~एल.के. सुन्दर~
पश्चिम नेपाल कञ्चनपुर,
दार्चुला, अनि
पूर्वी नेपाल पाल्पासहित
दर्जनौं जिल्ला र
गाविस जलमग्न।
बाढीपहिरो, दैवी प्रकोप
छिमेकीको कुनियत
सयौंको उठिबास
कैयौंको ईहलिला समाप्त।
पत्र–पत्रिकामा समाचार छायो।
राजधानी काठमाडौंको
अफिस, अफिस
होटल, रिसोर्टमा गोष्ठी
सेमिनारको बाढी।
मन्त्री, सचिव
अधिकारीहरूका पुरानो दौरा सुरुवालको
थान्को लगाउने होडबाजी।
राहतको दररेट
प्रतिमृत्तकको नाउँमा पच्चीस हजार रुपैयाँ
प्रतिघाइतेको नाउँमा पाँच हजार रुपैयाँ
प्रति विस्थापितको नाउँमा पच्चीस सय रुपैयाँ
परिवार सङ्ख्या हेरी,
दुई किलो चिउरा
एक किलो नुन
दुई गाँठा प्याज
तीन कोशा खुर्सानी।
बाढी पहिरोग्रष्त
संवेदनशील क्षेत्र
उद्धारकर्ताको जीउ ज्यानको सुरक्षा
दैनिक पाँच हजार भत्ता
दस लाखको बीमा
हेलिप्टरको सुविधा।
कसले कसलाई पठाउने
कसले कसलाई सिफारिस गर्ने
आ–आफ्नो हात जग्गनाथ।
भागबण्डामा मिलाउने कि
जसले सक्छ त्यसले पठाउने
भनाभन र
हानथापबीच हात हालाहाल
विनानिष्कर्ष बैठक स्थगित।
(स्रोत : मजदुर दैनिक)