~ईश्वरचन्द्र ज्ञवाली~
खेम थपलियाको नाटकको मूल्यलाई उजिल्याउन सक्ने भूमिका लेखन मैले पूरा गर्न सकिनँ । लेख्ने मानसिकता छैन, परिवेश छैन, साधना पनि छैन । यस स्थितिमा नाटकको भूमिका लेख्नु मेरो निम्ति यातनाजस्तै भयो । म भूमिका लेख्न विवश भएँ । तसर्थ यो भूमिका नभई मेरो आनुभूत्यात्मक गन्थन भएको छ । मलाई माफ गर्नुहोला । गम्भीर लेखनको जमाना पनि हराउँदैछ र अखबारी लेखन, टाक्कटुक्क, फास्सफुस्स लेखनले स्थान जमाउँदैछ । जस्तो राजनीति छ, लेखन पनि उस्तै भएको होला– अभिसार लागेको जस्तो ।
कृष्ण सेन ‘इच्छुक’ को जीवनका कुरा गर्दा, मृत्युको कुरा गर्दा, वर्गबैरीप्रति पाइने अपार घृणाका कुरा गर्दा, वैचारिक निष्ठा, प्रतिबद्धता, समर्पण, बलिदानका कुरा गर्दा, अटल र अविचल आदर्शका कुरा गर्दा संवेदनाका छाल उर्लेर आउँछन् । भावना, पीडा, आक्रोश र प्रतिरोधका भाव जागृत भएर आउँछन् । इच्छुकका सपनाका कुरा गर्दा त्यहाँ थियो– औपनिवेशिक दासताबाट मुक्त स्वतन्त्र स्वाधीन स्वाभिमानी देश । शोषण–दमन–थिचोमिचो र गरिबीबाट मुक्त न्यायसमानताको संसारमा बाँचेको सर्वहारा वर्ग । एउटा महत्तम मानवताले सुशोभित भव्य र दिव्य साम्यवादी संसार । उनका सपनाले सधैैँ देशभक्तहरू र क्रान्तिकारीहरूलाई चिमोटिरहन्छ । उनको बलिदानले सधै प्रखर उषा उन्मेषित भइरहेको रक्तिम बिहानीको सूर्याेदयको क्षितिजलाई छुन लालायित गरिहन्छ । त्यो सेनको त्याग र निष्ठा अभिप्रेरक शक्ति र मुक्त सौन्दर्यको दीपशिखा झैं प्रदीप्त आलोकका रूपमा अभिव्यञ्जित भइरहन्छ ।
त्यो एउटा महान् पात्रको महान् गाथामा आधारित यो छोटो नाटकीय एकाङ्कीले पनि उच्च संवेदनालाई जगाइरहन्छ– हर्दम हृदयपलकमा । एउटा कठोर, निर्मम इतिहास खोतलिरहन्छ । नराधमहरूले चलाएको बधशालाको रक्तपिपासु चित्रको छायाङ्कन जस्तो लाग्ने यो सानो एकाङ्कीको नाटकीय दृश्यलाई खोलेका छन्– नाटककार खेम थपलियाले । महान् विषयलाई चयन गरेर महान् लेखनका माध्यमबाट, महत्तम् जीवन छवि उभ्याउन खोज्नु लेखकीय शिल्प र चयनको विशेषता मानिन्छ । नाटक जीवनको र साथै जीवनको विशिष्ट वा कलात्मक प्रतिबिम्बन पनि हो । यथार्थ घटनाका यथार्थ पात्रलाई जीवन्त प्रकटीकरण गर्न सक्नु मात्र नाटकीय लेखनको मूल्यवत्ता होइन, त्यसलाई कलात्मक वैशिष्ट्यद्वारा शैल्पिक चातुर्यका माध्यमले सामान्यीकरण गर्नु मूूल्यवत्ता ठहरिन्छ । नाटकीय घटना, पात्र, विषय, भावसँग दर्शकलाई तदाकार गर्दै ‘परस्य न परस्येति, ममेति न ममेति च’ (अर्कै पात्र हो तर अर्कै होइन, म पात्र हो तर म पनि होइन) भन्ने अन्य र आफूबीचको अभेद वा तादात्म्य सिर्जना गर्ने साधारणीकरण क्षमताले नाटकीय उच्चता अभिव्यक्त हुन्छ । नाटकको गरिमा पनि त्यही हो । राम र सीता पनि (उदात्तीकृत दैवी पावन पात्र), माता र पिता पनि (आदर्श र श्रद्धेय सम्मानित पात्र) नाटकमा दर्शक भावकसँग विलय हुनु साधारणीकरण नै हो । यहाँ पनि कृष्ण सेन ‘इच्छुक’ उच्च–आदर्श–सम्मानित पात्रको साधारणीकरणको प्रयास गरिनु राम्रो र असल कुरा हो । त्यसै कारण यो नाटक गुरुत्वयुक्त, गौरवशाली नाटक हो । सानो एकाङ्की । इच्छुकको जीवनको सानो अंशमा विराट भाव पोखिएको । त्यसो त इच्छुकको जीवन विराट् महाकाव्यभन्दा पनि ठूलो छ ।
