~बिजु सुवेदी “विजय”~
“हे भाइ ! कति फेसबुक खेलिराको ? ओहो तिमीले त लाइक कति ठोकिराको ? कि सबका सबलाई लाइक ठोक्छौ ?”
“हैन ?” भन्ने छोटो उत्तर दियो उसले ।
(ऊ फेसबुकमै व्यस्त थियो कुरा गर्ने फुर्सद थिएन उसलाई )
“कति साथी छन् तिम्रा ?”
“पहिले त ५,००० साथीहरु थिए तर अहिले कसैले लाइक नहानेपछि चिन्नेलाई मात्र साथी बनाएको छु ।”
“अनि अहिले कति साथी छन् नि ?”
“अहिले २०० मात्रै छन् । तर अहिले नै लाइक बढी आउँछ । ”
“मलाई पनि सिकाऊ न कसरी धेरै लाइक निकाल्ने ? तिमीलाई त लाइक सँग मात्र मतलब छ नि हैन ?”
“पहिले तपाईंले ठूला मान्छे जति साथी बनउनु भा छ ती सबैलाई हटाउनुहोस् । ठूला मान्छे साथी बनाएर केही लाइक आउनेवाला छैन । उनीहरु फेसबुकमा कति असहयोगी छन् र आफ्नो मात्रै स्वार्थ हेर्छन् भन्ने थाहा पाउनु नै भइसक्नु भो होला तपाईंलाई भनिराख्नु नपर्ला । खाली उनीहरुलाई मात्र लाइक गर्नु छ , तर उनीहरुले हाम्रो कमेन्टमा शुद्धा लाइक गर्दैनन् । त्यस्तालाई हटाएकै बेस । ठूला मान्छे भन्नु मात्र फेसबुकमा देखेपछि ती सबैको बानी नराम्रो भन्न पोल खुल्छ र तिनीहरुप्रतिको श्रद्धाभाव हटेर जान्छ ।”
“हैन तर तिमीले त लाइक त गर्या गर्यै छौ त ? आहा ठूला मान्छे भनाउँदोको यस्तरी पुरै रामकहानी बताएर पोल खोलिदियौ त तिमीले । बरु तिमी पो ठूला मान्छेझैँ लाइक गर्ने सहयोगी लाग्यो मलाई । आहा ! हैन कत्ति दिल खोलेर लाइक गर्छौ तिमी ?”
“लाइक गरेपनि आफूलाई लाइक गर्नेलाई मात्र गर्छु अचेल । मैले पनि साथीहरुको सबै पोष्टमा लाइक गर्छु । साथीहरुले पनि मेरो सबै पोष्टमा लाइक गर्छन् ।”
“राम्रो नराम्रोको केही मतलब छैन । खालि लाइकसँग मतलब छ त हैन ? हैन अझै लाइक गर्या गर्यै छौ त ।”
“लाइक गरेको मात्र देख्नुहुन्छ । लाइक पनि त आएको आयै छ नि, आएको पनि त हेर्नुस् न ? कम्तिमा एउटा पोष्टमा २०० लाइक नै आउँछ ल हेर्नुस् त ?”
“ए ! हे हो रहेछ । भन्दाखेरि फेसबुकमा लाइकको ब्यापार गर्न थाल्यौ हैन त ? कति फाइदा हुन्छ यो लाइकको ब्यापारमा ?”
“सर पनि ! ”
२०७२ फागुन २० बिहिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
(स्रोत : एभरेष्ट दैनिक डट कम)