कविता : समुद्र

~कमन देवान~Kaman Dewan

सूर्यलाई निभाउने दम्भमा
ब्रमाण्ड नै डुबाइदिने धक्कु दिएर
समयकै विरुद्ध धावा बोल्छ
अनि
आफूलाई सर्वशक्तिमान ठान्छ ऊ
तर बिर्सन्छ
थोपा थोपा शीतहरुले बनेको भनेर
आफू मात्रै महान् हुँ भन्छ
तर बिर्सन्छ, कन्धराहरु रसाएर चुहिएको
अनि
ऊ भन्छ आफूलाई महासागर
तर बिर्सन्छ खोल्साहरुको सुस्केरालाई ।

आफ्नो आयातनमा गर्व गर्ने ऊ
आफ्नो फैलावटमा घमण्ड गर्ने ऊ
आफ्नो सामथ्र्यमा पुलकित हुने ऊ
बिर्सन्छ नदीहरुको अनवरत यात्रालाई
झरना र छाँगाहरुको गीत र लयलाई
पहाड र पहराका नागबेली र घुम्तीहरुलाई
समथर मैदानका किनाराहरुलाई
अनि बिर्सन्छ, भल, बाढी र वहावलाई ।

वस् ऊ उन्माद मात्रै गर्छ
कि ऊ सबै थोक हो
जीवन हो, मृत्यु हो
सभ्यता हो, सृष्टि हो
अझ बढेर उसले भन्छ
कि ऊ सुनामी हो
ऊ दावा गर्छ
कि ऊ छालहरुको
महासंग्रम मच्चाउन सक्छ ।

यथार्थमा
ऊ, जो हलुङ्ग बादलको सनतान हो
ऊ जो हावाको सन्तति हो
अनि ऊ जो अरुकै मेहनतको प्रतिफल हो
आफूलाई समुद्रको धक्कु दिन्छ
जीवनका निम्ति
एक थोपा पिउन नमिल्ने पानीको थुप्रोमा
साम्राज्य छ भन्दैमा
उसले सँधै किन बिर्सन्छ हँ !
उसको त्यो नुनिलो दहमा
पुर्खौंपुर्खादेखि
मान्छेका खरानी पनि त मिसिएका छन्
हामीले बगाएको पसिना मिसिएको छ
उसले किन बिर्सन्छ हँ !
संसारका दुःखीहरुले
मन बुझाउन खसाएका
असंख्य दुई थोपा आँशु पनि त
त्यहि समुद्रमै मिसिएको छ भनेर !

संघीय गठबन्धनको जारी रिले अनसन कार्यक्रममा १७ औं दिन पत्रकार कमन देवानले वाचन गर्नुभएको कविता ।

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.