इच्छुक मारिए– यो नेपाली इतिहासको एउटा जघन्य कलङ्क । कहिल्यै नमेटिने त्रूmर यथार्थ । युगयुगसम्म देश र जनतालाई माया गर्नेहरूले, स्वतन्त्रता र परिवर्तनलाई माया गर्नेहरूले, सारा निकृष्ट जन्जीरहरूबाट मुक्त संसार–परिकल्पना गर्नेहरूले यो त्रूmर यथार्थ कहिल्यै बिर्सनेछैनन् र परिवर्तन र मुक्तिका निम्ति सङ्कल्पशीलहरूले पनि कहिल्यै बिर्सनेछैनन् । वर्गमुक्तिको महायात्राका पथिकहरूले पनि बिर्सनेछैनन् । नेपाली समाजको एउटा कलङ्कित इतिहास– जसमा एउटा उदात्त कवि, निष्ठावान् यात्री, सूचित र जागृत गर्ने लेखक, पत्रकार, कलम घोटेर बाँच्ने र उज्यालो संसारको चित्र कलम, मसी र कुचीबाट कोर्ने निःशस्त्र–निरीह मान्छे, झोला बोक्ने शास्त्रको पथिकलाई कसरी त्रूmर दमन र यातनापूर्वक शस्त्रद्वारा लोकतन्त्रले टाउकाको मोलतोलका साथ हत्या गर्छ– को चित्र नै हो इच्छुकको हिरासतमा हत्या । पक्रिएर, हत्कडी लाएर, नेलमा बाँधेर, आँखामा पट्टी कसेर आफ्नो कब्जामा रहेको एउटा निहत्थालाई सबै मानवता, मूल्यको विद्रूपीकरण गर्दै जुन बन्दीगृहभित्र अमानवतापूर्वक हत्या गरियो, त्यसले ‘लोकतन्त्र’ को सारतत्व र स्वत्वको सत्योद्घाटन गर्दछ । कथित प्रजातन्त्रका मसिहा र भक्तहरूको अन्तर्यको पनि पर्दाफास गर्छ । यसलाई सङ्केत गर्दै नाटक भन्छ– “म मात्र एउटा सामान्य लेख्ने मान्छे हुँ । म एउटा राजनीतिक मान्छे चाहिँ हुँ तर मलाई कसैको बारेमा केही पनि थाहा छैन ।” यहाँ कृष्ण सेनलाई देशभक्त, राष्ट्रियताप्रेमी, स्वाभिमानी मान्छेका रूपमा चित्रित गरिएको छ । जसलाई उनकै कविताको नाटकमा उद्धृत अंशले पुष्टि गर्छ । यसले जनयुद्ध देशप्रेमको युद्ध पनि थियो भने स्पष्ट हुन्छ । कृष्ण सेन क्रान्तिका लागि मृत्युसँग नडराउने निर्भय व्यक्ति थिए भन्ने कुरा डीएसपीको केरकारमा व्यक्त संवादले भन्छन् । कृष्ण सेन निःस्वार्थ त्यागको प्रतीक थिए भन्ने कुरा उनलाई भावी जीवनको सुखी, समृद्ध र आनन्दको जीवन ग्यारेन्टी गर्ने सत्ताको आश्वासन र प्रतिबद्धताले नछुनुले प्रकट गर्छ । डीएसपी भन्छ– “तेरो सुखी जिन्दगीको ग्यारेन्टी हामी गर्छौँ ।” कृष्ण सेन सङ्कल्पित र प्रतिबद्ध अटल अथक क्रान्तिका यात्री थिए भन्ने कुरा उनको यो भनाइमा प्रकट हुन्छ– “हामी सिद्धिन तयार छौ“ तर बेचिदैनौ“ । हामी मट्टीमा मिल्न तयार छौ“ तर देश र जनतालाई धोका दिन सक्तैनौ“ ।” ‘ठकुरीले बनाएको देश’ मा सेन ठकुरी नै भएर पनि विद्रोह र हिंसात्मक सङ्घर्षमा सामेल भए । उनलाई जातभातको मतलब छैन– छ वर्गसम्बन्ध र वगैबैरीको । कृष्ण सेनमा जनताको क्रान्तिप्रति अटल विश्वास छ– क्रान्तिप्रति पूर्ण आस्था छ । उनी भन्छन्– “कुनै पनि देशद्रोही शक्ति चाहे त्यो जतिसुकै शक्तिशाली किन नहोस्, उसले हामीलाई जित्न सक्तैन । हामी कहिल्यै मर्दैनौ“ । हामीलाई कसैले मार्न सक्तैन ।” त्यसै सच्चा उद्देश्यले जनयुद्धलाई उचाइमा पु¥यायो