~शिवराम सुलु~
मधेशी र थारुलाई आँप हो,
झार्दा केही फरक पर्दैन भन्ने उनी
जनजातिलाई बाँदर हौ,
अधिकार नमाग भनी हपार्ने उनी,
आदिवासीलाई हीनताबोध गराउने कटु बचनबोली हेप्ने उनी,
तर पनि,
जातीय विद्वेष फैलाउने,
राष्ट्रिय एकतामा खलल पुर्याउने अरु नै हुन्छन् दोषी
हुन्नन् उनी,
किनभने उनी त खाँटी ‘राष्ट्रवादी’ ।
बहुभाषा, बहुजाति, बहुसंस्कृति,
यो देशको धरातलीय यथार्थ,
तर स्वीकार्य छैन उनलाई अरुको अस्तित्व,
त्यसैले त
आफ्नो भाषा चलाउन, संस्कृति फैलाउन,
अरुलाई मार्नैपर्छ भन्छन्
‘महेन्द्रीय राष्ट्रवाद’ का नयाँ संस्करण उनी,
र त्यसै गर्छन् पनि,
तर पनि उनले विभेदको विजारोपण गरेको कहिल्यै ठहरिँदैन,
उनलाई खस आर्य एकल जातिवादी, अहंकारवादी वा नस्लवादी भनिँदैन,
किनभने धेरै छन्
यहाँ खस आर्य जातिवाद र बाहुनवादलाई भित्रभित्रै मनपराउने अतिवादी,
चीन जाँदा आपूर्ति मन्त्री नलाने उनी,
भारतमा चारबुँदे प्रस्ताब लाने उनी,
भित्रभित्रै विदेशीको चरण स्पर्शमा घोप्टिने उनी,
तर पनि उनकै ‘राष्ट्रवाद’को वाहिवाही छ जहीँतहीँ,
किनभने,
भित्रभित्रै आज्ञाकारी र बाहिरबाहिर क्रान्तिकारी बन्नमा पारंगत उनी ।
महाकाली सन्धि गर्दा,
नेपाललाई वार्षिक १ खरब २० अरब फाइदा हुन्छ भन्ने उनी,
राष्ट्रिय उद्योग र सम्पति भारतलाई सुम्पने मतियार उनी,
तर पनि उनी राष्ट्रघाती ठहरिँदैन, विकासविरोधी होइँदैनन्,
किनभने उनी त साँच्चीको ‘राष्ट्रवादी’ ।
भूकम्पपीडित्, बाढी-पहिरो पीडितको पीडा नसुन्ने उनी,
महँगी, कालोबजार, भ्रष्टाचारबाट जनताको घाउमा नुन छर्ने उनी,
अझै के बिराएँ भन्दै प्रश्न गर्ने उनी,
बिनाआधार,
बिनायोजना,
आफूले कहिल्यै पुर्याउन नपर्ने,
ओँठभन्दा दाँत बाहिर निस्कने हावादारी कुरा गर्ने उनी,
तर पनि उनी भएनन् हावा र गफाडी,
किनभने उनी त हुन् एक नम्बरका ‘रास्ट्रवादी’ ।
(स्रोत : ई-समता डट कम)