~तीर्थ संगम राई~
स्काफफोल्डिङको पच्चिसौं तल्लामा
झुण्डिएर जीवनको युद्ध लडिरह“दा
प्रिय कमरेड !
म मृत्युसँग हारिसकेको छु ।
हारेको छु—
आफन्तहरुका निर्दोष अनुहार
छोराछोरीहरुका रहरलाग्दो सपना
र, हारेको छु—
आफ्नै जीवनसंगिनीको आशालाग्दो
घाम झैं मुस्कान र जूनझै रहर ।
मैले जनयुद्धको आधार सिबिरमा
सिकेको हुँ—
मृत्यु/भय, र बलिदानको
सौजन्य जीवनका गाथाहरु
छिचोलेको हुँ—
मार्क्स र लेलिनको आदर्श
कयौं पटक पढेको हुँ
माक्सिम गोर्कीको ‘आमा’
लुकीलुकी चिनेको हुँ
चे ग्वाभारा र फिडेल क्यास्ट्रो
यसरी—
कति—कति चिने हुँला मैले
बर्गिय मुक्तिका महान नायकहरु ।
त्यतिमात्र कहा हो र कमरेड !
बर्गीय मुक्तिसंघर्षका लागि
बिद्रोह गरेको हुँ यो समाजसँग
पड्काएको हुँ भरुवा बन्दुक
बनाएको हुँ प्रेसर कुकर र सुत्ली बम
उत्सर्ग गरेको हुँ आफूलाई राष्ट्रको लागि ।
प्रिय कमरेड !
मलाई कुनै ग्लानी या हर्ष छैन
जीवनको यो घडिमा मस“ग छैन
त्यो उर्जा जो पहाड फोर्न सकूँ
सुनगाभा टिप्न जंगल पस्न सकूँ
नत छन् कम्पाक्टको चारकुने रुमाल
जस्ले आफ्नै शरीरको पसिना र
बग्दै गरेको आलो रगत पुछ्न सकूँ ।
प्रिय कमरेड !
क्यान्टोमेन्टबाट बिदा हुँदा
मैले देखाउन सकिन आफ्नो आँसु
धिकार्न सकिन त्यो महान् जनयुद्ध
जसमा मेरै सहोदर दाजु
गाउँका जन्मिदार बागधन राई
र, मनमाया बलात्कृत भएकी थिई
बरु जनयुद्धमा प्रयोग भएका
थोत्रा झोला, पुराना पर्चा
शहीद र बालबच्चाहरुको फोटो
संगिनीको पुरानो मजेत्रो
खाडि जाने कागजपत्र बोकेर
सुरु गरेथें फरक यात्रा ।
प्रिय कमरेड ?
यहा त पेट्रोलको गन्धमा पनि
आलो रगतको आभास आउँछ
कुनै प्लान्टको साईसन बज्दा
युद्ध संखघोषको अनुभुति हुन्छ
जसरी मारिन्थे युद्धमा योद्धाहरु
त्यसरीनै मर्छन श्रमिकहरु
फरक यति छ की
युद्धमा राष्ट्रको लागि मारिन्थे
यहा मात्र बाँच्नको लागि मरिन्छ
युद्धमा शहादत प्राप्त हुन्छ
पाटिको झण्डा ओढाईन्छ
यहाँ केवल मरिन्छ अकालमा
र, पठाईन्छ बरफको बाकसमा ।
अहिले पो म बुझ्दैछु
जीवनको महत्व
बाँच्नुको सटिक अर्थ
जिउनु र मर्नु बिचको भिन्नता ।
उबेला लागेकै हो
मृत्युभन्दा पर जीत छ
अहिले लाग्दैछ
मृत्यु नजिक जीवन छ
त्यसो रनै झुण्डिरहेको छु
स्काफफोल्डिङको पच्चिसौ तल्लामा
र, दैनिक बनाउँदैछु
भत्किएका परीवारको सपनाहरु ।
प्रिय कमरेड ?
हरेक रात सपना
शहादत कमरेडहरु आएर सोध्ने गर्छन्
गरीव जनताहरुको चुलोमा
आगो बल्छ की भोक ?
हलो जोत्ने कमैयाहरुको खेतमा
सुन फल्छ की साहुको ब्याज ?
जुत्ता सिउने सन्ते दर्जीको खुट्टामा
जुत्ता छ की अभावको कल्ली ?
फन्द्रे दर्जीको स्वास्नीको आङमा
नया लुगा छ की
चिहाउदैछ उस्को स्तन र कुमले
अर्को कुनै बिजया दशमीलाई ?
अरब आएकी शहिद रत्तिमको स्वास्नीले
पैसा कमाउदै छे कि जवानी बेच्दैछे ?
सेनामा मिस्सीएका कमाण्डरहरुले
जनतालाई सलाम ढोक्दैछन् की शासकलाई ?
जवाफ नभएर एैठन हुन्छ हरेक रात ।
उर्फ, यो कस्तो कालोरात
कतिखेर हुन्छ बिहान
र, भिर्नुछ सेफ्टि हार्नेस
बोक्नु छ रेन्च, मिटर, लेवल अर्थात औजारहरु
जानुछ फेरी जीवनको युद्धमा
बनाउनु छ हेङिग लिभर, फिक्स टावर
जहा बसेर गरीव देशका श्रमिकहरुले
धनी देशका नागरीकहरुलाई
बनाउनेछन् सिटि सेन्टर÷ भब्य स्टेडियम
जुन सिटि सेन्टरमा सपिङ गर्न आउनेछन्
वानकी मुन, बाराक ओबामा या कुनै सुल्तान
जुन स्टेडियमा खेल्न आउनेछन्
मेस्सी, रोनाल्डो या अर्को पेले ।
तर प्रिय कमरेड !
कहिले आउने होला हामीले बनाएको
यो बिकाशे देसको भब्य सहरमा
हाम्रो नीलो पसीनाको मोल सोध्दै
हामीले बनाएको हाम्रो देशको राष्ट्रपति ?
हाल-कतार
(स्रोत : एभरेष्ट दैनिक डट कम)