कविता : हुरीका पत्कर

~भैरव अर्याल~Bhairab Aryal

आफैं आफैंदेखि हराएको
आफैं आफैंदेखि डराएको
आफैं आफैंबाट हराएको
यो सुकेनासले सताएको मान्छे,
आजको मान्छे
मान्छे भन्ने मान्छे-
सुत्छ प्रत्येक रात
मृत्‍युको वारण्ट पुर्जी सिरानमुनि घुसारेर,
उठ्छ प्रत्येक प्रात फरिया र थाङ्नाको फेटा बाँधेर ।

हो दिन दिन भर म-
आफ्न क्षिणहरु बेच्तै हिंड्छु,
आफ्न दिनहरु बेच्तै हिंड्छु
मानौं बेसाउनु छ मैले एक रात स्वास्नीसँग ।
किन्नु छ केही रात जिन्दगीसँग, जगत् सँग,
शताब्दीको शर्त नै यस्तै यस्तै छ आज
एक अहोरात्रको पनि बहाल तिर्नुपर्छ मैले सृस्‍टिलाई
त्यसैले त यहाँ आफैंलाई किन्न
बेच्नुपर्दछ मैले आफैंलाई, आफैंलाई ।।

प्यारालेसिसले थालिएको सिकिस्त सुर्यलाई
थोत्रोथोत्रो एम्बुलेन्समा सधैंं सधैंं
ओसार्ने गर्छ मेरो दिन
यि फुङ्ग परेका आँखाका दोबाटोमा उभिएर
म पक्क पर्छु, अकमक्क पर्छु ।
बिना कोसेली
रित्तै हात आउँछ मेरो दिन
बिना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन ।

-भैरव भन्छन्, दाताराम, वासुदेव र विद्यादेव सुन्छन्।-

(स्रोत : होम सुबेदी द्वारा सम्पादित पुस्तक “भैरव भन्छन्” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.