~कमल प्रकाश पौडेल ~
मान्छे हेरी मान्छेसँग, मस्तसँग घुलिदिन्छु
मन्का कुरा साट्नलाई, निष्कपट खुलिदिन्छु ।।
अघि बढौं हातेमालो, दुई हात दुई गोडा
समानान्तर पथभित्र, सारा पीडा भुलिदिन्छु ।।
अनर्थ नसोच तिमी, सारा सङ्लै बग्छु हेर
दिलभित्र बाह्रमासे, लतासरी झुलिदिन्छु ।।
टाढा भागी जाँदिन म, तिम्रै पास आँगनीमा
गौण ऐना बनी त्यहिं, हरपल डुलिदिन्छु ।।
उखेलेर कुल्ची हिड्ने, कुनै चेष्टा गर्नुहुन्न
हिलो,पानी जहाँपनि, कमल’ भै फुलिदिन्छु ।।
–रचनाकालः–२०६५÷०५÷३१
(स्रोत : रचनाकारको ब्लगबाट सभार)