~रमेश खड्का काशी~
प्रियसी …
खै के भनेर सम्बोधन गरु म, मायालु भनू त मायारुपी शब्दहरु पनि जलेर खाग बनेको सरिर संगै जलिरहेछन, प्रियसी भनु त दाम्पत्य जीवनको दश वर्ष बित्दा पनि तिम्रो प्रिय हुन लायक बन्न सकिन ,श्रीमति भनौ त स्वयम्बरका मालाहरु ओइलाईसके , बस तिमीलाई कुसुम भनेर सम्बोधन गर्न चाहन्छु म ..
कुसुम, आज यो पत्र तिम्रो वियोग पछिका आसुहरुले लेख्दै छु म , हुन त् तिमि रंगीन दुनियामा रम्दै मलाइ नि भुली सकेकी होलियौ तर तिम्रो यो किरण तिम्रै स्पर्षहरुको अनुभूति गर्दै दिन काट्न बिबस छ । कुसुम ,हुनत म तिम्रो श्रीमान हुन लायक नि थिइन, थियो त केवल तिमि प्रतिको चोखो माया, म कहा गाउको धुलो मैलोमा हुर्किएको मान्छे तिमि संसारिक महलमा पढेलेखेकी सुन्दर युवती, मैले तिमीलाई श्रीमती भन्न पाउनु नै मेरो भाग्य थियो तर तिमीलाई जीवनका यात्राहरुमा संगै नपाउनु मेरो दुर्भाग्य भयो ।
कुसुम,सायदै तिमीले त भुलेयौ होला ति अतित हरु ..
सिमसिम झरी परेको दिन …तिमि छाता ओड्दै स्कुल गएकी .. म बिदेसबाट छुटीमा नेपाल आएको अनि बिबाहको लागि केटी हेर्न भनेर तिम्रो घरै नजिक आउदा तिमि लजाउदै स्कुल नै नगई घर फ़र्किएकी । मैले त सोचेको थिएँ-भगवान पनि कती दयालु सबै कुरा ले भरिपुर्ण कुसुमलाई नै मेरो लागि जुराई दिनु पर्ने ..अझ तिमीले त भुल्यौ होला,तिम्रो घरमा पुग्ने बेलामा तिम्रा बाले हुनेवाला जुवाई राजालाई पानी देउ कुसुम भन्नु भएको … ।
साचै नै तिम्रा बाबाले आफ़ुनु छोरीलाई भन्दा धेरै बिना सम्बन्धको मान्छेलाई खयाल गरेजस्तो लगेको थियो त्यतिबेला मलाई ।
कुसुम , यस्तै यस्तै तवरले हामी बैबाहिक सम्बन्धमा गासिएका थियौ, अनि हाम्रो सम्बन्ध पनि अरुको आखामा एक उदाहरण बनेको थियो …
असोजको महिना जताततै हरियाली मौसम .. चाडपर्बले गाउघर रमाइलो बन्दै गइरहेको थियो । अनि मेरो छुट्टी सकेर दुबई फर्किने समय झन् झन् नजिकिदै गएको थियो । तिमीले भनेकी थियौ ‘’किरण तिमि बिना म कसरी बसु ? मेरा हरेक अंग अंगमा केवल तिम्रो स्पर्षले बास बसाइ सक्यो, अब तिमि बिना म एकपल नि बाच्न सक्दिन किरण “ ।
हो कुसुम यहि बिदाइको अन्तिम शब्दले म तिमीलाई मरुभूमिको बिकसित सहर दुबई बोलाउन बाद्य भएको थिए । मलाई थाहा थियो-परदेशको ठाउँ त्यसमा पनि दुबई जहाँ हरेक परिवारको दाम्पत्य जीवन भित्र धमिलोपन रहेको हुन्छ तर पनि संगै जिउने र संगै मर्ने कसम खादै मैले तिमीलाई दुबई लिएर आएको थिए कुसुम ,समयको खेल भनौ या कमजोरी, तिमीलाई खुसी दिलाउन मैले मेरा हर मिहिनेतका हातहरु खर्ची रहे निरन्तर .. खर्ची रहे कुसुम ।
तिमीलाई यो पनि थाहा थियो कुसुम म केवल तिम्रो रहर र आवश्यकता पुरा गर्न महिना भरीको तलबले नपुग्ने हुदा हुदै पनि तिमीलाई दुबई लिएर आएको थिए । यहि कम तलबले यो बिकसित देशमा मैले तिमीलाई खुसी पार्नु थियो तर मैले तिमीलाई कहिलै यो कुराको महसुस गर्ने मौका दिएको थिइन । अनि वाध्य भएर मैले गैर कानुनी रुपमा बिदेसिहरुको सहयोगमा अन्य कामहरु पनि गर्थें, जसबाट प्राप्त पैसाले म तिमीलाई खुसी राख्न चाहन्थे कुसुम.. ।
कुसुम.. यहि पैसा को लोभ र प्रलोबनामा परी अन्य देसको मान्छेहरुको भिसा निकाल्ने काम गर्थे जुन कुरा तिम्लाई भन्न सकेको थिइन , जसको कारण अन्तत म पुलिसबाट पक्राउ परें । अनि तिमिबाट अनयासै छुटन पुगे तर यो मेरो रहर थिएन कुसुम .. ।
