लघुकथा : बफादार कुकुरहरू

~रमेश प्रजापति~

मलाई कुकुरहरू मन पर्दैनथ्यो। तर समाज चोरी, डकैती, लुट, काटमारबाट आक्रान्त रहेको हुँदा एकदिन मन नपराई नपराई भए नि कुकुर पाल्न बाध्य भएँ। कमसेकम एउटा कुकुर भएपछि चोरी, डकैतीबाट मुक्ति पाइन्छ भन्ने विश्वास थियो। सौभाग्य भनौं वा दुर्भाग्यको कुरा, मेरो छिमेकमै बस्ने मनमोहनसँग थुप्रै कुकुर थिए। उसको घरमा यति धेरै कुकुरहरूको सङ्ख्या थियो, सायद त्यति उसको परिवारका सदस्यहरू पनि थिएनन्। लाग्थ्यो अरुले कुखुरा फार्म चलाएजस्तो ऊ पनि कुकुर फार्म चलाएर आफ्नो जीविकोपार्जन गर्छ। त्यसैले मलाई कुकुर खोज्न त्यति धेरै समस्या झेल्नु परेन। एकदिन फुर्सद निकालेर सबै कुरा बताएँ। ऊ खुसी भयो, मैले आफ्नो होइन उसैको मनको कुरा भनिदिए जस्तो। नभन्दै एउटा कालो मोटो घाटो कुकुर सित्तैमा दिई पठायो। सित्तैमा पाएपछि अरु के चाहियो? आखिर म पनि नेपाली न परें……. सित्तैमा पाए त …….। मनमनै गदगद् थिएँ, एक त घरको हेरचाह गर्ने सुरक्षा गार्ड पाएको त्यसमाथि सित्तैमा….।

समय बित्दै गयो। कुकुर पालेदेखि घरमा चोर पसेको त चाल पाइनँ। तर घरबाट विस्तारै कहिले कुखुरा गायव हुने, कहिले हाँस गायव हुन थाल्यो। हुँदा हुँदा मैले लाउने कोटदेखि स्वास्नीले लाउने पेटीकोटसम्म पनि गायव हुन थाल्यो। अचाक्ली भएपछि मैले मनमोहनसँग एकदिन मेरो घरमा पठाउनु भएको कुकुरले घरको राम्रो हेरचाह नगरेको गुनासो गरें। मनमोहनजीले हाँस्दै एक्लो भएकोले हेर्न सकेन होला भनेर अर्को भोटे कुकुर पनि पठाउनुभयो। ठिक्कै त होला नि भनेर त्यो भोटे कुकुरलाई पनि सँगै घर लिएर आएँ र पहिलेको कुकुरसँगै बाँधेा। दुईवटा कुकुर भएदेखि घरमा झन् तनावको स्थिति पैदा भयो। घरका सामानहरू हराउने क्रम झन् दोब्बर गतिमा बढ्यो। त्यसमाथि दुवै कुकुरहरू २४ सै घण्टा एक अर्कालाई भुकिरहने, मौका मिले टोकाटोक गर्न पनि बाँकी छोड्दैनथे। म फेरि आफ्नो समस्या लिएर मनमोहनजी कहाँ पुगें। सबै वृत्तान्त सुनाइसकेपछि उस्तै पाराले हाँस्दै त्यो दुईवटै कुकुरहरूलाई तह लगाउन अर्को दुईवटा कुकुर मेरो जिम्मामा दिई पठाउनुभयो र अब उप्रान्त सबै ठीक हुने आश्वासन पनि दिनुभयो। म आज्ञा शिरोपर गर्दै थप दुई कुकुरसहित घर फर्कें।

समय बित्दै गयो तर समस्या समाधान गएन। उल्टो समस्याले चर्को रुप लिन थाल्यो। अब त घरको झ्याल, ढोका र पर्खालमात्र चोरिन बाँकी रह्यो। चोरी यतिसम्म बढ्यो कि राति खाना खाएर लम्पसार परेर सुतेको खाट बिहान उठ्दासम्म त चोरी भइसकेको थियो। बिहान उठेर यसो हेरेको त हामी त भुइँमा पो रहेछौं। फेरि कुकुरहरूको झगडा पनि चौब्बर बढेको थियो। एकले अर्कोलाई भुक्ने, टोक्ने…..। भएन यो त अति भयो भनेर मनमोहनजीलाई नै एकदिन घर डाकें। उहाा लौरो टेक्दै हाम्रो घरको आँगनमा मात्र के झुल्कनु भाथ्यो……, एकछिन अघिसम्म भुक्दै, टोक्दै झगडा गरिरहेका कुकुरहरू आफ्नो डुम हल्लाएर सबै मनमोहनजीको अगाडि लाइन लाग्न पुगे। मुखबाट जिब्रो निकाल्दै उनको पाउ चाट्न पो लागे। मेरा आँखा झिमिक्क गर्न पनि मानेनन्। के भएको यो? पत्याउनै सकिरहेको थिइनँ। यतिका समय मेरै घरमा राखेर दूधभात खुवाएर पालें। मप्रति कहिले नि त्यति बफादार भएनन् तर आफ्नो पुरानो मालिकप्रति उनीहरूको बफादारिता देखेर म तीनछक्कमात्र होइन कति हो कति छक्क परें। रातभर निन्द्रा परेन। बिहान चिया खाँदै पत्रिका हेर्छु त समाचारको पहिलो पृष्ठमा भँगेरा अक्षरले छापिएको समाचार देख्छु – ‘खुर्सिदलाई भेट्न ठूला दलका नेताहरू द्वारिका होटलमा……”

(स्रोत : मजदुर दैनिक)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.