~गणेश कार्की~
मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ”
मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !
बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी
पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!
छोडिनुको पीडा थाहा पाउँछौ, माया गर कसैलाई
समा’को हात छोड्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !
बेग्ला–बेग्लै बाँचेर हामी, के ‘किरण’ हास्न सक्छ ठान्छौ ?
खुसीको मुल थुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!
(समर्पण मेरो साथी ‘किरण भट्टराई’ प्रति ।)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)