~लक्ष्मण श्रेष्ठ~
ए देवता !
खुरुक्क बाहिर निस्क
मन्दिरको त्यो खोपीबाट
तिमीसँग धेरथोर कुरा गर्नु छ
हिसाब गर्नु छ
चढाएको प्रसाद
कसले खान्छ पुजारीले कि तिमीले?
चढाएको भेटी कहाँ जान्छ कसको खल्तीमा?
किन हुकुम गरी बस्छ सधंै हामीलाई
त्यो मन्दिरको भट्टे पुजारी?
जतिसुकै व्यभिचार गरे पनि
किन कहिल्यै लाग्दैन दाग
उसको श्वत परिधानमा?
अनि सोध्नु छ किन कहिल्यै काम लाग्दैनन्
तिम्रा वाणीहरु जिन्दगीको कुरुक्षेत्रमा।
घण्टीको आवाजले
सुन्नै छोडेका छौ कि कतै
पुजारीको तन्त्रमन्त्रलाई छोडेर
अब हाम्रो निम्छरो आवाज पनि सुन
भेटी, प्रसादको रासबाट उम्केर
अब सुधामाहरुको जीवन छाम
साँच्चि छौ भने देवता तिमी
लौ मन्दिरबाट बाहिर निस्क
ए देवता !
खुरुक्क बाहिर निस्क भर्खरै
तिमीसँग मलाई दुईचार कुरा गर्नु छ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)