~बासुदेव बुढाथोकी ‘सागर’~
नेपालरूपी पवित्र धाम यहीँ झर्न मन छ;
तिमीसित बाँची तिम्रै काखमा मर्न मन छ!
अब पनि टाढा बस्न सकिन्न सान्नानी;
वारि-पारि पार्ने खोली छिट्टै तर्न मन छ!
कति ढुक्ने,कति लुक्ने माया गर्न पनि?
दुनियाँले देख्ने गरी डेरा सर्न मन छ!
देखेको छु दु:खहरू कति सह्यौ कति!
जसरी नि तिम्रा दु:ख सबै हर्न मन छ!!
छताछुल्ल पोखिएको छरिएको माया!
थोपाथोपा सँगालेर ‘सागर’ भर्न मन छ!!