूको सगरमाथा हो हिमाल। जीवनमा पनि यस्ता सगरमाथाहरू धेरै हुन्छन्। धेरै धेरै।’ यस्ता भावहरूको वाक्य गठन प्रस्तुत ‘चुली’ भित्र छताछुल्ल पाइन्छन् ।लगनशीलता, प्रेरणा र आशा ‘चुली’को मूल चुरो हो। निराशा सङ्कुचन र पलायनताका शब्दहरू मेट्न खोज्ने इलेजर बनेकेा छ ‘चुली’। जोजीवन हाँक्न चाहन्छ, जीवनसँगसँगै समाज हाँक्न अघि बढ्छ उसका निम्ति ‘चुली’ भित्रका धेरै वाक्यहरू हौसलाकाहातहरू बन्नेछन्।
‘चुली’ जीवन सङ्घर्षको गाथामात्र नभइकन यो नेपाली प्रकृतिको गाथा पनि हो। लेखक जस्तो परिवेशमा हुर्केका हुन्छन् अथवा रहेका हुन्छन् उनले उस्तै परिवेशको रेखा आफ्नो साहित्यमा कोर्छन् भनेझैं सरुभक्त हिमाली छानो बोकेको देश नेपालमा जन्मे त्यसैले उनले हिमालकै बिम्ब टिपे। लेखक स्वयम्ले कति ठाउँमा लेखेका छन् –’मैले द ओल्ड म्यान एण्ड ड सीद्वारा प्रेरित भई ‘चुली’ को रचना गरें। हेमिङ वेसित समुन्द्र थियो, उनले समुन्द्रमा जीवनको सङ्घर्ष गाथा रचना गरे। मसित हिमाल थियो, मैले हिमालमा जीवनको सङ्घर्षगाथा रचना गरें।’
‘चुली’ भित्रको कहानी निकै छोटो छ। औपन्यासिक विधिअनुरुप यसमा सन्तुलित प्रस्तुति छैन। बाह्य रुपमा यो एक पर्वतारोहीको पर्वतारोहणको कहानी हो तर आन्तरिक भावभङ्गीका आधारमा तौलने हो भने यसभित्र सिङ्गो जीवन आरोहणको प्रस्तुति पाइन्छ। चुलीभित्रको कथानक छोटे नभएर छरितो बनेको छ र सहज रुपमा उपन्यासको कोटीमा उभिन पुगेको छ।
एउटा पर्वतारोही पुरै तयारी र साहसका साथ सगरमाथा चढ्न हिंडेको हुन्छ। जसको पलपलको निगरानी कथनभन्दा टाढै रहेर लेखकले गरिरहेका हुन्छन््। पर्वतारोही निकै आशावान र कर्मठ हुन्छ। ‘चुलीको यात्रा भनेको जहिले पनि एक्लो यात्रा हो।’ भन्दै ऊ एक्लै सगरमाथाको चुली टेक्ने जाँगरका साथ अघि बढ्छ।
आफ्ना भरियाहरूलाई बेस क्याम्पहरूमै छोडेर ऊ हिमपातहरू छिचोल्दै, धेरैपल्ट लड्दै सगरमाथाको चुलीसम्म पुग्छ। ‘चुली टेक्ने ठाउँ हो अल्मलिएर बस्ने ठाउँ होइन, जो चुलीमा अलमलिई बस्छन्उनीहरू चुली टेक्दैनन्, चुलीले उनीहरूलाई टेक्छन्।’ भन्ने सोचेर ओर्लने तर्खरमा जुट्छ। जतिबेला जीवन शिखरको वास्तविकता भेटाइसकेको हुन्छ।
ऊ निकै सतर्कतापूर्वक चुलीबाट फर्कदै गरेको हुन्छ तर सङ्घर्षको आँधीले उसलाई छोड्दैन। कति सतर्क हुँदाहुँदै पनि दुर्घटित भएर ऊ मर्छ जब कि उसलाई पहिल्यै थाहा थियो:– ‘अधिकांश दुर्घटना ओर्लने क्रममा हुन्छन् किनभने मान्छेहरूले जीवनको बाटो उक्लँदा ओर्लने क्षमता सुरक्षित पारी राख्दैनन्। धेरैजसो मान्छे असफलतामा दुर्घटित हुँदैनन्, सफलताहरूमा दुर्घटित हुन्छन्। इतिहास साक्षी छ। सभ्यता साक्षी छ। सायद महान्–महान् इतिहास र सभ्यता नष्ट हुनुको पछाडि मान्छेको यही चरित्र जिम्मेवार छ।’
यसरी प्रस्तुत उपन्यास टुङ्गिन्छ। उपन्यासको प्रमुख पात्र मर्दा नैराश्यतामा डुबेर मरेको छैन। अन्तिम क्षणमा उसले यसरी सम्बोधन गरेको छ: ‘प्रिय सगरमाथा ! मलाई बिदा देऊ। …….. मेरो जीवन समाप्त भएपछि पनि सबै कुरा समाप्त हुनेछैनन्। ………. मान्छेका अदम्य सङ्घर्षहरू समाप्त हुनेछैनन्। मान्छेहरू हिमाल चढ्न आइरहनेछन्।’
उपन्यासले जीवनको वास्तविकता बोलेको छ। यहाँ कसैको जीवन अनन्त सफलतामा टुङिगएको छैन। सङ्घर्षहरूको लौरो टेक्दै जिउनु र मर्नुको अर्थ वास्तवमै पर्यायवाची बनेको छ। होशियारीहरूको साथमा उसले चुली टेक्यो र त्यसैभित्रको नियतिमा ऊ सम्हाल्न नसक्ने गरी ठोकिन पुग्यो। सायद एक्लो यात्राको परिभाषै पो गलत हुनपुग्यो कि? एक्लो अभियान नखोजेको भए नियतिको बललाई पनि छेक्न सक्ने पो हो कि? आखिर जिन्दगीको यात्रा एक्लै टुङ्ग्याउन खोज्नु जोखिमहरूलाई दुगुना पारेर हिंड्न खोजेजस्तो देखियो।
‘चुली’ को एउटा पाटो जीवन सङ्घर्षको अभिव्यक्ति हो भने दोस्रो पाटो लेखकभित्रको पर्यावरणप्रतिको मोह हो। चुली आरोहणका क्रममा वर्णन गरिएका बेस क्याम्पहरूको स्थिति, त्यहाँभित्र पर्वतारोहीहरूले मिल्काएका फोहोर वस्तुहरू, मरेका मानिसहरूको लाश आदिको एउटै अर्थ लाग्छ। विश्वको सर्वोच्च शिखर फोहोरिंदै जानुमा लेखको चिन्ता आम सचेत नागरिकहरूको चिन्ता हो।
हिमाललाई यति नजिक ल्याएर लेखन विषय बनाइएको कृति नेपाली साहित्यको सन्दर्भमा सायद यही पहिलो होला। जीवन सागरको गहिराइ र हिमचुलीको उचाइलाई जोडेर बनाइएको मनस्पर्शी कृति नेपाली पाठकहरूले पाएका छन् जुन हिमनिधिकै रुपमा सुरक्षित रहनेछ। उपन्यासकार सरुभक्तलाई थोरै सलामी दिएर नपुग्ला। यसपटक उनको ‘चुली’ लाई सलाम !!
कृति: चुली (लघु उपन्यास)
लेखक: सरुभक्त
मूल्य: १५०।–
(स्रोत : मजदुर दैनिक)