रामचन्द्र कार्कीका ४६ मुक्तकहरु

~रामचन्द्र कार्की~Ram  Chadra Karki

१.
आँशुको मुल्य बुझ र बोल,
मनको देउता पूज र बोल ।
निर्धालाई अब हँसाउ अनी,
पहाड सँग जुझ र बोल ।

२.
सक्छु भन्छौं मलाई ढाँट्न, मनभित्रको ईश्वर हेर,
जता फर्क हामी तिम्रै, सोचि देउन एकफेर ।
एउटै संसार तिम्रो हाम्रो इच्छा मात्रै फरक होलान्,
हाम्लाई मृग पाठो ठानी बन्न छाड्देउ तिमी शेर ।

३.
सक्छौ भने जिन्दगीमा हाँसो बोकी मीत बन,
आँधी हुरी पाखा लगाई बिहानीको शीत बन ।
कठाङरिने पुसे ठण्डी, लु सगै चैते हुरी,
दया माया बुझ्ने भए, चौतारीको गीत बन ।

४.
सधै तल झर्दा झदै, बिर्से कस्तो हुन्छ,
इनारबाट चिच्याईराछु, तानि देउन साथी ।
गैरी खेत टारी बन्यो, पानी माथी बग्यो,
मानो मात्रै फल्यो हजुर, बिउ छर्दा पाथी ।

५.
फोड्न सक्छ ओखर पनि, जसको छ दाँत दरो,
जिन्दगी नै झल्झलाकार, परिश्रमी आत दरो ।
तर म त कर्कली पो, हरेक पाइला पाइला,
बिश्वास गर्यो जिन्दगीमा, पाउछु घात दरो ।

६.
कस्को माया तेजावी हो, भन्दै कसी खोज्छौ तिमी,
मैले माया गरिन रे, अझै दसी खोज्छौ तिमी ।
यो मुटुमा तिमी बाहेक, अरु कोही नि छदै छैन,
रगतको पत्र च्याती, मसी खोन्छौ तिमी ।

७.
रुख चढ्न सिकाउन्जेल, तिम्रा लागी जाती भएँ,
चौथाईको कारोबारमा, धेरै धेरै पाथी भएँ ।
मौसम सँग परिवर्तन, गुणै रैछ तिम्रो ,
धनको तालमा डुब्यौं तिमी, म त यता घाती भएँ ।

८.
तिम्रो माया कति चर्को पागल बनायो,
यो आ“खाले जो देखे नि तिमी जनायो ।
माया माग्ने भिकारी म दिन्छौ भने भन,
मुटुमाझ राखे तिमीलाई आनो पना यो ।

९.
जता जाउ हरपल आउछौ तिमी मेरो आँखाभरि
फूल सरि मुस्कुराउछौ बस्ती अनि पाखाभरि ।
माया भन्ने कस्तो चीज अन्जानमै फक्रिदियो,
सधै हामी नदी किनार कहिले बस्छौ काखाभरि ।

१०.
चैत मासको गर्मीमा हिँउ तिमीलाई,
मोहि मै चित्त बुझाउला म घिउ तिमीलाई ।
मनले खाका इच्छा लाका रोजे हुन्छ चीज,
थोत्रा थाम्रा मै समालुला न्यू तिमीलाई ।

११.
के भो कसो भो नसोध भो परानीलाई
बिनापानी निभ्यो आगो नसोध भो खरानीलाई,
ब्यथा ब्यथैमा डुब्छु, कथा कथैमा रम्छु,
झरीराछ कति आ“शु नसोध भो सिरानीलाई ।

१२.
डाँडा नियाल्दैथे हिमाल देखे मैले
फेवा सेती डेविडफल कमाल देखे मैले ।
यस्तो सुन्दर ठाँउ त स्र्वगमा नी छैन होला,
सराङकोट, गुप्तेश्वर बबाल देखेँ मैले ।

१३.
अन्धेरीको जंघारमा प्रकाश बन्यौ तिमी,
जिन्दगीको संघारमा प्रकाश बन्यौ तिमी ।
हिरा मोती मणि तिमी पुर्णिमा की जुन,
बिफलताको अंगारमा प्रकाश बन्यौ तिमी ।

१४.
अस्ति राती सपनीमा कुटीभरि डढेलोथ्यो,
हिजो राती सपनीमा बस्ती पहिरो गो ।
आज राती सपनीमा के के हुने हो,
भोली राती सपनीमा यमराजले लो ।

१५.
मलाई पागल बनाएर आफु पागल भएकी छौ,
रित्तो शरीर छाडीकन मन मुटु लएकी छौ ।
आट्छौ भने अझै पनि तयार छु साथ दिन,
स्थीर बन्ने प्रयास गर हावासगै बहेकी छौ ।

१६.
तिम्रो फोनको प्रतिक्षामा मुच्र्छा परें रातदिन,
काम्ला भित्र सातु मुछि खान मान्यौ घिन,
अब भने बाँच्छु जस्तो लाको छैन कति,
तिमी बिना जिउनै गाह्रो हुन्छ एकै छिन ।

