~पुष्पा खनाल~
किन यति सताउँछौ
किन चाँडै रिसाउँछौ
म त तिम्रै हुँ नि आखिर
किन डाँडा कटाउँछौ
माया गर्छु भन्थ्यौ धेरै
मन पराउँछु भन्थ्यौ धेरै
मैले हुन्न भन्दा पनि
तिमी त हौ भन्थ्यौ मेरै
एकै वचन बोल्यो कि त
चढिदिन्छ रिसको पारो
पहिले थिएँ नयनरानी
अब किन नयन तारो
आँखैभित्र राखेपनि
नबिझाउने फूल भन्थ्यौ
एकै पल नहराई
आँखाभित्रै डुल भन्थ्यौ
आज किन देख्यो कि त
मुख मोडी फर्किदिन्छौ
तिम्रो सामू पर्न खोज्दा
बाटो छोडी तर्किदिन्छौ
हिजोसम्म तिम्रो दिल
कोमलताको खानी थियो
जस्तै दुःख दिएपनि
माया गर्ने बानी थियो
माया गर्ने मान्छे पनि
यति निष्ठुर हुन्छ कि त
माया फल्ने दिल पनि
यति कठोर बन्छ कि त
पुष्पा खनाल
म्हेपी, काठमाडौं
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)