~रुपकेशरी उलक~
गोरे !
मैले सुनेको
तिमी अमेरिकातिर
उड्दैछौ अरे
अमेरिका त ठूलो महादेश
मैले नक्सामा देखेको
त्यहाँ पुगेर नि गोरे !
त्यहाँका साँच्चिकैका गोरेहरूलाई
दुई चार प्रश्न सोध्न
नभुलेस् है गोरे।
तिनीहरूको मन केले बन्दो रैछ
छाम्न नभुलेस् है गोरे।
इराक र अफगानिस्तानमा
दन्केको आगो
याद छ नि तिमीलाई !
आज लिविया
त्यसैगरी बलिरहेछ
मानवताको ढ्वाङ फुक्दै
जिउँदो मान्छे
पोल्नसक्ने आँट
तिनीहरू कहाँबाट
ल्याउँदा रै छन्
खोज्न नभुलेस् है गोरे।
थाहा छ,
तिमी उता कमाउने
ध्याउन्नामा होऔला
सक्छ भने
लुटेरै आएस् गोरे
तर त्योभन्दा बेसी
तिमी आफै लुटिन्छौ
र त डर छ।
केही गरी नि नसके
वासिंटनसम्म पुगेर
थुकेरै भए नि
आएस् है गोरे।
आजभोलि म
लिविया र नेपाल
उस्तै देख्छु,
लिवियामा दन्किरहेको
आगोले आफैलाई पोलेझैं लाग्छ,
पाँच कैदी क्युवालीहरू८
यतै कतै चिच्याइरहेको देख्छु।
मैले सुनेको,
तिमी त उतै पुग्दैछस् अरे
सके लुटेरै आएस् है गोरे
नसके थुकेरै
भए नि आएस् गोरे
मैले सुनेको
तिमी त अमेरिका पुग्दैछौ अरे
अमेरिका त ठूलो महादेश
मैले नक्सामा देखेको
त्यहाँ पुगेर दुई चार प्रश्न
सोध्न नभुलेस् है गोरे।
(स्रोत : मजदुर दैनिक)