~के.पी. छुस्याकी~
लालसिं तामाङको अनुहार आज खुसीले चम्किएको छ। त्यति चमक त उसले कोलिनले सफा गरिएको टेबुलमा पनि थिएन। सावधानीपूर्वक सफाचट गरी गोलमेच संरचनामा मिलाएको छ। ऊ सुन्दर भाकामा गुनगुनाउँदै कम्मर मर्काई नाचिरहेको भान हुन्छ। ऊ सफा गरिएको मेचमा थचक्क बस्छ। केही सोची ऊ बुरुक्क उफ्री नजिकको चमेलीको बुट्यानबाट ४/५ हाँगा भाची फूलदानीमा सिउरी फूलदानी टेबुलको बीचमा राख्छ।
चमेलीको हरक्क वासनादार हावा उसको नाक वारपार गर्छ। ऊ लामो सास लिई मन्त्र–मुग्ध हुन्छ। यो सब दृश्य नियालिरहेको क्यासियर अनायास उसको बहुलठीपना भङ्ग गर्दै आवाज दिन्छ –’लाले….।’ वाक्य पूरा नहुँदै लालसिं झस्केर ‘हजुर …।’ को निर्दिष्ट उत्तर फर्काउँछ। क्यासियर लालसिंको मनोदशाको भेउ सहजै पाउँछ। ऊ आज रामै्र टिप्स पाउने आशामा छ। क्यासियर पनि मुुसुक्क खिट्का छोड्छ र रिजर्भ टेबुल भरिने प्रतिक्षा गर्छ।
‘रमेश, तैले आज ठूलै टि्रट दिइस्।’ पहिलो साथी बफ चिल्लीको रातोपिरो मासुको चोक्टा चपाउँदै भन्छ। ‘यहाँको सिजलरको स्वादै बेग्लै … !’ पिज्जा मगाएनौ? …… आफ्नो त जिब्रो नै पिज्जामा झुण्डिएछ। बीग हो नि, होइन? …. ‘ लोभले तेस्रो साथी र्याल चुहाउँछ।’ हामीमात्र हो कि अरु पनि छन्?’ ‘क्लासको सबैलाई बोलाएको छु।’ रमेश गर्वसाथ उत्तर फर्काउँछ। सी मःमः को तात्ततातो गोला मुखमा कोच्दै अर्को साथी जिज्ञासा राख्छ – आखिर तैले केटी पटाइस् होइन?…. कि … आखिर यस्तो भव्य केको खुसियालीमा? तँहरू पनि … टि्रट पाए पुगेन? जासुस कहिका !’ रमेश रोकिन्छ – कलेजमा १ वर्षको छात्रवृत्ति पाए। ……… वेटर ….। लालसिं कोलिनले सफाचट गरिएको टेबुलमा यत्रतत्र छरिएका रिकापीहरू टिप्न आइपुग्छ। लालसिंको अनुहारको चमकमा किन्चित पनि ग्लानीको घाउ देखिएको छैन। लालसिं सोच्दो हो आजको भव्य ‘पार्टी’बाट ठूलै टिप्स पाई कलेजको मासिक शुल्क समयमै बुझाउनेछु।
(स्रोत : मजदुर दैनिक)