~सरोज पंहाङगो लिम्बू~
अहिले पनि
उस्तै लाग्छ,
हाँस्दै, रमाउँदै
खेलेको– ‘त्यो काख’
लुछा–चुँडी गर्दै
तानेका लेम्टा
र लुटुपुटु भै–
बिछ्याइएका गुन्युका थाङ्नाहरु
जहाँ तिमी– खेले’थ्यौ
म र हामीहरु
स्वतन्त्रताका साथ
एउटी बाह«बेते
आईमाईको काखमा !
वर्र्षेनी ब्याउँथिन् उनी–
हामीदेखि उता पनि
ब्याई नै रहिन्
सत्र, अठार कुन्नि कति पुगे …?
कोही मरे, कोही रहे
त्यसैबीचका हामी
भल्ट्याङ–भुल्टुङ फर्सीजस्ता
कोही भुइँमा कोही खाटमुनि
सुतेर हुर्कियौं
नाङ्गै–भुतुङ्गै
आँगनमा गएर खेल्थ्यौं
र एकैछिनमा गएर
चिथोरौलाझैं गरी
झुन्डिन्थ्यौं
च्यातिएको लुगा समातेर
पेट भर्ने सुरमा, निरन्तर …!!
अनि–
पोल्टोभित्र
हात हालेर– ‘एक मुठी मकै’
बाँडिदिन्थिन्– ‘दुई दुई दाना’
त्यहीं नै काफी थियो
हाम्रो लागि, त्यतिबेला–
तिनै आइमाई
मैले देखिरहेको छु
यतिबेला– ‘प्रत्येक दिन’
त्यही मुर्दा छिराउने गल्छिंडाबाट
प्रवेश गर्छिन्–
यो थोत्रो शहरभित्र– हरेक साँझ,
र रातभरि–
रगतले कक्रिएका छोराहरुको
चोक्टाचोक्टी लुगा बटुलेर
अंगालो हाल्छिन्
र यताउति हेरेर
अत्तालिएझैं गरी
बिलापिन थाल्छिन्–
‘नाई ४४४ … म बाँझी होइन
मलाई त्यसो नभन
एउटा मुटुलाई टुक्राटुक्रा पारी
बिछ्याएको छु, यस माटोमा–
भल्भल्ती सन्तान …!
नपत्याए हेर–
यी छोराछोरीले चुसेर
सुकाएका लेम्टा
सुत्केरी हुँदा भत्किएको गुप्ताङ
जुन चोट अझ आलै छ,
त्यसैले म तिनै सन्तानहरुको आमा हुँ
जसलाई तिमीहरु छैन भन्दैछौ
आउँछन्, उनीहरु एकदिन–
तिम्रो शिकारको सद्गद् गर्न–
हातभरि फूलका गुच्छाहरु लिएर
आफ्नो बाबुको अन्तिम संस्कारमा
सपुत !
त्यतिबेला–
झलमल्ल बल्नेछन् दीपहरु
प्रत्येक– आँगन आँगन
सुख शान्तास्निग्धको
मेरै बस्तीमा
भन्दै प्रस्थान हुन्छिन्
यस शहरबाट अर्को साँझसम्मका लागि–
हाम्रो युद्धमैदानतर्फ
संगीनहरु रोक्न
हरेक प्रहर !
उनै– आइमाई
जसले हामीलाई जन्म दिइन्
बिनासर्त हुर्काइन्, बढाइन् र
जवान बनाइन्
नपत्याए हेर ! अझ उस्तै छ–
उनको शरीरको चोट
जहाँ– हामीले दखल पु¥याए’थ्यौं
बाँच्ने सवालमा
सानो छँदा–
त्यो मेरो भ्रम होइन ।
नपत्याए हेर्न सक्छौ
अर्को साँझ यही शहरभित्र
जो अहिले पनि उस्तै छिन्
ठ्याक्कै– तिमी हामीले,
आमा भनेजस्तै
मात्रै एउटा भिन्नता आएको छ उनीमा–
पहिले सिन्दुरपोते लगाउँथिन्
र भल्ट्याङ–भुल्टुङसँग हाँस्दै हिँड्थिन्
अहिले एक्लै हिँड्छिन्
शोकमा डुबेर
मुल्याहाको अभियोग
सहन नसकी हिंडेको
निष्पन्द, निर्बरा–
बिधवा आइमाईजस्तो
एक्लै सडकमा !
मलाई
प्रष्ट थाहा छ,
सधैं मध्यरातमा
यो शहरबीच आएर
यसरी शान्तापन गर्ने
ती आइमाई– हाम्रै आमा हुन्
तिम्रो, मेरो र हामी सबैको–
आमा !
तथापि,
हामी– चुपचाप हेरिरहेछौं
त्यो सन्ताप्
आमाको एउटा–
दर्दनाक कथा
सडकछेउको
रमिता मानेर !
मभन्दा तिमी–
र तिमीभन्दा म, माथि उक्लने सुरमा
बिनाहारजीतको एउटा–युद्ध
लडिरहेछौ– लाटाजस्तो
फाँछोको श्राप थाप्न–
भर्खरै नि–सन्तान भएकी
आमाको सन्तान हामी !!
(स्रोत : विश्वन्युज डट कम )