लघुकथा : समय

~मनोज खनाल~

यो एउटा घटना पौराणिक कालको हो, जतिबेला यो संसारमा जनावरहरु पनि मान्छेजस्तै दोहोरो कुरा गर्न सक्थे । यसै क्रममा तँ ठूलो हो कि म ठूलो हुँ भन्ने विषयमा एउटा विषालु सर्प र मानिसको विवाद भइरहेको थियो ।

त्यो विषालु सर्प ढाढस दिंदै भन्दै थियो– ‘तँ मनुष्य कसरी ठूलो र बलवान हुन सक्छस् एकपल्ट मात्र मैले तेरो शरीरमा ठुङ्न पाएँ भने तैंले यो संसारबाट बिदा हुनुपर्छ । तेरो जिन्दगी मेरो एकपल्ट ठुङ्गाईमा मात्र अड्केको छ बुझिस् ।’

जबाफ दिने क्रममा मानिस भन्दै थियो– ‘तेरो जम्मा शरीरको लम्बाईभन्दा आधा मात्र एउटा लौरो (लट्ठी)मा अड्केको छ, तँ जाबो भुइँमा घिस्रिएर हिंड्ने जन्तुलाई त्यही लट्ठीले टाउकामा एक भन्न नपाई बजारियो भने तेरो जिन्दगीको अन्त्य त्यहीं हुनेछ ।’

दुवै प्राणीहरु आफ्नो बुद्धी र बलमा एकआपसमा तँ ठूलो कि म ठूलो भन्ने भावनाले ग्रस्त भएर वादविवादमै घण्टौं बिताइरहेका थिए । यत्तिक्कैमा आकाशमा कालो बादल मडारिइरहेको थियो । एक्कासि हावा, हुण्डरी आउन थाल्यो र आकाशमा बिजुली चम्किइरहेको थियो । केही समयपछाडि ती एकआपसमा लडिरहेका दुई प्राणीहरुको लास भुइँमा भिड्दै गरेजस्तै लडिरहेको थियो । यी दुवै प्राणीको प्राणपखेरु उडिसकेको थियो । तर, यी दुवैलाई के थाहा सबैभन्दा ठूलो र बलवान त ‘समय’ पो रहेछ भन्ने कुरा ।

मनोज खनाल
बिर्तामोड, झापा, हालः न्यूयोर्क, अमेरिका

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.