~बाबुराम पन्थी ‘गुल्मेली’~
युद्दको क्रान्ति लाई नजिकै बाट देखेको छु
क्रान्तिमा हजारौ मानव बलीचढेको सुनेको छु
बलि चढेको मात्र होईन चढाएको बुझेको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु
बैश मै युवतीको सिन्दुर पुछिएको देखेको छु
अबोध बच्चाहरू टुहुरा बेशाहारा देखेको छु
आमाहरूको कोख उजाड भएको देखेको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु
बेलगाम क्रान्तिले बलत्कृत समाज भेटेको छु
समाजमा आपसी भरोषा टुटेको पाएको छु
साथी साथीमा बैमनस्यता बढेको देखेको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु
माटोको गंध बारूदमा बदलिएको सुँघेको छु
गाँउका बस्तिहरूमा आगो दन्केको देखेको छु
बदलाको भेलमा क्रान्तिको समाहित पाएको छु
हो त्यसैले युद्दको क्रान्ति शब्द देखी डराउँछु
युद्दको होइन अब कृषि र उध्धोगमा क्रान्ति गरौं
शिक्षा र रोजगारी श्रृजनाको लागी क्रान्ति गरौं
आउ समग्रमा राष्ट्र निर्माणको लागी क्रान्ति गरौं
आउ सबै मिली श्रृजनसिल बौद्दीक क्रान्ति गरौं
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
संपादक ज्यू प्रकाशित गरिदिनु भएकोमा आभारी छु