~तेजेश्वर बाबु ग्वंगः~
लोक हित निमित्त आत्मदाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु। रोपार्इं धान खेती सकिएपछि काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण / गठेमङ्गल पर्व रहेको छ। राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असङ्ख्य नेवार समुदायका परिवारहरू विभिन्न जिल्लाहरूमा निर्वासित भए। मल्ल शासनपछिका नेवारहरूको बसाइ सराइ शाह वंशको चहकमहकसित गाँसिन्छ। झाङिन्छ पनि। बसाइ सराइ निस्तो हुन्न। मान्छेका बसाइ सराइ भन्नु संस्कार र संस्कृतिकै पनि ठाउा सराइ भन्छु म। जहाँ जहाँ नेवार बसाइ सराइ हुन पुग्यो त्यहाँ त्यहाँ संस्कृतिकै स्थानान्तर हुन पुगेको छ। नेवार बस्तीबीच अझै घण्टाकर्ण चाड मनाइन्छ। धनकुटा, पोखरा, पाल्पा, डोटी केही जिल्ला यस कोटीमा पर्छन्।
गथेमङ्गल नेवारी शब्द। नेवारहरू मूर्धन्य ‘ठ’ को ठाउँमा दन्ते ‘थ’ प्रयोग गर्छन्। नेवारीमा गथेमङ्गल भनिन्छ। पुस्तान्तरसितै भाषान्तर पनि हुन्छ। गथेमङ्गल गथेमुगः बन्न पुग्यो। कालान्तरमा गथेमङ्गः गथेमुगः बन्न पुग्यो। उही गथेमङ्गलको अर्थ बिन्यास हुन्छ – गथे . कसरी, कुन तरिकाले? मङ्गल . असल, कल्याण, उद्धार। कसरी कल्याण हुन्छ? एक सवाल। एक प्रश्न। धानका कलिला बोटविरुवा कीराबाट बचाउने के गरी? गथेलाई नेपाली भाषाभाषी जिब्रोले गठे उच्चारण गर्न पुगे। गथेमुगः गठेमङ्गल बने। कलिला धानका बिरुवा कीराबाट जोगाउने काम मङ्गल र कल्याण कार्य हो। कसरी मङ्गल गर्ने? उत्तर बन्छ – आत्म उत्सर्ग गरेर। आत्म उत्सर्ग भन्नु आफूलाई समर्पण गर्नु। आफूलाई समर्पण गर्नुको पर्याय बन्छ – आत्मदाह। भक्तपुर र भक्तपुर मूलका नेवार बसाइ सराइ स्थानमा गथेमुगः दहन हुन्छ खेतका बीचमा।
मध्यकालीन नेपालमा खेती प्रथा चकला बन्दी प्रावधानअनुरुप हुन्थ्यो। प्रत्येक टोलका किसानहरू छ्वालीका भीमकाय गथेमुगः बनाएर आआफ्ना चक्लाबन्द खेतका माझमा जलाउँछन्। यो प्रथा अझै पनि अमर छ। शासन ढल्छ। संस्कृति जिउँछ मानिससित। मानिससितै बाँचेको संस्कृतिले ढलिसकेको शासनलाई जीवन्त पार्छ। घण्टाकर्णसितै सिकिरहेछु म अचेलभरि यो पाठ। भन्न मन पराएँ, त्यसैले जय घण्टाकर्ण। गथेमङ्गलः घण्टाकर्ण कसरी बन्न पुग्यो? एउटा खुल्दुली, एक जिज्ञासा ! भीमकाय गथेमुगःको मुखाकृति ठूलो नाङ्लोमा चित्रण गरिएको हुन्छ। कपाल / टाउको ठूलै हाँडीको जडिएको हुन्छ। नाङ्ले अनुहारमा ससाना ‘फय्गं’ हावाले हल्लाउने ह्वासे घण्ट दुबैतिर कानमा झुण्ड्याइन्छ। घण्ट . घण्टा। घण्ट संस्कृतमा। घण्टी नेपालीमा। कर्ण . कान संस्कृतमा। घण्ट 177 कर्ण सन्धि भएपछि बन्छ घण्टाकर्ण। नेवारीमा गथेमुग अजा . बाजे, हजूरबा पनि। गथेमुगः अजाजू। अर्थात् घण्टाकर्ण बाजे ! घण्टाकर्ण हजूरबा !
गथेमुगः नर्कटका झाङ्, छ्वालीका मुसल्ले मुठ्ठाहरू गाँसीवरी बनाइन्छ। हाँडी टाउके, नाङ्ले मुखाकृति। घाँटीभरि साना नानीहरूका नेवारी पुतली माला लगाइएका घण्टाकर्ण – हजूरबा। कन्धामा मकैका घोगा थिङ्गाइएर भोगटेका दुई गेडा लत्काइएका हात्ती खुट्टे तीनवटा यामनका छ्वाली खुट्टे घण्टाकर्ण अजा रौनक र रोमाञ्जक हुन्छ। उसमाथि थुप्रै अश्लील यौन उत्तेजक नारा र धिमेबाजा, भुछ्या, सिछ्या, झ्याली र ताल बाजा बजाउँदै टोलका टोलेहरू जुलुसका जुलुस लाग्छन्। महिलाहरू झ्यालमा लुकिलुकी रौनक चियाइरहन्छन्। कुनै आगामी साँझ ती युवतीहरू, महिलाहरू नि घण्टाकर्ण अजाजुको सत्गति अर्थात् दहन संस्कारमा सक्रिय सहभाग लेलान् ! अब पुरूष – नारी समान अधिकारी नागरिक बनिसकेको लोकतन्त्र नाङ्गो पिङ्झैं मच्चिरहेको याम छ। जय घण्टाकर्ण मुखारण हुनै पर्दाेरहेछ !