१७.
त्यो आँखाले यो मुटुमा रेटेपछि यस्तो भयो,
हामी दुई दोबाटोमा भेटेपछि यस्तो भयो ।
भोक प्यास निन्द्रामा नी तिमीलाई नै देख्छु,
त्यो मुटु र यो मुटुलाई फेटेपछि यस्तो भयो ।

१८.
डडेलो त कैले हुरी सामनामा ती फल,
छटपटिदै पिडा पोख्दै रुन थाल्यो पीपल ।
मनमुटु छिया छिया बोकी ठुलै घाउ,
शान्त पार्ने मलम खोज्दै दौडीराछ बिफल ।

१९.
तिमीसंग भेट भयो खाता खोले जिन्दगीको,
घाम पानी ओत लाग्न छाता खोले जिन्दगीको ।
यो जीवनको प्राण धान्ने अक्सिजन बनेकी छौ,
तिमी मेरो म तिम्रो नाता खोले जिन्दगीको ।

२०.
परचक्री हुँदा हामी ईश आँखामा,
जति जति नजिक भयौ रिस आँखामा ।
शब्द भुईमा खस्नै पाउन्न कम्पन्न शुरु हुन्छ,
मीठा मीठा बचन पनि रिस आँखामा ।

२१.
मेरो माया तिमी भित्र खाँदी दिएँ मैले,
तिमी चैत बन्न खोज्दा आँधी दिएँ मैले ।
शरदकी फूल तिमी बसन्तकी बहार,
मलाई छाडी जाउला भनि बाधी दिएँ मैले ।

२२.
तिम्रा प्रेम पत्रका पल्टाईराछु पानाहरु,
एकान्तमा तिमीले गाउने सुने गानाहरु ।
प्रेमरुपी बुटो गोडी खाँउला भन्थे फल,
आँधी हुरी शीत लागी झरे दानाहरु ।

२३.
लक्ष्य लियो सबै बिफल अडाउने मियो ढल्यो,
दिउसै हुँदा अन्धकार बालीराथे दियो ढल्यो ।
ऐले भने सफलताले चुम्न थाल्यो मलाई,
कुनै केहि पीरै छैन जति सक्यो पीयो ढल्यो ।

२४.
रात रहे अग्राख त पलाउछ भन्यौ सानी,
मनको पीरले आफैलाई गलाउछ भन्यौ सानी ।
यो आँखाले नदेखिने मन भित्र ठुलै घाउ छ,
बाँच्ने आधार दिन सक्छौ ? थलाउछ भन्यौ सानी ।

२५.
हामी संगै हिडिराथ्यौं थाहै नदिई पुल तर्यौ,
मलाई यता तेजाव हानी उता फूल भर्यौ ।
पाकी राछ मन मुटु तिम्रै यादमा जलिराछ,
यो बिफललाई लातमारी भन्दिन म भुल गर्यौ ।

२६.
राख्छु भन्थे हत्केलामा दुध उम्ले झै भाग्यौ,
ग्रेटवालको बार हालेथे उफ्री उफ्री नाग्यौ ।
मैले दिने हाँसो खुशी तिम्रा लागी सुनामी भो,
सत्यनास होस् प्रभु भन्र्दै बरदान माग्यौ ।

२७.
कसै गरि मैले तिम्रो चुलो छुनु हुन्न,
मनका ब्यथा हल्का पार्न भन्दै रुनु हुन्न ।
मलजल गरे पछि बढ्नु पर्ने माया,
घटाउदै भाग लायौ बिर्सिएर गुन्न ।

२८.
दुईचार शब्द बोलुँ भने बन्द भाछ मुख,
अन्धकारको यात्रीमाथी थपिदो छ दःुख ।
जिन्दगी त बल्दो सूर्य रंगिन संसार भन्थै,
तर जीवन निशा भित्र घोप्ट्याएको चुक ।

२९.
चैत मासको घाम छेक्ने बादल बन्न खोजिराछु,
त्यो आँखाको डिलमा बस्ने गाजल बन्न खोजिराछु ।
तिमी मात्रै साथमा भए स्वर्गै पाँए हुन्छ मलाई,
तिम्रै हातले बजाउने मादल बन्न खोजिराछु ।

३०.
कसिएर कसैको अंगालोमा बस्दा तिमी,
राम्री बन्न गाजल अनि क्रिम पाउडर घस्दा तिमी ।
सुन्दरताको बयान गर्न तिम्रा मान्छे नसक्लान है,
आगो सामु घिउ बन्ने छौ माया जालले कस्दा तिमी ।

३१.
पानी माथी नबगेनी कुलो बन्नै पर्ने,
हाम्रा नेता सबै महान ठुलै बन्न पर्ने ।
सडिराको राजनीति छर्किएर ज्यानमा,
मगमगाउदै फुलीराको फूलै बन्नै पर्ने ।

