~वैरागी जेठा~
अपाङ्ग राज्यमा
आठमार्च मनाइरहँदा
पुन्टिको सत्वहरू गाउँदै
सेतीलाई नियाली रहेछु
पढ्न नसकेका अक्षरहरूमा
युद्धको अनुभव गर्दै
मानव सभ्यताको संघार भित्र छिरेको छु
यति वेला
डोल्पाको डिहीमा बसेर
पुन्टी रोकायको
बृत्तचित्र कोरिरहेछु
क्रान्तिको सत्वहरू छैनन्
म भनिरहेछु
कविता पुनका सत्वहरू
पढ्न आग्रह गरिरहेछु
मानिसहरू पढिरहेका छैनन्
उनलाई
उनका श्रावकहरू
मयुरझैँ नचाइरहेछन्
आठमार्चले
उनको आँगन टेकेन
कैल्यै
घुर्चि वरिपरिका बस्तीहरूका
सिमीका झाङ्हरूले
पहिल्याउन सकिरहेको छैन
आँफैले भोगिरहेको कुराहरू
यहाँ प्रस्तुत भइरहेछन्
आठमार्चले
पुन्टिले बोकेका बन्दुकहरूको
चर्चा गर्न चाँहदैन
उनको पिठ्युँमा रहेका
सुन्दर बन्दुकहरूनै
मानिसहरूको इतिहास खोजिरहेथे
हुम्लाका बारीहरूमा
उवाको सातु नपाएर
छट्पट्टिएकी पुन्टिका जीवनहरू
एक मुठी सातु मागिरहेको कुरा
आठमार्च भन्ननै रुचाउँदैन
कविता पुनहरूले दुःख भोगिरहेका
कुनै पर्चाहरूमा छैन
अगाडि उभ्याइदिएर नचाउँदैमा
उनको सपना साकार हुन्छर
काम नगर्ने प्रेतहरूले
क्रान्तिको कुरा गर्दा हाँस उठ्छ
पुन्टिको सुसेलीहरू
उनले गाएका मिठा मिठा गीतहरू
धुनहरू सुन्न सक्ने तागत छैन
आठमार्चलाई
जीवनलाई क्रान्तिको बाटो बनाउने
कविता पुन
आहुति हुन तयार छिन्
कर्तव्यपरायण गरेर
चिप्लेकिराहरू
एनजियोका हुलाकिहरू
आठमार्चको बेलुन लिएर
काठमाण्डौँको धुँवासँगै उडिरहेछन्
यतिवेला
मानसरोवर हाास्न सकिरहेको छैन
सेतीका बाफहरू
पूर्वतिर उडिरहेका छन्
बन्दुकको आवाज रोकिएको छ
चराहरू मौन छन्
पुन्टि र कविता पुनहरूलाई
आठमार्च थाहाछैन
सहर भित्रका कङ्क्रिटमहलहरू
धुमधाम मनाइ रहेछन्
दोरम्बा र खाराहरू
बेनी , गौउरहरूको सपना बिट्याल्याउँदै
एनजीयोहरू
समाजवादका समाचार लेखिरहेछन्
पुन्टी रोकायको ,आङ्मा केही नभएझैँ
नाङ्गिएको लोकतन्त्र
कविता पुनहरूका
आँसु पिइरहेछ ।
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )