~राजकुमार श्रेष्ठ ‘दीप’~
गयौ तिमी सबलाई छाडी बिदै नमागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
यात्रा तिम्रो अनन्तको अनायसै थाल्यौ
आफन्तको मायालाई चुडाएर फाल्यौ
झुक्कीएर उठ्यौकी पो पालै नलागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
हिजोसम्म भन्थ्यौ आउ सँगै मारौ बात
सुख दुःख जीवन हो बाचौँ एकै साथ
नभनिनै गयौ तिमी के के थियाे बाँकी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
दुख्ने रैछ मन सारै चोइटीएर झर्दा
के मिल्थ्यो र तिम्रो ठाउँ अरु चिजले भर्दा
खाली रहोस् दुखोस् घाऊ खाटो नलागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
जुन्किरी भै घुम्दैछौकि या त बन्यौ तारा
देव भयौ मनमा रह्यौ सधैँ सबका प्यारा
रहिरह्यौ चीर निद्रामा जाग्दै नजागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
गयौ तिमी सबलाई छाडी बिदै नमागी
निभाई दीयो दैलोको, दैव निष्ठुरी !
(बेलायत २०१४)
(स्रोत : सत्यतथ्य मासिक)
