कविता : छिमेकी

~शुशिलचन्द्र लम्साल~Sushil Chandra Lamsal

ऊ मेरो छिमेकी
म उसको छिमेकी
तर मेरो छिमेकी आजकल सुत्दैन क्यारे
रातमा आवाज आइरहन्छ , आइरहन्छ
मेरा नेत्रनयनले दुख पाईरहन्छ , पाईरहन्छ
म सुन्दैछु ऊ आफुमा लुम्बिनी देख्न चाहन्छ
इतिहास बदली लेख्न चाहन्छ
तर उसले बुझेन
तर उसले बुझेन , सत्य पैसाको बिटा मात्र होइन
मेरो लुम्बिनी थुप्रेको इटा मात्र होइन
जान्नु पर्थ्यो उसले
इश्वर हाम्रै आसपास हुन्छ
पवित्र मुटुमा उसको बास हुन्छ
झुटको सधै पर्दाफास हुन्छ
बुद्धको हासो यहि छ
बुद्धको नासो यहि छ
त्यसैले मेरो छिमेकी जाग्राम बस्दै गरोस
म विस्तरामा परमस्वप्न देखिरहने छु , देखिरहने छु ।

मेरो अर्को छिमेकी
म पनि उसको छिमेकी
बाटोमा हिड्दा बोलाईरहन्छ , बोलाईरहन्छ
तर सशंकित यी आँखा टोलाईरहन्छ , टोलाईरहन्छ
सुनेको
फकाउदै फकाउदै मलाई मनाउन चाहन्छ
यी अग्ला हिमाल आफ्नो बनाउन चाहन्छ
तर उसले बुझेन
प्राण आत्मा हो शरीर र जिउ मात्र होइन
हिमाल स्वाभिमान हो पथ्थर र हिउँ मात्र होइन
सोच्नुपर्थ्यो उसले
सौम्य गिरि हिमाल आफैंमा खास हुन्छ
पहिचान हराए सबैथोक नाश हुन्छ
आफैंलाई बेच्ने संसारकै दास हुन्छ
हिमालको इज्जत , साख यहि छ
हिमालको शिर , काख यहि छ
त्यसैले मेरो छिमेकी चक्रब्यूह रच्दै गरोस
मा गौरवगाथा लेखिरहने छु , लेखिरहने छु
विस्तरामा परमस्वप्न देखिरहने छु , देखिरहने छु ।

ए मेरा छिमेकी ,
स्यालमाथि बाघको खोल नलगाऊ
यतादेखि उता पोल नलगाऊ
मेरो घरबार माथि मोल नलगाऊ
किनकि ,
मसंग, वीरताको आफ्नै निशानी छ
प्राकृतिक छटाको खानी छ
मेचिकालीको पानी छ
कपट छल के साच्छौ ? डाँफेझैँ नाचेर देखाऊ
त्यो नाथे पिल्लर के भाच्छौ ? मेरो पाखुरा भाचेर देखाऊ
भन्नैपर्दा ,
हिमालजस्तो अग्लो मन चाहिन्छ
माटोसंग जोडिएको आफ्नोपन चाहिन्छ
अब ,
सुस्ताको साधमा म बोल्छु
कोशीको बाधमा म बोल्छु
जिउदाका जन्ती मर्दाका मलामी हौ
तर पनि
घरभित्र पस्न छेकिरहने छु , छेकिरहने छु
गौरवगाथा लेखिरहने छु , लेखिरहने छु
रातभर तिमि जेसुकै गर
विस्तरामा परमस्वप्न देखिरहने छु , देखिरहने छु ।।।

(स्रोत : Samyantra.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.