~लक्ष्मी प्रसाद देवकोटा~
क.
तारीफका कति कुसुम फुलेथे, यात्राको उपवनमा ।
अरुले आँखा रमाए !
तिमी कुसुमका रुपसँगैमा, काँढा पनि भै मीठो मनमा !
पूरा दिलले अपनाएँ ।
अरुले पाए अरुझैँ तिमीकन, मैले अलौकिक देखेर
आफू भनीकन अपनाएँ ।
ख.
मिरमिर पहिलो वृन्दावनमा फागु कसैसँग खेलेँ जरुर !
सम्झनाझै क्यै आयो !
गौरी–शङ्कर चुचुराउपरमा गमिरहेथेँ कोही युगमा
एक दीपले बोलायो ।
त्यस्तै तिमी छौ घुमिरहेको दीपशिखा ली गिरी, समथर,
सुन्दरताको चोला यो,
सम्झन कहिले कसका लागि, अखण्ड अग्निमा गै बालेको
रुपज्वाला होला यो ?
ग.
लुकामारी खेलिरहेथेँ कुनै सँगीसँग कोही युगमा
होला धराको फेला यो
नौलोपनको ताजमोहनी चाख्न भनीकन गरी प्रतिज्ञा,
जरुर ! परस्पर !
नचिनेझै भएको होला यो !
तडपन पाउनु प्यारको दिलमा प्यारको ज्यादै मधुर विलास !
त्यसले, तिमीले भेटी, मैसँग,
चूप भएको होला यो !
घ.
आफू आधा पाएँ मैले ! आगा कता हो भन्दै गुन्थेँ ।
सिङ्गुलो मिलनको बेला भो
वियोगवेला चिरिएँ फेरि ! मसिनो करौँती लागेजस्तो !
उत्तर देऊ ! किन होला यो ?
ङ.
बुनिरहेका सपनाजाली, सुन्दर, सुन्दर, मन–माला,
तृष्णावनमा अकेला यो !
अरुका गलामा चढ्न सकेनन्, आफैँ चढेथे तिम्रो गलामा !
अचेत तिमी त्यो पहिरी भाग्यौ !
सचेत, नगर्नु हेँला यो ।
च.
आयौ एउटा रङ्ग दुगुरेझैं बादलमाथि, दुनियाँमाथि,
एकान्त चट्टै सेलायो !
मौन गुँज्यो ! गुलजार भयो तब शून्य, नयाँ भो दुनियाँ !
बोल्यो गजब दिल–बेला यो !
विश्व बिलाए बिन्दु बनी तब बिन्दु फुरे भै विश्व–ध्वनि !
झल्याकझुलुकको मेला भो !
छ.
तारा रोपिरहेछु जमीनमा, उपवन दिव्य हुँदो छ तयार !
आफू नामको चढाइरहेछु, झन्, झन्, बुझ्दै,
रङ्गीचङ्गी सब संसार !
आत्मा आत्मा सुन्छन् भन्छन् सारा पुकारा, तैपनि सन्की,
(व्यवहारको यो स्तरमा बसियो !)
लेख्तछु ! स्वीकार होला यो ?