~नेत्रबहादुर कुँवर ‘अशोक’~
हरेक दिन
गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ
सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार
जिब्रो स्वाद लिन चाहन्छ
र बनाउँछु भन्छ–सुली ।
गिद्ध धूर्त छ
गिद्ध साँच्चै गिद्ध छ
ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ
बरु बदलामा भनि दिन्छ
युग पुरुष, ऐतिहासिक सहिद ।
नगर्चीलाई कहिँकतै अमिलो दुखाइ
र पनि
मुस्किलैले एक अञ्जुली गुलियो हाँसि दिन्छ
अधिकारकर्मीहरू भन्छन्
नगर्चीले हक छिन्नु हुँदैन
निमक हरामी बन्नु हुँदैन ।
यो युग गिद्धको हो
गिद्धको साम्राज्यको हो
त्यसैले
मान्छेलाई गिद्ध बनाऊ
गिद्धलाई मान्छे बनाऊ
उसको मूल मन्त्र
समानता ल्याऊ, विभेद हटाऊ ।
शासक गिद्धकै
शासन गिद्धकै
नगर्ची टुँडिखेलमा
गिद्धद्वारा कङ्काल पारिएपछि
उसले स्वीकार गरेको थियो
‘मालिक म बौलाएँ’
शासकहरूले उनलाई
गिद्धे रेस्टुरेन्ट पु¥याइ दिए ।
प्रयोगशालामा प्रयोग भयो
नगर्चीलाई गिद्धले लुछेपछि
नगर्ची स्वयम् गिद्ध बने
गिद्धको संख्यामा वृद्धि भयो
तैपनि गणकहरूले भन्न छाडेनन्
गिद्धको संख्या छिनियो
गिद्धको भूमि छिनियो
आज शङ्का लाग्न थालेको छ
कतै ती गणकै पनि गिद्ध त भएनन् ????
यता गिद्ध बुद्ध देखाउँछ
नयाँ बुद्ध गिद्धकै वकालत गर्छ
गिद्ध हँसाउँछ बुद्ध हाँस्छ
गिद्ध नचाउँछ बुद्ध नाँच्छ
म न्याय माग्छु–
बुद्ध हाँस्छ
म अन्याय माग्छु–
बुद्ध नाँच्छ
समदर्शी ऋषिमन
उत्तर आधुनिक बुद्ध जोकर बनेको छ ।
हरेक दिन
गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ
सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार
जिब्रो स्वाद लिन चाहन्छ
र बनाउँछु भन्छ–सुली ।
(जनवादी सिद्धान्त अनुसार कविता बुझ्न अझै सरल होस् भनी यहाँ कवितामा प्रयोग भएका केही बिम्बहरूको खास सान्दर्भिक अर्थहरू समेत प्रस्तुत गरिएको छः–
गिद्ध– भारत र भारत परस्त नेपाली नेता
नगर्ची– सोझासाझा नेपाली जनता
टुँडिखेल– अभावको रमिता भएको क्षेत्र
उत्तर आधुनिक बुद्ध – कथित बुद्धिजीवी जो नेपालमा बसेर भारतीय बोली बोल्दछ)
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )