~लक्ष्मी माली~
श्याम स्वेत जीवन
रंगीन सपनाहरु
पलप्रतिपल आँखामा तृष्णाहरु
भावनाका परिधिभित्र गुम्सिँदै
ढाेंग र नाटकमा
कति जिउने
त्याग, तपस्या र बलिदान
के को लागि, किन र कसको लागि
समयलाई हत्केलामा बन्द गरेर
शून्यतालाई अंगालेको जीवन
सप्तरंगी इन्द्रधनुषको चित्र किन कोर्ने
जीउन मन लागेको छ त
भरपुर रंगमा जिउने हो
पिउन मन लागेको छ त
मनभरि खुसीमा पिउने हो
मनलाई मारेर
इच्छालाई दबाएर
किन श्याम स्वेत जीवन जिउने
बग्न दिउँ समयको गतिमा
उप्कन दिउँ भ्रमका पानाहरु
आऊ एउटा
यथार्थ जीवन बाँचौँ ।
(स्रोत : समरेखा द्वैमासिक)