र जनताको प्रेम–सहयोग प्राप्त भयो तर आज जनयुद्धकै एउटा पङ्क्ति त्यही इच्छुकको टाउको बेच्ने र हत्या गर्ने ‘लोकतन्त्रीय संसद्’ मा सामेल र विलय भइरहेछ र उसले इच्छुकको आदर्श बिर्संदै गएको छ भने अर्कातिर तीनसय जनाको जुलुस लिएर संसद पुनस्र्थापनाको ‘उदात्त’ मागसहित रत्नपार्कमा उत्रिएका तथा गणतन्त्र र संविधान सभाका प्रखर विरोधी प्रतिवर्गीय शत्रुहरू इच्छुकको रगतको ‘मजाक’ उडाउँदै सत्तामा हालीमुहाली, विदेशीको दलाली र परिवर्तनको हलाली गर्दैछन् । यसप्रति नाटकारको असहमति र विरोध छ । नेपथ्यको स्वरमा नाटकार भन्छन्, “यहाँ रातो घाम झुल्कन बाँकी नै छ । जनताको सत्ता आएकै छैन ।” देश दस वर्षको प्रसव वेदनामा त छटपटाएर बाँच्यो तर बच्चा भने मृत जन्मियो । यस भावधारालाई लेखक फरक शब्दावलीहरूमा स्वीकार गर्छन् ।
उनी (इच्छुक) मरेका छैनन् । उनी क्रान्तिका अजर–अमर आत्मा हुन् । यस स्थापनालाई उद्योत गर्छ नाटकले । यसको शीर्षकको सारतत्व यही हो । क्रान्ति यात्रामा यात्रीहरू थाक्छन्, गल्छन्, ढल्छन् । लड्छन्, हार्छन्, भाग्छन् र हुन्छन्–बाबुरामहरू झैँ । उनीहरू बाँच्दा बाँच्दै मर्छन् । हाँस्दा हाँस्दै रोइरहन्छन्– यो सत्य हो । परन्तु सहिदका सपना (उनीहरू) मर्दैनन् । क्रान्तिको अन्त्य हुन्न । सहिद मर्छन् र त बाँचिरहन्छन् । उनी (इच्छुक) पनि मरेका छैनन् । मरे र त बाँचिरहेका छन् । जनयुद्धका कतिपय नायकहरूको ज्यूँदै मृत्युले कहीँ सेन पनि बाँचेको भए मर्ने थिए कि भन्ने शङ्का पैदा हुन्छ । मरेकै कारण बाँचेको पो हो कि ? भन्ने भ्रम पैदा गर्छ तर त्यसो होइन । सहिदहरूको मृत्यु, मृत्यु हुन्न । उनीहरू विचारमा, सपनामा, गतिमा, यात्रामा, परिवर्तन र मुक्तिको महाकाव्यमा बाँचिरहन्छन् । उनीहरूको त्यही महागाथाले निरन्तर नयाँ युगको आह्वान गर्छ र त्यसको लागि युगैपिच्छे नयाँ मानव जन्मिरहन्छन् र परिवर्तन पनि भइरहन्छ । इच्छुकले देखेको वर्गविहीन, शोषणविहीन, राज्यविहीन, अन्याय र असमानताविहीन साम्यवादी समाजको निर्माणसम्म त्यो क्रान्ति मर्न सक्तैन । व्यक्ति मर्दा क्रान्ति मर्दैन । यसै पाटोलाई निष्कर्ष बनाएको छ– यो नाटकले । यसर्थ, यो नाटक आशा, जीवन, क्रान्ति, मुक्ति र परिवर्तनमुखी चेतनाको रचना हो । यही विचार पक्षले नाटक बाँचिरहनेछ । यसमा जुन त्रासद् परिवेशको चित्रण छ, त्यो इच्छुकको चरित्रको उदात्तीकरणका लागि सहयोगी छ । यहाँ जुन पात्रको चरित्र विकास गरिएको छ, त्यसले आदर्श चरित्रलाई केन्द्र बनाउँछ । सकारात्मक र नकारात्मक पात्रीय द्वन्द्व र परिवेशगत द्वन्द्वले त्यसो गर्न मद्दत गरेको छ । यहाँ विचारको द्वन्द्व सबैभन्दा महत्वपूर्ण छ । गलत विचारसँग सही विचार निर्भय युद्ध गर्दैछ । जसमा उज्यालो क्षितिजको विराट आलोक चकाचौध बन्छ । यो नाटक जे हुन सक्यो, त्यो छ । जे हुनुपथ्र्यो, त्यो बाँकी छ । लेखकको प्रयासलाई साधुवाद !
– ( प्रगतिवादी नाटककार खेम थपलियाद्वारा लिखित ‘उनी मरेका छैनन्’ नाट्यकृतिको भूमिकावाट )
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )