गीति कविता : तिमीलाई रोज्ने मन

~कृष्ण वस्ती~Krishna Wasti_1

छोऊँभने वैलाउने लाजवन्ती बाला ।
नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।।

हिर्दयको पीपलका हल्लाउँदै पात ।
तिम्लाई छुने बतासले लायो मलाई मात ।
एकैछिन अल्झिएझैं परेलीमा शीत ।
धर्तीमा कि छातीभित्र खस्यौ मेरो गीत ?
छोऊँभने…………………………………………

मझेरीमा साँझपख जग्मगाउने दीप ।
मुस्कुराई सिकाउँदी जिउँने मलाई सीप।
अँध्यारोलाई चिर्दै बग्ने उज्यालोकी धारा।
लेकबाट बेंसीतिर झर्यौ किन तारा ?
छोऊँभने…………………………………………

आँखाभरी लाली चढ्यौ मनकी चरी बोल्यो ।
तिमी गएतिरै बग्यो हिर्दयको खोलो ।
चौतारीको एक्लो बर पीपललाई खोज्छ ।
मेरो मन हजारमा तिम्लाई किन खोज्छ ?
छोऊँभने………………………………………..

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.