३२.
सगरमाथा चढि हेर्छु हिमाल पहाड तराई,
हामी सबै नेपाली हौ कोहि छैन पराई ।
रोल्पामा का“डा बिझ्दा काठमाण्डौमा पीडा,
उहि हा“सो उहि खुशी दर्द अनि चराई ।

३३.
कतिन्जेल बस्ने होला जन्जिरमा बेरएिर,
मर्न पनि सकिन है पासो लगाई सेरिएर ।
जता हेर्यो अन्धकार आकाशले मिचिराछ,
काली गङ्गा चारैतिर हेर्छ घेरिएर ।

३४.
कृष्णजीलाई मनपर्ने बाँसुरीको धुन तिमी,
मेरा लागी सधैं सधै्र पुणिमाको जुन तिमी ।
जति तर्क, जति बिर्स गुनासो नी छैन कत्ति,
यो गलामा सजिएको छापावाल सुन तिमी ।

३५.
म त सिस्नु बनि रहेँ तिमी मखमली,
आगो बनि पोली रहेँ आयौ झलझली ।
एकोहोरो तिम्रो पछि धेरै धेरै घिर्से,
हाँस्दै हाँस्दै लाग्यौ तिमी मुटु छलछली ।

३६.
तिमीलाई मैले अन्जानमै मुटु भित्र सजाएछु,
चुरा पोते सुम्पिएर पन्चे बाजा बजाएछु ।
ब्युँझिदा त झसड्ड म डोली चढि गईछौ तिमी,
आफैलाई धिक्कार्दै कयौ दिन लजाएछु ।

३७.
गोरखकाली मन्दिरको माला लगाईदयाथेँ,
त्यो मनमा प्रेमरुपी भुत जगाईदयाथेँ ।
सबै परे दमनमा ऐले फल चाख्दै छु म,
मैले भने माया रुपी खोलै बगाईदयाथेँ ।

३८.
घरमा बिहे प्रस्ताब आछ भनि पुछिनौनी,
कसैलाई म माया गर्छु भन्दै मुछिनौनी ।
कि त रोक्नु पथ्र्यो घरमा कि त मलाई खवर,
आफैमाथी खेलवाड हुँदा किन लुछिनौनी ।

३९.
यो जुनीलाई यस्तै भयो पाए देखि अर्को जुनि,
तिम्रै माया संगाल्छु म लाखै पटक गुनि ।
म भन्ने छु तिमी मेरी, अंगालोमा बेर्नेछु,
मलाई देखि तर्किएमा थुन्छु जाल बुनि ।

४०.
पहिलो भेट हुँदाखेरी लकारेर हिड्यौ तिमी,
दोस्रो भेट हुँदाखेरी हकारेर हिड्यौ तिमी ।
तिमी सामु पर्नु भन्दा सिस्नु भित्र लुक्नु राम्रो,
तेस्रो पटक भेट्दाखेरी खकारेर हिड्यौ तिमी ।

४१.
छ महिनालाई हामीबीच छोटो माया बस्नु रैछ,
हात्ती बनी निस्कनलाई मुसो बनी पस्नु रैछ ।
हामी हुँदा तितर बितर माया बस्ने एउटै घर,
धोका मात्रै दियौ मलाई सागर बीच खस्नु रैछ ।

४२.
तिम्रो कुरा सुनेपछि भुमरी झै ढल्मलाँए,
सबले मर्यो भनि छाडे तर म त चल्मलाँए ।
यो पापीलाई बगाउने मस्र्याङदी नि सुक्दै गयो,
तिमी सामु बा“च्नु भन्दा साउनको भेलमा लाँए ।

४३.
फाईदा र घाटाको राजनीति छोडे हुन्थ्यो,
सात र चार बुदे सहमती तोडे हुन्थ्यो ।
गृह युद्ध धेरै भो बाहिरकाले बल पाए,
सिस्नु पाती दैलोमा एकपल्ट गोडे हुन्थ्यो ।

४४.
घाम ढलेसी घामको मोह बल्ल बुझ्छन् मान्छे,
कान छाम्दैनन् कागको पछि पछि कुद्छन मान्छे ।
पहाड अरे आफ्नो दु:ख मैदान अरिकाको,
मुसल बनी निस्कनलाई सियोसरी घुस्छन् मान्छे ।

४५.
यो दिलमा तिमिले रेटेर गयौ,
पराईलाई कतै भेटेर गयौ ।
अजम्बरी मायाको बिउ हाम्रो,
आँकुरा मार्यौ अनी मेटेर गयौ ।

४६.
आँटे हुन्छ साथीहरु, फक्रिएको फुल टिप्न,
ढाले हुन्छ पर्खालहरु भत्किएको घर लिप्न ।
अन्याय नि हुदैन है, झुटा कुरा ढाँट्दाखेरी,
बाटे हुन्छ सत्य डोरी, किन पर्यो छिप्न ।

रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.