~राजेन्द्र ओझा ‘नयन’~
समयको यो कस्तो खेल,
पहिले के थिएन मोना सँग !
क्षमता थियो,
उल्लास थियो,
सकारात्मक भाव थियो ,
र इर्ष्या पनि थियो ।
दु:ख थिएन उसँग
तर त्यसलाई ग्रहण गर्ने,
त्यसलाई अनुभव गर्ने
र त्यसको भाव बुझ्ने,
आकांक्षा चै थियो
ऊसँग यस्ता अनुभव समेटेर,
अरुको जीवनमा सप्तरङी भावहरु –
जन्माउदै ,
ऊनीहरुलाई अस्तित्व बुझाउदै,
ऊनीहरुमा इर्ष्याहरूको वृक्षारोपण गर्दै,
अनी-
ऊनीहरूको हरेक दु:खमा,
हरेक बेदनामा,
र खुशीमा पनि |
ऊनीहरूलाई साथ दिदै
सकारात्मक जीवन बाँच्ने सुक्ष्म
कला सिकाउने भाव थियो मोनामा ।
भाव मात्र हैन,
त्यसलाई यथार्थ मै गरेर देखाउथिन् ।
के थिएन ऊ सँग ?
सबै कुरा त थियो !
हरेक कलामा जे होस् उनी परीपूर्णता देखाउथिन्
तथापि कुनै बाच्ने कलामा मोना निकै कमजोर पनि थिइन्
तर,
तर प्रयास त गर्थिन् !
के प्रयास नै सबै भन्दा ठुलो,
सबै भन्दा महत्वपूर्ण कुरा हैन ?
हो,
अवश्य नै त्यो हो
नत्र यो समाज ले,
यथार्थमा भन्नु पर्दा
हाम्रो सांस्कृतिकताले प्रयासलाई मान्यता नै दिने थिएन ।
महत्वाकांक्षाहीन ज्ञानको प्यास,
अनी हृदयमा अटूट प्रेमको आभास ।
मानौ, उ सँग समस्त सृस्टी नै थियो
थिएन त केवल उसलाई हौसला दिने पात्रहरु ,
थिएन त केवल सामाजिक अवसर,
अनी उसको मर्म बुझिदिने हितैसीहरू
र उसको आवाज सुनिदिने कर्णहरु |
तर यो समय;
कस्तो अचम्मको खेल खेल्छ भने !
आज ऊसँग अवसर छ,
मोनाका कुरा सुनिदिने मान्छेहरू ,
आज टन्नै छन्,
उसलाई अवसर पनि पर्याप्त आउँदै छ
तर कता – कता ,
आजभोलि आँफैलाई भित्रै बाट खोक्लो भएको महशूस गर्दैछे;
मानौ उसले नारकीय जीवन ग्रहण गरिसकी !
आज ऊसँग अवसर भएपनि,
उ आँफै समस्त ज्ञान र विज्ञानको ज्ञाता भएपनी ,
पूर्ण रुपमा संसारनै उसको सोच अनुरुप चल्ने बातावरण भएपनी,
ऊ –
भित्रै देखी,
छिया- छिया भईसकी !
कारण ?
अवसरहीन वाल्यकाल,
अनी –
अवसरहीन युवापनले ल्याएको निराशापन !
आजकाल उसले समाजमा ग्रहन गर्ने क्षमता त देखाइन् ,
तर वाल्यकाल र युवावस्थामा जीवनको सुखद आयाम लिन नसक्दा
त्यसको मुल्य बुझ्ने अवसर नपाउदा,
उसको समस्त जीवन नै ब्यर्थ हुनगयो ।
केवल,
समाजको चित्त बुझाउनमै समय व्यथित गरेकी हुनाले
के यो मोनाको क्षमताको घाट हैन ?
अनी,
एक प्रकारको सामाजिक हत्त्या,
के यसको कुनै निदान छ ?
(स्रोत : एभरेष्ट दैनिक डट कम)