मैले मेरो यथार्थ तिमीलाई सुनाउन चाहदा चाहदै पनि असम्भव भयो । यो पत्र पढ्न पाएु भने भने पक्कै मेरो बास्तबिकता बुझ्ने छौ । कुसुम , जब म पुलिसबाट पक्राउ परें, अनि मलाई ३ महिना जेलमा राखियो, त्यस बखत मलाई कोहीसंग नि सम्पर्क गर्न दिइएन । त्यसपछि नेपाल पठाइयो । हाल म नेपालमा छु आफ्नै . देशमा रहेर पनि घर परिवार भन्दा टाडा छु . किनकि अब मेरो लागि नाजवाफ प्रश्नहरु छन । यसका उत्तरहरुको प्रतिक्षामा दिनहरु काटी रहेको छु कुसुम ।।
म नेपाल मा रहेको पनि २ साल बिति सक्यो ,न त् तिमि नेपाल नै फर्किएकी छौ , न त् फोन सम्पर्क नै भएको छ । सुनेको थेँ तिमीले अब त अर्को परपुरुससंग नजिकिइ सकेकी छौ रे । म जेल परेपछी त्यही पुरुषले तिम्लाई सहायता गर्यो रे । आवश्यकता र रहरहरु पनि उसैले पुरा गरिदिन्छ रे । तर कुसुम…क्षणिक निर्णयले बर्तमान रमाइलो हुन सक्छ तर जीवन भर सुख हुन्न । भबिस्य त कसले देख्न सक्छ र हैन र ?
सुनेको छु कुसुम … तिम्रा बारे तारिफहरु । तिमी हेर्दैमा सुन्दर र चंचल स्वभावकी अनि तिम्रो नाच्ने र गाउने बडो सोख .. । आजकल त दुबईका नेपालीहरुमा राम्रो दर्जाकी कलाकारमा नाम पनि कमाएकी छौ रे । …के गर्नु तिमीले स्मृति नगरे पनि मेरो त कर्तब्य पनि हो तिम्रा हर-पल ,पल-पल भलाई सुन्न चाहन्छु कुसुम ।
कुसुम …
सायद तिमी त सुखको संसारीक महलमा रमेकी हौली । ..अनि मसँग हुँदा भन्दा धेरै माया र ममतामा परेकी हौली तर मेरो मायामा केही खोट थिएन कुसुम । … जे गरेको थिएँ , केवल तिम्रो लागि गरेको थिएँ । आज किन यति छिटो तिमी परिबर्तन भयौ ? मलाई माया नगरे पनि एक पटक फोनमा कुरा गर्न त सक्छौ नि । …हुन सक्छ मेरो यो खस्रो आवाज तिमीलाई सुन्न लायक नहोला तर तिम्रो कोइलिको जस्तो स्वर म कहाँ भुल्लं सक्छु र कुसुम ?
आत्मिय कुसुम ..
अन्तमा यो प्रकास दिन छोडेको किरणलाई बिन्ति भुल्ने कोसिस नगर । ..बिगतलाई सम्झेर बास्तबिकता बुज्ने कोसिस गर कुसुम । अनि क्षणिक रमझमलाई भुलेर पुन नेपाल फर्की देउ .. । अब त २ बर्ष भैसक्यो । तिम्रो प्रतीक्षामा तिमी आउने बोटो कुरेर बसेको पनि । तिम्रो बाबा र आमाले छोरी लाई लिएर आउनु भन्नु भएको पनि धेरै भैसक्यो । मैले जागिरबाट छुट्टी मिलेको छैन भनेर ढाटी रहेको छु । अब त
ढाट्दा ढाटदै आफै म थाकी सकेको छु । कुसुम ..चाडै तिमि आउने दिनको पर्खाइमा कुरी रहेको छु । दुबईको सुन्दरतालाई बिर्सिएर चाडै नेपाल फर्की देउ किनकि अस्ति मात्र पल्लो घरअकी कान्छीलाई निको नै नहुने रोग लागेर आर्य घाटमा जलाएको आसुहरु ओभाएको छैनन् । अनि डाडागाउकी माइलीको सरीरैभरी निलडाम गाउलेहरुले देखि रहेकै छन् । कतै तिमि पनि त्यस्तैमा परी म तिमी वियोगमा छटपटाउनु पो पर्ने होकी भन्ने चिन्ताले मलाई सताईरहेको छ । हाम्रा सपनाहरु कालो आकासमा मडारिने पो हुन् कि भन्ने डर लागि रहेको छ, किनकि तिमी र मैले त सात जन्म संगै जिउने मर्ने कसपो खाएका छौ त , तिमीलाई यहि गाउ-घर, बेसी र पधेरीकी कुसुम भएको हेर्न चाहन्छु म । त्यसैले कुसुम तिमी चाडै फर्की देउ । म तिमीलाई पर्खि रहने छु । बस् तिम्रो मायाको ज्वलन्त उदाहरण बनी रहने छु, तिमी चाडै फर्की देउ ।
उही तिमीलाई माया गर्ने
किरण
(स्रोत : Samyantra.com)