कविता : अपिल

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण,
मेरो अगाडि उभिएका
मैले क्षमतावन र कर्मठ ठानेको
ती नेताहरु त
कृत्रिम इन्द्रियजडित
अन्त कतै रिमोटबाट नियन्त्रित
अत्यधुनिक रोबार्टहरु पो रहेछन्
झुक्किनसम्म झुक्किएछु म ।
त्यसैले
उर्दी लगाउँदैछु मान्छेलाई
सचेतनाको ढोल पिट्दैछु
भौतिक शरीर भएकाहरुलाई
भत्काइ दिउँ
अब त्यो रिमोटनियन्त्रित रोबार्टको पुर्जा
र,
स्थापित गरौं
खाँटि मान्छे
मुलिच, ङाःवाचलाई
झर्रा शरीरको
गाउरोच, नाअÞसोचलाई
त्यो रोवर्टरुपि नेताको कुर्सीमा ।

कुनै नेतालाई झैं
अनि कुनै धर्मगुरुलाई झैं
जीउ जीउ पनि गर्न नपर्ने
दिँदा पनि हुने नदिँदा नि हुने
मान्दा नि हुने नमान्दा पनि हुने
गाली गर्दानि नरिसाउने
‘ए, नाअÞसो रिमशो पा पिदार पाउ,
झ्याक्ने दाइलकुल दुम खे !’

—————-
–काःत, चुप्लु (ओखलढुङ्गा)

(स्रोत : http://www.sunuwar.org/ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.