~सुरज काफ्ले ~
मन्दीर छ, घण्ट बज्छ बाहिर
अनि,
भित्र भगवान र पुजारी ।
ऊ उठ्छ विहानै,
हातमुख धुन्छ,
नपुगे चोखो हुन,
सर्वाङ्ग नुहाउँछ,
लाउँछ लुगा सबै नयाँ,
तर पाउँदैन छिर्न मन्दीरमा,
धैर्यताको सीमा फुट्छ, बन्छ क्रान्तिकारी ।
दिनभर चल्छ, मेसिन त्यो सिलाईको,
अनि,
राप बनाउन तानेको आरन सँगै
रुप बदल्न फलाम ठोक्ने त्यो घन,
काँडा, छड्के, गिट्टीबालुवा छेकिदिन्छ,
साहुका खुट्टालाई घोच्ला कि सम्झी,
सायदै एउटा सुन्दर फलको आश होला,
घरमा अभावले भोक नै उपहास होला ।
तर बालीघर कहलाई तौलिन्छ बिनामोल,
सेवकको सीमा फुट्छ, बन्छ क्रान्तिकारी ।
एउटा ठूलो, सुन्दर परिवार
अनि,
भोका र छिद्रा त्यी अनुहारहरु,
ऊ डट्छ, पसिना बगाउँछ सबैका लागि,
काजीसाप भन्दै ढोगिढोगी ।
फलाई दिन्छ मुरीमुरी, बाँझो उसको फोडी,
तिन रात बन्ने दुई दिनहरु पछि,
भोक र प्यास मेट्ने आशाको वदलामा
चारमाना पाउँछ छाक टार्नलाई,
आशाको सीमा फुट्छ, बन्छ क्रान्तिकारी ।
खाली छन् कुर्सी
अनि,
पद र दक्ष कर्मचारीहरु
ऊ पढ्छ तनमन लिएर
खुलेका रिक्त पद सोची ।
नाम छपाउन अनिधो बस्छ कति कति,
छापिएको नाम, दर्ता गराउन ।
छैनन् उच्च पदमा आफ्ना,
बन्दैन, उसको नाम दर्ता ।
पर्खाइको सीमा फुट्छ, बन्छ क्रान्तिकारी ।
कति छन् कति पीडित
अनि,
स्वतन्त्रता आफ्नो नदेखेकाहरु,
अली मात्र भए पनि चेत भएकाहरु,
आफ्नो अधिकार छ भन्नेहरु,
खुल्ला आकाशको चन्द्रमा त्यो,
खुल्ला आकाशका तारा त्यी,
हेर्न पनि डराउनेहरुलाई
अब तिमी लड्नुपर्छ भन्छन् ।
अनि सब बन्छन् क्रान्तिकारी ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )