कविता : टाउकाे तातिएपछि

~बलदीप प्रभाश्वर चाम्लिङ~Baldeep Prabhashwar Chamling

बुझ्ने कुरा बुझियाे
बुझेपछि टाउकाे तातियाे ।

टाउकाे तातिएपछि
यी खुट्टाहरू
पछ्याउन हाेइन, हिड्न खाेज्छन्,
टेक्न हाेइन, कुल्चिन खाेज्छन्,
अडिन हाेइन, पुग्न खाेज्छन् ।

तसर्थ
आयतन बढाएर राख, हे मैले हिड्ने भर्जिन बाटाेहरू हाे !
कात्राे बाँधेर राख, हे मैले कुल्चिने नश्लीय टाउकाेहरू हाे !
मैले पुग्नैपर्नेहुन्छ त्याे “अपहरित गन्तव्य “।

टाउकाे तातिएपछि
यी आँखाहरू
हेर्न हाेइन, नियाल्न खाेज्छन्,
देख्न हाेइन, निगरानी गर्न खाेज्छन्,
आँशु हाेइन, तेजाब ओकल्न खाेज्छन् ।

टाउकाे तातिएपछि
यी हातहरू
सलाम हाेइन, मुक्का बन्न खाेज्छन्,
सुम्सुम्याउनु हाेइन, निचाेर्न खाेज्छन् ।

टाउकाे तातिएपछि
याे मुख
बाेल्न हाेइन, गर्जन खाेज्छन्,
गाउन हाेइन, सम्बाेधन गर्न खाेज्छन् ।

गीत त आखिर जेलभित्रकाे कैदीले पनि गाउछन्,
भजन त आखिर वधशालाकाे जल्लादले पनि गाउछन्।

टाउकाे तातिएपछि
याे प्रजनन अंग
“दास” हाेइन, “छाेरा” जन्माउन खाेज्छन्,
“साधन” हाेइन, “छाेरी” जन्माउन खाेज्छन् ।

टाउकाे तातिएपछि
याे सिंगाे ज्यान
पिछलग्गु हाेइन, समकक्षी बन्न खाेज्छन्,
संञ्चालित हाेइन, स्वचालित बन्न खाेज्छन् ।

बुझ्ने कुरा बुझियाे
बुझेपछि टाउकाे तातियाे ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.