गथेमुगःको बुँख्याचा टोलका युवाहरूले नोल कसेर काँधमा बोक्छन्। यौन उत्तेजक नाराबाजी गर्दै, जुलुस गर्दै निर्धारित खेत–फाँटबीच बिसाइन्छ। बेला झिसमिसे साँझ। जुनबेला कीराहरू बालिनाली खान उडेर आउँछन्। त्यसैबेला घण्टाकर्ण दहन गरिन्छ। कीराहरू उज्यालो आगोमा, झुमिन्छन्। झुम्मिनु के थियो? सारा कीराहरू भस्मिभूत हुन्छन्। घण्टाकर्ण धानबाली बचाउन आफू जल्छ, बल्छ। आफू जलेर दुनियाँको मुख्य बाली धान खेती जोगाइदिन्छ। आफू जलेर किसानको धानबाली जोगाउँछ हाम्रा पुर्ख्यौली गथेमङ्गल – घण्टाकर्ण अजा ! के हामीले र हाम्रा देश बनाउँछौं भन्ने सेदेहिक घण्टाकर्णहरूले गथेमुगः अजाबाट यति सन्देश ग्रहण गर्न सक्दो होलान्? के परम्परागत संस्कृतिका तात्पर्यहरू वर्तमान जीवन सापेक्ष पार्न सकिंदोरैछ? यसतिर विद्वत – विदुषी नृतत्व र समाजशास्त्रीहरूका चित्तवृत्ति चोखिन सकिएला? घण्टाकर्ण पर्व यस्तै खुल्दुली र जिज्ञाशा कुम्ल्याउँदै आइपुग्छ प्रतिवर्ष। सकारात्मक स्वागत – अभिनन्दन गर्छु म – जय घण्टाकर्ण अजा मन्त्रसाथ ! चाडपर्वभित्रका मर्म महान हुँदोरहेछ। डुबुल्किंदा भेटिंदारहेछ त्यसका आदर्श र इंथस ९भ्त्ज्इक्० घण्टाकर्ण चाडसित रमिरहेछु म – वाह !
घण्टाकर्ण बनाउने प्रक्रिया बटुल्नुस् यहाा ! अनुनय मेरो। साना बालक र केटाहरू बिहानै टोलटोलमा बाटाघाटामा जगात उठाउँछन् – कोष खडा गर्छन्। दिउँसो घरघर पुगेर छ्वालीका कल्ली बटुल्छन्। रकम जम्मा गर्छन्। केटौलीपनदेखि नै सांस्कृतिक संस्कारको बीउ जीवनमा रोप्ने चहलपहल हुनथाल्छ। गोधुलीपख युवा र मध्यवयस्कहरू गथेमुगः बनाउन थाल्छन्। ऊ दुई तीनजना नाङलो पोत्दैछन्। कोही मुखाकृति चित्रण गर्दैछन्। ल हेर्नुुस्, कोही केटाहरू हरिया नर्कट भारी घिसार्दैछन्। हरिया नर्कटका थुप्रै मुठा बाँधेर हात, खुट्टा, घाँटी जडान गर्छन्। अनि छ्वालीका मुठा र कली बेर्दैछन्। एकैछिनमै गथेमुगः बन्छ यसरी। जिम्मेवारीसाथ कार्य विभाजन आफै गर्छन् उनीहरू। उनीहरूको एउटै चासो समयमै घण्टाकर्ण आकृति बनाउनु। यी टोलिया केटाहरू नयाँ नेपाल बनाउन नयाँ संविधान कोर्न लागेका छैनन्। मात्र परम्परागत संस्कृति जोगाउने तर्खरमा छन् उनीहरू। के संविधानसभालाई संस्कृति र परम्पराबीचको सम्बन्ध जोड्न घण्टाकर्णले गरूडपुराण हाल्न सक्दोहोला? आश्चर्य चकित छु !
लौ हेर्नुस् ! बाजागाजासाथ यौन उत्तेजक नारा भट्याउँदै आइरहेछन् घण्टाकर्णे जुलुस। एका साँझै भट्याउँदै छन्, सुन्नुस् ! भरे रात के गरौं भन्छन् ‘कति उडाङ्गिएका नकच्रो नाराहरू’ कस्तो लाजमर्दाे भएर नि सुनौं सुनौं लाग्दो उत्तेजक कामवासनाका दुन्दुभि स्वर मचाइहरू। मानो घण्टाकर्ण आजु यौनराश लीलाका जुवा फुकाइका नाय्खिं बाजाका झ्यालीपिटाइ हो ! हो, पक्कै पनि हो , अब त भक्तपुर नेपालकै पनि मुख्य बाली धान रोपाइँ सकिसकेको छ। धानखेती नै तात्कालीन भक्तपुरको आर्थिक जीवनको मूल पाटो थियो। घण्टाकर्ण चाडपर्व कृषि अर्थतन्त्रमा आधारित पेशागत संस्कारबाट जन्मेको संस्कृति ! मलाई माया लाग्छ कति कति भन्नै सक्दिनँ म। जे भन्न सक्छु यति। जय घण्टाकर्ण अजा !!!
(स्रोत : मजदुर दैनिक)